१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ श्रावण २६ सोमबार १५:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेलौरी दम्पती हत्या प्रकरण : छिमेकीले हत्या गराउन चार लाख खर्च गरेको खुलासा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ श्रावण २६ सोमबार १५:५६:००

अघिल्लो साता कञ्चनपुरको बेलौरी नगरपालिका– ७ भगतपुरका एक वृद्ध दम्पतीको हत्या प्रकरण आराेपमा पक्राउ परेका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार खातीदम्पती हत्या प्रकरणको आरोपमा छिमेकी ५३ वर्षीय प्रकाश ऐर, साेही ठाउँका ३५ वर्षीय दिनेश राना, ३६ वर्षीय होरी राना र भर्रा भनिने कृष्णपुर नगरपालिका– २ वाणीका रवि रानालाई सार्वजनिक गरेको हो । 

घटना चारैजनाले गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले बताए । 

अघिल्लो शनिबार राति भर्रा भनिने रवि रानासहितले घरमै गएर खातीदम्पतीको हत्या गरेको प्रहरीको भनाइ छ । 

धारिलो हतियार प्रयोग गरेर ६८ वर्षीया बेलीदेवी खाती र उनका श्रीमान् ७० वर्षीय घनश्याम खातीको हत्या भएको थियो । 

बेलीदेवीको सोही दिन र घनश्यामको कोहलपुर मेडिकल कलेजको उपचारका क्रममा एक सातापछि मृत्यु भएको थियो । 

सुरुमा प्रहरीले मदिराका पारखी खातीकै ३८ वर्षीय छोरा राजेश खाती र अभियुक्त दिनेशलाई पक्राउ गरेको थियो । 

प्रहरी प्रवक्ता थापाले अनुसन्धानकै क्रममा खातीदम्पतीका छोरासहित उनकै साथी दिनेशलाई पक्राउ गरिएको बताए । 

‘छोराको घटनामा संलग्नता देखिएन, हामीले उनलाई छाडिदियौँ,’ थापाले भने, ‘दिनेश राना र पछि छोराले छिमेकी प्रकाश ऐरीको नाममा जाहेरी दिएपछि थप अनुसन्धान अघि बढायौँ ।’

वृद्ध खातीदम्पती मार्न प्रकाश ऐर मुख्य योजनाकार रहेकोसमेत प्रहरीले दाबी गरेकाे छ । 

‘केही वर्षअघिदेखि छिमेकी प्रकाश र मृतक खातीदम्पतीबीच विवाद रहेछ,’ प्रवक्ता थापाले भने, ‘त्यही विवादको बदला लिन खातीदम्पती हत्या गर्न प्रकाशले चार लाख रुपैयाँ दिएको खुलेको छ ।’ 

प्रहरीले रविकै घरबाट डेढ लाख नगद, चार थान मोबाइल, दुई मोटरसाइकलसमेत बरामद गरेको छ । 

रविले प्रयोग गर्ने म ३ प १६१६ र दिनेशले प्रयोग गर्ने म २ प ४८५६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेकाे हाे । 

खातीदम्पतीका एक मात्र छोरा राजेश खाती मदिराका पारखी थिए । 

उनी मदिराका पारखी भएकाले ऐरी समूहले उनलाई दिनभर आफ्नै साथमा घुमाए, मदिरा सेवन गराए । 

उता राजेशको घरमा आमाबाबुको हत्या गरेपछि मात्रै दिनेशले आफ्नै मोटरसाइकलमा घर पुऱ्याए । 

घर पुगेका राजेशले आफ्ना बाबुआमा आँगनमै तेर्सिएको देखेर दिनेश रानालाई टेलिफोन गरेर बोलाएका थिए । 

घटनाकै भोलिपल्ट प्रहरीले दिनेश रानालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । 

चारैजनाले हत्याको योजना बनाउनेदेखि हत्यामा संलग्न भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । 

जिल्ला अदालतबाट ज्यान कसुरमा म्याद थप गरी चारैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।