१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण २१ बुधबार १५:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यका भित्रिने नाकामा चेकजाँच कडा बनाइयाे, पास नभएका सवारीसाधन नाकाबाटै फिर्ता  

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार १५:१८:००

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरूमा चेकजाँच कडा बनाइएकाे छ ।

लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरूको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब संकलन गरेको सरकारले अहिले भने सवारी पासजाँचमा पनि कडाइ गरेको हो । उपत्यका प्रवेश पास नभएका सवारीसाधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । 

यसअघि नाकासम्म एउटा सवारीसाधनमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने र उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरूलाई पनि रोक लगाइएको छ ।

प्रहरीले बुधबार पैदल हिँडेर प्रवेश गर्न खोज्ने विनापासका यात्रुहरू सबैलाई फर्काएको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपराह्नसम्म मास्क नलगाएका २५ जनालाई प्रहरीले कारबाही गरेको छ । पास नभएका गाडीहरूलाई फिर्ता पठाइएको छ ।

नागढुंगा नाका हुँदै दैनिक चारदेखि ६ सयसम्म सवारीहरू भित्रिने गरेका छन् । बुधबार दिउँसो नागढुंगा नाकामा उपत्यका प्रवेश गर्ने सवारीकाे चेकिङ कडा थियाे ।

उपत्यकाबाहिरबाट आउनेमा संक्रमण देखिन थालेपछि सरकारले प्रवेशमा कडाइ गरेको हो । मंगलबार मात्रै उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए । नागढुंगा, साँगा र फर्पिङ हुँदै हजारौँ नागरिक उपत्यका प्रवेश गरिरहँदा जोखिम बढेको निष्कर्षसहित सरकारले प्रवेशमा कडाइ गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार उपत्यका भित्रिने नाकाहरूमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण देखिएको थियो । नाकाहरूमा गरिएका १० हजार आठ सय ५३ वटा पिसिआर परीक्षणमा ४० जनामा संक्रमण पोजेटिभ देखिएको हो ।