मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २३ शुक्रबार ०४:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसमा अब १० लाख क्रियाशील सदस्य

Read Time : > 2 मिनेट
२०७७ श्रावण २३ शुक्रबार ०४:००:००

कांग्रेसमा शतप्रतिशत सदस्यता थप गर्न नेताहरू सहमत भएका छन् । सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सदस्यता शतप्रतिशत थप गर्ने सहमति गरेको जानकारी महामन्त्री पूर्णबहादुर खड्काले दिए । यसअघि भएकाभन्दा ५० प्रतिशत मात्रै क्रियाशील सदस्यता बढाउन भएको समझदारी कार्यान्वयनमै ढिलाइ भइरहेको अवस्थामा कांग्रेसमा नयाँ सहमति बनेको हो । 

पछिल्लो समय सभापति देउवाका गतिविधिविरुद्ध कडा रूपमा पौडेल पक्ष प्रस्तुत भएपछि देउवाले छलफलका लागि बैठक बोलाएका थिए । क्रियाशील सदस्यता थप गर्नका लागि जिल्लाबाट माग आएको भन्दै संस्थापन र पौडेल पक्ष सदस्यता थप गर्न तयार भएका हुन् । 

‘क्रियाशील सदस्यता शतप्रतिशत बढाउने कुरा भएको छ,’ खड्काले नयाँ पत्रिकासँग भने, ‘नेताहरूबीचको समझदारीलाई अब केही समयमा बस्ने केन्द्रीय समिति बैठकले अन्तिम रूप दिन्छ ।’ नेता खड्काका अनुसार १४औँ महाधिवेशनको प्रयोजनका लागि नै सदस्यता बढ्नेछन् । कांग्रेसमा १३औँ महाधिवेशनमा चार लाख ७० हजार क्रियाशील सदस्य थिए । झन्डै ५० हजारको सदस्यता विवाद अझै मिलेको छैन । तर, प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको अहिलेको रेकर्डमा चार लाख ९८ हजार चार सय ७६ सदस्यको विवरण छ । यसबाहेक १३औँ महाधिवेशनमा टुंगो नलागेका केही हजार सदस्यताको विषयलाई अब बन्ने छानबिन समितिले मिलाउनेछ । सय प्रतिशत सदस्यता थपिँदा कांग्रेसमा अब क्रियाशील सदस्यताको संख्या १० लाख पुग्नेछ । 

समझदारीलाई अब केही समयमा बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने जानकारी खड्काले दिए । ‘यसअघिकै केन्द्रीय समिति बैठकमा नेताहरूले सदस्यता संख्या बढाउनुपर्ने माग गर्नुभएको थियो,’ खड्काले नयाँ पत्रिकासँग भने, ‘जिल्लामा कांग्रेसमा युवाहरूको आकर्षण बढ्दो भएपछि जिल्ला सभापतिहरूले पनि सदस्यता बढाउन दबाब दिँदै आउनुभएकाले पार्टीमा सबै पक्षबीच सदस्यता सय प्रतिशत थप्ने समझदारी जुटेको हो ।’ सदस्यता सय प्रतिशत थप्न पौडेल पक्षले पनि समझदारी जनाएको छ । यति सदस्य थपिँदा पनि अझै नपुग्ने खड्का बताउँछन् । 

बैठकमा नेता रामचन्द्र पौडेलले महाधिवेशनको मुखमा विभाग गठन गर्न नहुने बताएका थिए । तर, सभापति देउवाले विधानतः आफू अघि बढेको भन्दै यस्ता विभागमा रहने प्रमुख र सदस्यको नाम दिन पौडेललाई आग्रह गरेका थिए । ‘विभाग गठनमा ढिलाइ भएको हो । तर, मैले जहिल्यै पनि नाम मागेकै हो । तपाईंहरूले नाम दिनुभएन,’ देउवाको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘नेताहरूले बनाएको कुरामा किन बनाइस् भनेर भन्न पाउनुभयो, तर सभापतिलाई अधिकार नै छैन भन्न पाउनुहुँदैन ।’

कहिले र कसरी थपिन्छन् सदस्यता ?

महामन्त्री खड्काका अनुसार यसअघिको सदस्यता अपडेट, क्रियाशील सदस्यता छानबिन समिति गठनपछि नयाँ सदस्यता थपका लागि प्रक्रिया अघि बढ्छ । अहिले पनि जिल्ला–जिल्लामा सदस्यता वितरण भइरहेको भन्दै सदस्यता फर्म मात्रै छाप्दा अरू व्यावहारिक कठिनाइ नहुने खड्का बताउँछन् । प्रत्येक वडामा सदस्यताको माग धेरै भएको भन्दै उनले वडादेखि तहले निर्णय गर्दै सदस्यताको विषय टुंग्याउने भएकाले सय प्रतिशतमा कुनै व्यावहारिक कठिनाइ नहुने उनी बताउँछन् । तर, सात सदस्यीय छानबिन समितिको टुंगो अझै लागेको छैन । १४औँ महाधिवेशनको प्रयोजनका लागि पुरानो विवादित सदस्यताको टुंगो लगाउनै बाँकी छ । पुरानो विषय मिलाएर नयाँ थपको विषय अघि बढाउन पनि कांग्रेसलाई सहज हुने भने छैन । किनकि १४औँ महाधिवेशनअन्तर्गत सदस्यताको विषयलाई अब छिटोभन्दा छिटो टुंग्याउनुपर्ने चाप पार्टीलाई छ । 

नौ एजेन्डामा छलफल

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्री खड्काले बैठकमा नौवटा एजेन्डा प्रस्तुत गरेका थिए । जसमा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका लागि बनेका समितिको प्रस्ताव, अन्य पार्टीबाट प्रवेश गरेकाहरूको समायोजन, नेविसंघ, तरुण दल र सांस्कृतिक संघलाई पूर्णता दिने, म्याद थपिएका भ्रातृ संस्थाको विषय, जिल्लाबाट सदस्यता थपका लागि भएका माग, जनसम्पर्क समितिमा देखिएका समस्यासहितका विषयमा छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए ।