मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २२ बिहीबार २०:२३:००
Read Time : > 1 मिनेट
प्रदेश

सिराहामा कोरोना रोकथाम र उपचारमा २० करोडभन्दा बढी खर्च

Read Time : > 1 मिनेट
२०७७ श्रावण २२ बिहीबार २०:२३:००

सिराहाका १२ वटा स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा उपचारमा २० करोडभन्दा बढी खर्च भएको विवरण सार्वजनिक गरेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिले तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न दिएको निर्देशनअनुरूप उनीहरूले बिहीबार खर्च विवरण सार्वजनिक गरेका हुन् । 

स्थानीय तह, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन, राहत, स्वास्थ्यकर्मी भत्ता, सुरक्षाकर्मी भत्ता कर्मचारी भत्ता गरी २० करोड ९० लाख ४७ हजार ३५ रुपैयाँ खर्च भएको जनाएका छन् । सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बिहीबार सम्पन्न कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकमार्फत खर्च विवरण सार्वजनिक गरिएको हो । 

कुन स्थानीय तहमा कति खर्च ?
सिराहा नगरपालिकाले सबैभन्दा बढी पाँच करोड ९० लाख ८६ हजार चार सय ३० रुपैयाँ र सबैभन्दा कम अर्नमा गाउँपालिकाले ३९ लाख ५९ हजार एक सय तीन रुपैयाँ खर्च गरेका छन् । 

गोलबजार नगरपालिकाले एक करोड ६० लाख आठ हजार पाँच सय ५३ रुपैयाँ, कर्जन्हा नगरपालिकाले एक करोड ४८ लाख १५ हजार आठ सय १६ रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ । यस्तै, धनगढीमाई नगरपालिकाले ५५ लाख ९४ हजार ६ सय ३३, विष्णुपुर गाउँपालिकाले ८८ लाख ६१ हजार सात सय १० रुपैयाँ खर्च गरेको छ भने लहान नगरपालिकाले एक करोड ९८ लाख चार हजार ७८ रुपैयाँ, बरियारपट्टी एक करोड ५७ लाख २३ हजार सात सय ६७ रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ । 

नरहा गाउँपालिकाले ७३ लाख ५९ हजार दुई सय ४९ रुपैयाँ, लक्ष्मीपुरपतारी गाउँपालिकाले ६९ लाख ६५ हजार ६ सय ९५ रुपैयाँ, मिर्चैया नगरपालिकाले एक करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ, औरही गाउँपालिकाले दुई करोड २० लाख ८० हजार नौ सय ३० रुपैयाँ, स्वास्थ्य कार्यालय ३० लाख ४६ हजार दुई सय ८८ रुपैयाँ, जिल्ला अस्पताल सिराहाले एक करोड ३८ लाख ५९ हजार सात सय सात रुपैयाँ खर्च गरेको छ । 

कुन शीर्षकमा कति ?
कोरोना महामारीको समयमा स्थानीय तहले अपारदर्शी ढंगले खर्च गरेको जनगुनासो बढिरहेका वेला स्थानीय तह र सार्वजनिक निकायहरूले सार्वजनिक गरेको खर्च विवरणअनुसार सबैभन्दा बढी रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि १३ करोड सात लाख ६९ हजार तीन सय २४ रुपैयाँ खर्च भएको छ । खर्च विवरणअनुसार संस्थागत क्वारेन्टाइन व्यवस्थापनमा एक करोड ५९ लाख ९० हजार दुई सय ४२, राहत वितरण पाँच करोड ६३ लाख ८६ सात सय ३९ रुपैयाँ खर्च भएको छ । यस्तै, स्वास्थ्यकर्मी भत्ता ३३ लाख ८६ हजार ८६, सुरक्षाकर्मी भत्ता एक लाख ३२ हजार, कर्मचारी भत्ता २३ लाख ८२ हजार ६ सय ४४ रुपैयाँ खर्च भएर्को  विवरणमा उल्लेख छ । 

जिल्ला विपत् व्यवस्थापन समिति सिराहाले १८ साउनमा कोरोनाको संक्रमण जोखिम न्यूनीकरण गर्न जिल्लास्थित स्वास्थ्य कार्यालय, स्थानीय तह र सार्वजनिक निकायले गरेको खर्च तीन दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको चौथो दिन खर्च विवरण सार्वजनिक गरिएको हो । 

जिल्लाको कल्याणपुर र सुखीपुर नगरपालिका तथा सखुवानन्कारकट्टी, भगवानपुर र नवराजपुर गाउँपालिकाले केन्द्रमा खर्च विवरण उपलब्ध गराएका छैनन् । खर्च विवरण उपलब्ध नगराएका स्थानीय तहलाई पनि छिटो विवरण उपलब्ध गराउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कँडेलले बताए ।