Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नुमेष घर्तीमगर
२०७७ श्रावण २५ आइतबार ०४:०४:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सहज थिएन, तर कोरोनासँगको जित निश्चित थियो

आइसोलेसनमा बस्दा हामीलाई कुनै प्रकारको औषधि पनि दिइएन, डाक्टरहरूसँग सुरक्षा किट नभएर हो अथवा डरले हो, उनीहरू कहिल्यै पनि हाम्रो नजिक परेनन् 

Read Time : > 4 मिनेट
नुमेष घर्तीमगर
२०७७ श्रावण २५ आइतबार ०४:०४:००

(कोभिड महामारी फैलिँदै छ, संक्रमितहरू सन्चो भएर घर पनि फर्किरहेका छन् । संक्रमणपछि उनीहरूको संघर्ष सबैका लागि प्रेरणादायी हुन सक्छ । त्यसैले यो स्तम्भ सुरु गरिएको छ ।)

म भारतको दिल्लीमा एउटा होटेलमा काम गर्थें । त्यहाँ पहिलोपटक गरिएको लकडाउन १४ अप्रिलमा खुल्ने भनिएको थियो । १४ अप्रिलमा लकडाउन खुल्छ भनेर हामी भारतमै बसेका थियौँ, तर लकडाउन लम्बिँदै गयो । संक्रमणको डर पनि बढ्दै गएपछि घरपरिवारसँग अब भेट्नै नपाइने हो कि जस्तो लाग्न थाल्यो । भारतमा रहेका नेपाली हिँड्दै सीमासम्म पुगिरहेका थिए । त्यति नै वेला प्रधानमन्त्रीले भारतमा रहेका नेपालीलाई ल्याएपछि संक्रमण फैलिन्छ भनिदिनुभयो । त्यसपछि हामीलाई अब आफ्नै देश पनि छिर्न सजिलो छैन भनेर चिसो पस्यो । लामो समयको हारगुहार, नाराबाजीपछि बल्ल सरकारले भारतमा रहेका नेपालीलाई देशभित्र आउन दिने भन्यो । त्यसपछि मैले मेरो घर रहेको बंगलाचुली गाउँपालिकामा सम्पर्क गरेँ । गाउँपालिकाकाले आउनुहोस् नाकामा बस पठाउँछौँ भन्यो ।

८ जेठमा मलगायत धेरै व्यक्ति दिल्लीबाट बस चढ्यौँ । ९ जेठको दिउँसो हामी कपिलवस्तुको कृष्णनगर नाकामा आइपुगेका थियौँ । मुख्य नाकाबाट छिर्न नपाएपछि हामी जंगे पिलरको किनारैकिनार पाँच किलोमिटर हिँडेर चोरबाटोबाट नेपाल छि¥यौँ । यसरी चोरबाटोबाट नेपाल छिर्ने हामी १५ सयजना जति थियौँ होला । हामीले मास्क, पन्जा लगाएका थियौँ । स्यानिटाइजर पनि प्रयोग गरिरहेकै थियौँ । तर, त्यो भीडमा व्यक्ति–व्यक्तिबीच दूरी कायम गर्नु आफैँमा चुनौतीपूर्ण थियो । जेठको गर्मीमा थाकेर मान्छेहरू रूखको छहारीमा बसेका थिए । कतिपय साथी त भोकै थिए, उनीहरू सगोलमा बसेर चिउरा, चाउचाउ खाँदै थिए ।

त्यही दिनको साँझ ७ बजे हामीलाई लिन भनेर गाउँपालिकाले पठाएको बसमा चढ्यौँ । गाउँपालिकाले हामीलाई लिन भनेर तीनवटा बस पठाएको रहेछ । तीनवटा बसमा पनि मान्छे नअँटेपछि कोही साथीहरू छतमा चढ्नुभयो । कोही गाडीभित्रै उभिनुभयो । दुःख–सुख गर्दै गाउँ पुग्यौँ र १० गते बिहान हामी गाउँपालिकाको वडा नं. २ मा रहेको कालिका प्राविमा बनाइएको क्वारेन्टाइनमा पुग्यौँ । क्वारेन्टाइनमा हामी ३५ जना थियौँ । हामी सबैले प्रयोग गर्ने शौचालय र धारा भने एउटै थियो । तर, हामीले व्यक्तिगत तवरबाट गर्न सक्ने सबै सुरक्षा अपनायौँ । त्यसवेलाको सामाजिक मनोविज्ञान कस्तो विषाक्त खाले विकास हुन पुग्यो भने स्कुलको क्वारेन्टाइनमा हामी बसेका छौँ भनेपछि गाउँले त्यो बाटो हिँड्नसमेत छाडे । परिवारका सदस्यले पनि ल्याएको खाना टाढै राखेर फर्कन्थे । 

त्यसको एउटा मूल कारण के पनि हो भने गाउँ–गाउँमा यो भाइरस र यसको संक्रमणबारे अधिकांश मानिस अनभिज्ञ छन् । क्वारेन्टाइनमा १४ दिन बसिसक्दा पनि हाम्रो पिसिआर जाँच हुन सकेन । त्यसपछि हामीले हाम्रो पिसिआर जाँच गराउनुहोस् भनेपछि १५औँ दिनमा पिसिआर जाँचका लागि स्वाब संकलन गरियो । हामीसँगै भारतबाट आएर अर्को क्वारेन्टाइनमा बसेका तीनजनामा कोरोना पोजेटिभ देखिएपछि हामी बसेको क्वारेन्टाइनमा पनि माहोल त्रसित बन्यो । तर, कसैलाई पनि ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको थिएन । एकातिर लक्षण नदेखिएको अर्कोतिर पिसिआरको नतिजा समयमा नआएको हुँदा दुईजना साथी क्वारेन्टाइनबाट भाग्नुभयो । पछि पिसिआरको नतिजा आउन ढिला हुने भएपछि गाउँपालिकाले केही साथीलाई क्वारेन्टाइनबाट घर पठायो । १८औँ दिन अर्थात् २८ जेठमा एकजना साथीलाई ज्वरो आयो । उहाँलाई तुरुन्तै सदरमुकाम घोराही पठाइयो । परीक्षणबाट उहाँमा कोरोना संक्रमण रहेको पुष्टि भयो । 

सँगै क्वारेन्टाइनमा बसेको मान्छेलाई कोरोना पुष्टि भइसक्यो । हाम्रो स्वाब पनि संकलन भइसक्यो, तर नतिजा भने स्वाब संकलन भएको १६ दिनपछि १० असारमा मात्र आयो । नतिजाअनुसार क्वारेन्टाइनमा बसेका हामी ३५ जनामध्ये ३३ जनामा कोरोना संक्रमण रहेको पुष्टि भयो । ३३ जनामा कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनबाट घर पठाइएका र भागेर गएका साथीहरूलाई पनि फेरि क्वारेन्टाइनमा ल्याइयो । संक्रमण पुष्टि भएकै दिन हामीलाई हामी बसिरहेको क्वारेन्टाइनबाट गाडीमा राखेर सदरमुकाममा रहेको पद्मोदय क्याम्पसमा बनाइएको आइसोलेसनमा राखियो । संक्रमण देखिएपछि हामी क्वारेन्टाइनमा बसेकाहरू निराशाको भुमरीमा जकडिएका थियौँ । तर पनि मनको कतैबाट सधैँ एउटा आवाज आउँथ्यो– हार खानु हुँदैन । अधिकांश साथी अब मरिने भइयो भनेर सधैँजसो रुनुहुन्थ्यो । ती आँसुका थोपामा क्वारेन्टाइन र आइसोलेसनको अव्यवस्था लुकेको छ । यतिवेला ठूलो मनोवैज्ञानिक युद्धबाट गुज्रिनुपर्ने हुँदोरहेछ । किनभने, त्यति नै वेला परिवारका सदस्यले पनि रुँदै फोन गरिरहेका हुन्थे । 

यता सदरमुकामको आइसोलेसनमा हामी ७५ जना संक्रमित बसेका थियौँ । ७५ जनामा ५५ वर्षका वृद्धदेखि तीन वर्षका बालकसम्म थिए । त्यहाँ पनि शौचालय, पानीको धारा सामूहिक थियो । एउटा कोठामा हामी तीनजनासम्म संक्रमित बसेका थियौँ । त्यहाँ बसेका हामी कसैलाई पनि ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेजस्ता केही लक्षण देखिएन । तथापि, हामी निकै डराएका थियौँ । एउटै क्वारेन्टाइनमा ३३ जनामा संक्रमण देखिएपछि गाउँ नै त्रसित हुन पुगेको थियो । हाम्रै कारणले गाउँभर कोरोना फैलियो भनेर लाञ्छित हुनुपर्ने हो कि भनेर हामी डराएका थियौँ । एकातिर गाउँमा संक्रमण फैलिन्छ कि भन्ने डर, अर्कोतिर आफूलाई के हुने हो भन्ने डर । त्यतिवेला हामीले कुनै पनि मनोवैज्ञानिक परामर्श सेवा पाएनौँ । जबकि, यस्तो अवस्थामा मनोपरामर्शको ठूलो भूमिका हुने रहेछ भन्ने अहिले महसुस हुन्छ । 

खासमा भन्ने हो भने त हामीलाई डाक्टरहरूले एक दिन पनि हेरेनन् । हामी सबैलाई एउटा थर्मोमिटर दिइएको थियो । हरेक दिन बिहान र बेलुका आफ्नो तापक्रम नापेर डाक्टरलाई सुनाउनुपथ्र्यो । आइसोलेसनमा बस्दा हामीलाई कुनै प्रकारको औषधि पनि दिइएन । डाक्टरहरूसँग सुरक्षा किट नभएर हो अथवा डरले हो, उनीहरू कहिल्यै पनि हाम्रो नजिक परेनन् । अन्य रोगको औषधि खाँदै गरेकाहरूको औषधि पनि समयमा नल्याइदिएको सम्झना ताजै छ । संक्रमण पुष्टि भएको १४ दिन आइसोलेसनमा बसिसकेपछि हामीलाई कुनै लक्षण नदेखिएको भन्दै अन्ततः पिसिआर नगरीकनै घर पठाउने भनियो । हामीले पिसिआर नगरी घर जाँदैनौँ भनेर अड्डी लियौँ, तर यस कुराको कसैले सुनवाइ गरेनन् । पछिसम्म पनि संक्रमण नभएको पुष्टि नगरेसम्म हामी घर नजाने भनेर अड्डी लिइरह्यौँ । तर, त्यहाँका डाक्टर, नर्सले पिसिआर गर्न सकिँदैन, लक्षण नदेखिएकाले घर जान आग्रह गरिरहे । त्यसपछि हामीले हामी बसेको क्याम्पसको छतबाट सामाजिक सञ्जालमार्फत लाइभ गर्दै पिसिआर जाँचको माग ग¥यौँ । 

त्यसपछि प्रहरी, डाक्टर र स्थायनीय जनप्रतिनिधिको रोहबरमा पिसिआर जाँच गर्ने भनियो । तर, पिसिआर जाँचका लागि हामी थप १४ दिन आइसोलेसनमा बस्नुपर्ने अनौठो नियम बनाइयो । अगाडि नै हामी क्वारेन्टाइन र आइसोलेसन गरेर करिब ५० दिन बसिसकेका थियौँ । फेरि १४ दिन बस्न कोही मानेनन् । त्यो सबै प्रक्रिया, स्थानीय प्रतिनिधि र प्रहरीको रबैया तथा हामीलाई दैनिक गरिने व्यवहारबाट हामीलाई हेला तथा अपमानित गरेको महसुस हुन्थ्यो । बल्लबल्ल अनेकौँ दुःखका साथ आफ्नो देश आइपुगेको छ, त्यसपछि पनि पटक–पटक अपमानित हुनुपरेको छ । तर पनि यो प्रक्रिया पार नगर्नुको विकल्प थिएन । अन्ततः म घर फर्कें । घरको आँगनमा पाइला टेक्दानटेक्दै मेरो र श्रीमतीको आँखामा आँसु थियो । मेरा दुई छोरीहरू हामीलाई हेरेर अवाक थिए र खुसी पनि । परिवारको माया र जिम्मेवारीबोधले आइसोलेसनबाट फर्केको सात दिनसम्म म घरमै एकान्तवास बसेँ । त्यसको १४ दिनपछि मात्र म घरबाट बाहिर निस्केँ । 

अहिले म कोरोनालाई जितेर समाजमा आइपुगेको छु । आफ्नो घरमा आइपुगेको छु । यसबीचमा मैले सिकेको एउटा ठूलो शिक्षा के हो भने मान्छेले हरेस खानुहुँदैन । यो भाइरसले विश्वभर जति मान्छेको ज्यान लिइरहेको छ, त्यसमा उमेरसमूहले ठूलो अर्थ राख्ने रहेछ । तपाईं आफ्नो मनोबल उच्च राख्नुहुन्छ र स्वस्थ रहन दैनिक व्यायाम गर्नुहुन्छ भने यो भाइरसले एउटा रौँ पनि उखेल्न सक्दैन, तर आफूलाई व्यवस्थित नगरीकन यो भाइरससँग लड्छु भन्नुभयो भने त्यसबारे भन्न सकिँदैन । हो, हाम्रोजस्तो आर्थिक अवस्था भएको देशमा न त क्वारेन्टाइन, न आइसोलेसन नै राम्रो हुने गर्छ । त्यसैले त्यहाँको बसाइ निकै कष्टकर हुने गर्छ । साथै, त्यहाँ बस्ने मानिसको स्वास्थ्य उपचारमा डाक्टरहरूले पनि सकारात्मक भूमिका खेलिदिने हो भने आधा समस्या समाधान भएर जाने थियो । कुनै पनि मानिसको सफलताको कथा त्यसै बनेको हुँदैन, हाम्रो कोरोनासँगको जितको कथा पनि त्यसै बनेको छैन । जे–जस्तो भए पनि यसमा धेरैजनाको साथ र सहयोग छ । आजका दिन म ती सबै सहयोगी हातहरूलाई सम्झन चाहन्छु, जसले मेरो जीवन जोगाउन आफ्नो जीवन जोखिममा राखेर काम गरे ।