मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २३ शुक्रबार १०:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा रोकिएन अवैध नदी दोहन

Read Time : > 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार १०:४७:००

लमजुङमा प्राकृतिक श्रोत परिचालन तथा नदीजन्य सामाग्रीको अवैध दोहन बढेको छ ।  जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाको विभीन्न खोलामा लगाइएको खोला ठेक्का सम्झौता विपरित जेसिभी प्रयोग गरी गिटी बालुवा निकाल्ने काम भइरहेको छ । 

प्राकृतिक सम्पदा जर्गेना गर्ने उद्देश्यले असारदेखि भदौ महिनासम्म खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न पाइदैन ।  जिल्लामा नदीजन्य सामग्री गिटी, बालुवा आदि पदार्थ अव्यवस्थित ढंगले निकाल्ने काम भइरहेको छ । यसबाट एकातिर वातावरणीय क्षय भइरहेको छ भने अर्कोतिर आफ्ना आसेपासे पोस्न राजनीतिक प्रभावको प्रयोग भइरहेको देखिन्छ । 

वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन सम्झौता विपरित मनपरी तरिकाले खोला उत्खनन् हुने गरेको सुन्दरबजारका प्रत्यक्षदर्शी सन्जिव पौडेल बताउँछन् । सुन्दरबजार पाउदी खोलाका अधिकांश स्थानमा ट्रिपर र स्काभेटर प्रयोग गरी दोहोन गर्ने काम भइरहे पनि स्थानीय तहले कारवाही नगरेको पौडेल बताउँछन् । उनी भन्छन् ‘टेन्डर नै नगरी नगरपालिकाले ढुङ्गा गिट्टी निकाल्ने काम ग¥यो  । ’

रातको समयमा नदी उत्खनन्
यस्तै साउन १२ गते बेसीशहर नगरपालिका  ६ को मालेबगरमा अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दै गरेका ५ वटा मालबहाक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा एउटा एक्साभेटर, २ वटा ट्याक्टर र २ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गरेको सूचानाको आधारमा साउन १२ गते सोमबार राति ११ बजेको समयमा उक्त सवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय लमजुङका डिएसपी गंगाबहादुर थापाले बताए ।

अवैध रुपमा उत्खनन गरेको अवस्थामा पक्राउ गरिएको सवारीलाई नियन्त्रण लिएको र आवश्यक कारबाहीको लागि बेसीशहर नगरपालिकालाई पत्र काटिएको डिएसपी थापाले बताए । स्थानीयले रातको समयमा अन्दाधुुदा रुपमा ढुङगा गिट्टी बालुवा झिकिरहेको सूचना प्रहरीलाई दिएपछि प्रहरीले उत्खनन् कार्यमा संलग्न मालबहाक सवारी साधन नियन्त्रणमा लिएको हो । 

प्रहरीले असार १७ गते सुन्दरबजार नगरपालिका ५ खहरेखोलामा नदी उत्खनन गरेको ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने साउन २ गते सुन्दरबजार ६ मानेचौका खोलामा एउटा ट्याक्टर र साउन १३ गते मस्र्याङ्दी ३ खहरेस्थीत मस्र्याङ्दी खोलामा एउटा डोजर नियन्त्रणमा लिएको डिएसपी थापाले बताए । 

उनले भने ‘प्रहरीको सक्रियतामा नदी उत्खनन गरेका सवारीलाई नियन्त्रणमा लिएको हो ।’ बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्यालले अनुमतिबिना अवैध रुपमा ढुङुगा गिट्टी बालुवा उत्खनन गर्न नपाइने बताए ।