मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २४ शनिबार २०:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा प्रवक्ता श्रेष्ठको प्रस्ताव– स्थायी कमिटी सुचारु गरेर सचिवालयमा गृहकार्य गरौँ, महाधिवेशनको तयारी गर्दै निकास खोजौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २४ शनिबार २०:४१:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको संकटको निकासका लागि स्थायी कमिटी बैठक तुरुन्त सुचारु गरेर शीर्ष तह र सचिवालयमा गृहकार्य गर्न प्रस्ताव गरेका छन् ।  सामाजिक सञ्जालमार्फत विचार राख्दै प्रवक्ता श्रेष्ठले त्यस्तो गृहकार्यसँगै केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनमा केन्द्रित हुने गरी निकास निकाल्न सकिने प्रस्तावसमेत राखेका छन् । 

‘म फेरि जोड दिएर भन्छु, हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौँ । सबै बैठकमा उपस्थित भएर आ–आफना विचार राखौँ र छलफल गरौँ,’ श्रेष्ठले भनेका छन्, ‘त्यसबीचमा आवश्यकताअनुसार शीर्षस्थ नेताहरूको बीचमा र सचिवालयमा गृहकार्य गरौँ । बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौँ ।’ 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने माग राखिरहेका वेला प्रवक्ता श्रेष्ठले व्यक्तिगत आक्षेप नलगाई सैद्धान्तिक, वैचारिक छलफलका लागि महाधिवेशन केन्द्रित हुने गरी अहिलेको संकटको निकास खोज्न सकिने प्रस्ताव गरेका छन् । ‘यथास्थितिमा गुणात्मक परिवर्तन कुन रूपमा कसरी गर्ने भन्नेबारेमा अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौँ र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौँ । पार्टीभित्रको बहस र अन्तर्संघर्षलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔँ, व्यक्तिको हार र जितको विषय होइन’ श्रेष्ठले भनेका छन्, ‘पार्टी, कम्युनिस्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔँ । व्यक्तिगत आरोप, प्रत्यारोप वा गालीगलौजका रूपमा होइन, वैचारिक,‬ ‪सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गरौँ ।’

गत १३ साउनमा बालुवाटारमा प्रचण्ड–नेपाल समूहले बहुमत स्थायी समिति बैठक गरेपछि प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक सुचारु गर्न मानेका छैनन् । उनले पहिले सचिवालय बैठक डाकेपछि मात्र स्थायी समिति बोलाउन सकिने अडान राखिरहेकै वेला गत २१ साउनमा प्रचण्डसहित सचिवालयका चार नेताले पत्रकारहरूसँग अनौपचारिक छलफल गरेका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठले अहिलेको पार्टीभित्र सैद्धान्तिक, वैचारिक र राजनीतिक विषयमा दुईलाइन अन्तरसंघर्ष अघि बढेको जानकारी गराएका थिए । त्यसयता प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच संवाद हुन सकेको छैन ।