१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २६ सोमबार १४:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टीमा आन्तरिक लोकतन्त्र बन्द गरिएको नेकपा प्रवक्ता श्रेष्ठको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २६ सोमबार १४:१९:००

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्तरिक लोकतन्त्रको अभ्यास बन्द गरिएका कारण पार्टी गतिशील हुन नसकेको र अन्तर्संघर्षले निष्कर्ष निकाल्न नसकेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत विचार प्रस्तुत गर्दै श्रेष्ठले त्यस्तो बताएका हुन् । ‘कम्युनिस्ट पार्टीको उद्देश्य समाजमा आजसम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु, गराउनु हो । त्यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो सर्त हो,’ श्रेष्ठले भनेका छन्, ‘नेकपाभित्र अन्तरपार्टीजनवाद, छलफल, बहस र अन्तर्संघर्षलाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ । अन्तर्संघर्षलाई स्वस्थ र रूपान्तरणमुखी ढंगले सञ्चालन गर्नाले विचारको परिमार्जन एवं विकास, संगठनको व्यवस्थापन, परिचालन एवं ‬सुदृढीकरण र सामाजिक रूपान्तरणको क्रान्तिकारी उद्देश्यमा योगदान पुऱ्याउँछ ।’

उनले अन्तर्संघर्षलाई सार्थक निष्कर्षमा पुऱ्याउन वैचारिक, सैद्धान्तिक, राजनीतिक, प्रवृत्तिगत र मुद्दागत रूपमा सीधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्नेमा जोड दिएका छन् । 

पार्टीभित्र र बाहिर फरक–फरक कुरा गर्ने प्रवृत्तिगत समस्या रहेको भन्दै श्रेष्ठले त्यस्तो प्रवृत्तिले झन् समस्या पैदा गरेको भन्दै खुला र स्पष्ट छलफलबाट निष्कर्षमा पुग्नुपर्नेमा पनि जोड दिएका छन् ।

‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सीधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाउँमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो । त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटिल बनाउँछ,’ श्रेष्ठले भनेका छन्, ‘त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सीधा, खुला र स्पष्ट रूपमा छलफल गरौँ र सकारात्मक निकास निकालौँ । पार्टी एकताको रक्षा गरौँ, समाजवादउन्मुख सामाजिक-आर्थिक रूपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौँ ।’‬