मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २२ बिहीबार ०६:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शिशु बेवारिसे काण्ड : केयर बालगृहमा आश्रित ११ बालिकाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २२ बिहीबार ०६:३१:००

बेवारिसे शिशु फेला परेको भन्दै अफवाह फैलाउने काठमाडौं कपनस्थित केयर बालगृहमा आश्रित ११ बालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बाल परिषद्ले उद्धार गरेका बालिका ६ देखि १२ वर्षका छन् । उनीहरू चार वर्षदेखि बालगृहमा आश्रित थिए । उनीहरूमध्ये अधिकांशका अभिभावक रहेको परिषद्ले जनाएको छ । उद्धारपछि परिषद्ले सबैलाई आफूमातहतको अस्थायी सेल्टरमा राखेको छ ।

‘दुई–तीनजना भने अनाथ रहेछन्,’ परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसालले भनिन्, ‘त्यहाँ उनीहरू असुरक्षित भएको महसुस गर्‍यौँ । त्यसैले सबैको उद्धार गरेका हौँ ।’

परिषद्का अनुसार सबै बालिकाका अभिभावक पत्ता लगाउने प्रयास भइरहेको छ । पत्ता लाग्नासाथ बोलाएर जिम्मा लगाइने भुसालले जानकारी दिइन् । अभिभावक नभएका बालिकालाई भने परिषद्ले नै आश्रय दिनेछ । ‘आर्थिक अवस्था कमजोर भएकाहरूले आफ्ना छोरीलाई बालगृहमा लगेर राखेको भेटियो,’ उनले भनिन्, ‘अभिभावकलाई नै जिम्मा लगाउँछौँ ।’

आर्थिक उपार्जन गर्ने उद्देश्य
परिषद्का अनुसार बालगृहले स–साना बालिका जम्मा गर्नुको उद्देश्य आर्थिक उपार्जन रहेको पाइएको छ । बालगृहकी सञ्चालक पुष्पा अधिकारी हुन् । उनको कोटेश्वरमा गर्ल्स होस्टेल छ । बालिका देखाएर चन्दा संकलन गरी होस्टेल र बालगृह सञ्चालन गरेको पाइएको भुसाल बताउँछिन् । भन्छिन्, ‘थप अनुसन्धान भइरहेको छ ।’

अनुसन्धानपछि कारबाही
बालगृह सञ्चालक अधिकारीले बालिकाको अबोधपन दुरुपयोग गरेर आर्थिक उपार्जन गरेको देखिएकाले उनीविरुद्ध बाल अधिकार ऐन आकर्षित हुने परिषद्को दाबी छ । यस सम्बन्धमा प्रहरी र परिषद्ले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । दोषी देखिए कानुनअनुसार कारबाही हुने भुसालको भनाइ छ ।

अधिकारीले १२ साउन साँझ कपनको चौरमा बालिका अलपत्र फेला परेको बताउँदै सामाजिक सञ्जालमार्फत खबर भाइरल बनाएकी थिइन् । तर, पछि बालिका अलपत्र अवस्थामा भेटिएको नभई आमाकै सहमतिमा उनले ल्याएको खुलेको थियो । त्यसपछि भने अधिकारीले गल्ती स्वीकारेकी थिइन् ।