Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण २३ शुक्रबार ०४:०९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मुसहर बस्तीमा गुन्डा लगाएर आक्रमण, प्रहरीले विनाकारबाही छाडिदियो

त्रासले महिलाले गरिन् आत्महत्या, गाउँ नै त्रसित

Read Time : > 3 मिनेट
२०७७ श्रावण २३ शुक्रबार ०४:०९:००

छरछिमेकको सामान्य विवादमा मोरङको बुढीगंगा गाउँपालिका–२ खार्जीका मुसहरमाथि मध्यराति तरबार, भाला र रडले मरणासन्न हुने गरी आक्रमण गरिएको छ । आक्रमणबाट पाँचजना गम्भीर घाइते भएका छन् । पक्राउ गरिएका आक्रमणकारी प्रहरीले छाडेपछि त्रसित पीडित परिवारकी एक महिलाले बिहीबार आत्महत्या गरेकी छिन् ।

सामान्य विवादमा सरस्वती ऋषिदेवको परिवारसँग बदला लिन स्थानीय बैजनाथ यादवले विराटनगर–१४ जतुवाबाट २० जना गुन्डा बोलाएर आक्रमण गराएको प्रत्यक्षदर्शीको भनाइ छ । १९ साउनको राति मोटरसाइकल र इलेक्ट्रिक रिक्सामा आएका उनीहरूले तरबार, भाला र रडले आक्रमण गरेको पीडितहरूले बताए । आक्रमणबाट ५० वर्षीया सरस्वती, उनका भाइहरू ४० वर्षीय पन्नालाल, ३८ वर्षीय चुन्नीलाल, ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम गम्भीर घाइते भएका छन् । तरबारले सरस्वतीको छातीको देब्रे भाग नै ताछिएको छ । अन्यको टाउको, गर्धन र शरीरभरि ठुल्ठूला घाउ बनेका छन् ।

प्रत्यक्षदर्शी स्थानीय सरस्वती मगरका अनुसार बैजनाथको घरमा साँझ हुलका हुल नयाँ मान्छे आएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । तर, प्रहरीले बैजनाथका पाहुना भनेर सोधपुछ गर्नसमेत रुचि देखाएन । आक्रमण भएपछि घटनास्थल पुगेको निमुवा इलाका प्रहरी कार्यालयको टोलीले त रगताम्य घाइतेलाई अस्पताल लैजानसमेत सघाएन । घाइतेहरू रातभर घरमै छटपटाइरहे । प्रहरीको असहयोगका कारण लकडाउनका वेला घाइतेलाई अस्पताल लग्न नसकएको स्थानीय बासिन्दाले बताए । 

मुसहर परिवारमाथि आक्रमण भएको सूचना पाएपछि भोलिपल्ट बिहान छिमेकी बुढीगंगा गाउँपालिकाबाट आएका कांग्रेस गाउँ कमिटी सभापति जितनारायण थापाले पीडितलाई अस्पताल पुर्‍र्‍याएका थिए । उनीहरूको बुढीगंगा टंकीस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तो छ घटनाको पृष्ठभूमि 

बुढीगंगा गाउँपालिका–२ को मुसहरी टोलमा ६० घर मुसहरका छन् । भूमिहीन उनीहरू सबै ज्याला–मजदुरी गरेर जीवन धान्छन् । त्यही गाउँमा बैजनाथ यादवको परिवार पनि बस्छ । बैजनाथको परिवारले आफ्नो धाराको पानी निकास गर्न घरअगाडिको सडकमा खाल्डो खनेको छ । राति आउजाउ गर्नेहरू लड्ने तथा साइकल÷मोटरसाइकल दुर्घटना हुने भन्दै स्थानीयले यादव परिवारलाई खाल्डो पुर्न, कि पाइप लगाउन आग्रह गर्दै आएका थिए । तर, गाउँलेको आग्रह बैजनाथ परिवारले बेवास्ता गर्दै आएको थियो । यही विषयमा सरस्वती ऋषिदेवको केही समयअगाडि यादव परिवारसँग सामान्य विवाद भएको थियो ।

१९ साउनको बिहान एक मुसहर महिला दुलारी ऋषिदेव खाल्डोमा लडेर सामान्य घाइते भइन् । त्यही विषयमा विवाद हुँदा बैजनाथकी बुहारी पवन यादवसहितले दुलारीलाई धानबारीमा लछारपछार गरेर कुटपिट गरे । झगडा मिलाउन त्यही दिन दिउँसो समाज बस्यो । समाजको बैठकमा सरस्वती, श्यामलगायतले कुटपिटको विरोध गर्दै खाल्डो पुर्न माग गरेका थिए । त्यसपछि बैजनाथ परिवारले सडकमा खनेको खाल्डो पुर्ने र आइन्दा विवाद नगर्ने समाजको फैसलाअनुसार सहमति भयो । तर, दलित मुसहरहरूले आफूलाई हेपेको भन्दै बैजनाथ परिवारले ‘इगो’ लियो । 

बैजनाथले ज्वाइँ चलमली यादव र सिन्धु यादवको सहयोगमा त्यही दिन राति विराटनगरको जतुवाबाट सिटी रिक्सा र मोटरसाइकलमा हातहतियारसहितका गुन्डा झिकाए । गाउँमा शंकास्पद मान्छे आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरीले वैजनाथका पाहुना भन्दै उनीहरूसँग सोधपुछ गर्नसमेत रुचि देखाएन । तर, रात छिप्पिँदै गएपछि उनीहरू नै मुसहर बस्तीमा पसेर मरणासन्न हुने गरी कुटपिट गरे । 

समाजको बैठकमा मैले पनि बोलेको थिएँ,’ टाउकोमा गम्भीर चोट लागेका श्यामले भने, ‘राति एक्कासि गाउँमा नयाँ मान्छे हातहतियारसहित आएर आक्रमण गरे । मैले ए भाइहरू, यो राति किन आएको भनेर मात्र भनेको थिएँ, दनादन रड र तरबारले हिर्काउन सुरु गरे ।’ 

आफूहरूमाथि यति ठूलो अत्याचार हुँदासमेत प्रहरीले दोषीलाई कारबाही गर्न चासो नदेखाएको र आक्रमणकारीहरूको त्रासका कारण छोरीले आत्महत्या गर्नुपरेको सरस्वतीले बताइन् । ‘हामीले केही गल्ती नै गरेका थिएनौँ । गाउँमा अर्कैसँग भएको झगडालाई लिएर हामीमाथि आक्रमण गरियो । तरबारले घरघरमा पसेर अन्धाधुन्ध अक्रमण गरे । मेरो छाती नै काटियो । म अस्पतालमा यसरी लडेकी छु, उता डराएर माइली छोरीले आत्महत्या गरेछिन् । म कसरी बाँचू ?, हामी निर्धालाई कसले न्याय दिन्छ ?’ अस्पतालमा उपचाररत सरस्वतीले भनिन् ।

प्रहरीले राति सञ्जय यादव, ब्रह्मदेव यादव, दीपक साह, उत्तिमलाल यादव र विष्णु यादवलाई पक्राउ गरेर लगेको थियो । नेकपा मोरङका जिल्ला सदस्य कपिल सुनारका अनुसार २० साउनमा आक्रमणकारीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय निमुवामा पीडितहरूले निवेदन दिएका छन् । तर, प्रहरीले मिलापत्र गरेर दोषीलाई जोगाउने षड्यन्त्र ग¥यो । स्थानीयले त्यसको विरोध गरेपछि इप्रकाले आक्रमणकारीलाई जिल्ला प्रहरी कार्यालय पठायो । जिप्रकाले मुद्दा दर्ता नै नगरी सबै आक्रमणकारीलाई २० साउनमै विराटनगर–१४ का निमित्त वडाध्यक्ष महिचन यादवको रोहबरमा छाडिदियो । 

स्थानीय बासिन्दाका अनुसार बैजनाथले ज्वाइँ चलमली यादव र सिन्धु यादवको सहयोगमा जतुवाबाट गुन्डा झिकाएका थिए । मुसहर बस्तीमा कुटपिट गर्न जाँदा चलमली र सिन्धु पनि थिए । तर, प्रहरीले मुख्य योजनाकार बैजनाथ, चलमली र सिन्धुलाई पक्राउ नै गरेन । अहिले बैजनाथको पूरै परिवार फरार छ ।

प्रहरीले घाइतेको घाउ जाँच गराउन पनि रुचि देखाएको थिएन । स्थानीयको दबाबपछि बिहीबार प्रहरी घाउ जाँच गराउन तयार त भयो, तर पीडितहरूलाई हेरेर विवरण लिन अस्पतालसमेत गएन । उल्टै पीडितहरूलाई आफैँ घाउ जाँच गराउन निर्देशन दियो । दैनिक ज्याला–मजदुरी गरेर जीवन धानिरहेका पीडितहरूलाई उपचार गर्न पनि समस्या भइरहेको छ । ‘हामी दिनदिनै मजदुरी गरेर पेट पाल्ने मान्छे हौँ । अनाहकमा हामीमाथि आक्रमण भयो । बल्ल–बल्ल अस्पताल त भर्ना भयौँ, उपचारखर्च कसरी तिर्ने केही थाहा छैन,’ घाइते श्यामले भने ।

त्रसित छोरीले गरिन् आत्महत्या 

हातहतियारसहित मध्यरातमा घरमै आएका गुन्डाहरूबाट आमासहित परिवारका सदस्यमाथि मरणासन्न हुने गरी भएको आक्रमणको प्रत्यक्षदर्शी २४ वर्षीया उर्मिला ऋषिदेव त्रसित थिइन् । परिवारका सदस्य अस्पतालमा उपचार गराइरहँदा प्रहरीले आक्रमणकारीलाई छाडेपछि उनी थप त्रसित भइन् । र, डरैडरमा बिहीबार दिउँसो घरभित्रै पासो लगाएर आत्महत्या गरेकी छिन् । उनी घाइते सरस्वतीकी माइली छोरी हुन् ।

छिमेकी सरस्वती मगरका अनुसार घटना भएको दिनदेखि नै उर्मिला ‘आक्रमणकारी फेरि आउँछन् र हामी सबैलाई मार्छन्’ भनेर त्रसित थिइन् । ‘वैजनाथको परिवारले निर्दोषमाथि बर्बर आक्रमण ग¥यो भनेर हामीले राति पुलिस पनि बोलायौँ, तर पुलिसले हाम्रो कुरै सुनेन, उल्टै तिमीहरू झगडा गर्छौ भनेर हामीलाई नै दोष दियो । इलाका र जिल्ला प्रहरीमा पनि गएर हामीले साहेबहरूलाई दोषीलाई कारबाही गर्न भन्यौँ, तर सुनवाइ भएन । पुलिसले चासो दिएको भए आज नानीले ज्यान गुमाउनुपर्ने थिएन । हामी निमुखालाई कसले न्याय दिन्छ ?’ उनले भनिन् ।

घटनाको निष्पक्ष छानबिन गर्न माग 

कांग्रेसको बुढीगंगा गाउँपालिका सभापति जितनारायण थापाले मुसहरमाथि विनाकारण बर्बर आक्रमण हुँदा पनि प्रहरीले दोषीमाथि कारबाहीको रुचि नदेखाएको बताए । ‘योभन्दा ठूलो अत्याचार के हुन्छ ? निमुखा मुसहरमाथि भएको आक्रमणको निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्र्नुपर्छ,’ उनले भने । 

नेकपा जिल्ला सदस्य कपिल सुनारले पनि लकडाउनको समयमा नियोजित रूपमा आक्रमण गरिएको बताए । फौजदारी जघन्य अपराध गर्नेलाई मोरङ प्रहरीले उल्टै संरक्षण गर्न खोजेको भन्दै उनले उच्च तहबाट घटनाको छानबिन हुनुपर्ने बताए । बुढीगंगा गाउँपालिका–२ का वडासदस्य कन्हैया साहले विनाकसुर मुसहरमाथि आक्रमण गर्नेलाई प्रहरीले संरक्षण गर्दा न्याय पाइनेमै शंका लागेको बताए । प्रहरीको नियतमाथि पनि प्रश्न उठेको उनको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले घटनाको अनुसन्धान भइरहेको बताए । ‘उनीहरू अनुसन्धानमै छन् । पुलिसले थुन्यो भने सजाय हुन्छ भन्ने गलत मानसिकता छ । पुलिसले सजाय गर्ने नै होइन । दुवै पक्षका घाइते छन् । अनुसन्धान भइरहेकै छ । पक्राउ परेकालाई तारेखमा राखेर अनुसन्धान भइरहेको हो,’ उनले भने ।