Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
धादिङको रुभी भ्याली उपत्यका ।  तस्बिर सौजन्य : प्रदीप तामाङ
२०७७ श्रावण २१ बुधबार ०८:३४:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

काठमाडौंबाट छोटो दूरीका पाँच सुन्दर गन्तव्य

Read Time : > 3 मिनेट
२०७७ श्रावण २१ बुधबार ०८:३४:००

काठमाडौंबाट छोटो दूरीका पाँच सुन्दर गन्तव्यलकडाउनका कारण पछिल्लो चार महिना घरभित्रै सीमित भएका मानिस घरबाहिर निस्कन थालेका छन् । कोभिड–१९ को त्राससहित लामो समय घरभित्रै बस्नुपर्दा धेरैलाई मानसिक रूपमै समस्या देखिएको छ । त्यसैले पनि उनीहरू घरबाहिर निस्कन थालेका हुन् । सरकारले लकडाउन खुलेको घोषणा गरिसके पनि भाइरस संक्रमण बढ्दै छ । विशेषगरी, काठमाडौं उपत्यकामा पहिलेको तुलनामा संक्रमितको संख्या बढ्दो अवस्थामा देखिएको छ । 

यो अवस्थामा आवश्यक सावधानीसहित उपत्यकानजिकका गन्तव्यको भ्रमण गर्दा उनीहरू यस्तो समस्याबाट मुक्त हुने अवसर हुनेछ । त्यसका लागि नयाँ पत्रिकाले काठमाडौंवरिपरिका छोटो दूरीका केही सुन्दर गन्तव्य प्रस्तुत गरेको छ, जुन कम खर्चिलो पनि हुनेछ । 

काठमाडौं–चित्लाङ (एक रात, दुई दिन)

यो ‘ट्रेक’ काठमाडौंबाट एक रातका लागि निस्कन चाहनेका लागि उपयुक्त गन्तव्य हो । यसको यात्रा थानकोटबाट सुरु हुन्छ । थानकोटबाट चन्द्रागिरि डाँडामुनिको बाटो हुँदै चित्लाङ पुगिन्छ । साढे दुई घन्टाको यो यात्रामा वरिपरिका अरू साना गाउँहरूको पनि अवलोकन गर्न पाइन्छ ।

नेवार समुदायको पुरानो गाउँ चित्लाङमा नेवारी खानाको स्वादसँगै सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । चित्लाङमा मल्लकालीन पुरातात्विक वस्तुहरूको अवलोकन गर्ने अवसरसमेत मिल्नेछ । पहिलो दिनको वास चित्लाङमै हुनेछ । भोलिपल्ट बिहान फेरि दुई-साढे दुई घन्टाको पैदलयात्रापछि कुलेखानी पुगिन्छ। 

यो रुट गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले होमस्टे र गाउँ पर्यटनमा जोड दिएको ठाउँ हो । ‘भिटोफले पछिल्लो पाँच–सात वर्षदेखि यहाँ होमस्टे र गाउँ पर्यटन प्रवद्र्धनको काम गरिरहेको छ । यहाँ खाने–बस्ने राम्रो व्यवस्था छ,’ भिटोफका अध्यक्ष ध्रुव सिम्खडा भन्छन्, ‘यहाँ तपाईंहरूले स्थानीय संस्कृति र प्राचीनकालीन केही चिनोसहित अरू धेरै नयाँ कुराको अनुभव र अवलोकन गर्न पाउनुहुनेछ ।’

काठमाडौं–स्याब्रुबेँसी– गत्लाङ–धादिङबेँसी (एक साता)

काठमाडौंबाट धादिङको सुदूर रुबीभ्याली गाउँपालिकासम्म पुगेर फर्कने यो रुट केही लामो ‘ट्रेक’ चाहनेहरूका लागि उपयुक्त छ । यो ‘ट्रेक’ एक सातामा पूरा हुन्छ । पहिलो दिन काठमाडौंबाट निजी वा सार्वजनिक यातायातमा रसुवाको स्याब्रुबेँसीसम्म पुग्ने । पहिलो दिनको वास स्वाब्रुबेँसीमै हुनेछ । गाडीमा यात्रा आठ घन्टाको हुनेछ ।

त्यसको भोलिपल्टबाट ट्रेकिङ सुरु हुन्छ । स्याब्रुबेँसीबाट हिँडेर पाँच घन्टामा रसुवाकै अर्काे गाउँ गत्लाङ पुगिन्छ । दोस्रो रातको वास त्यहीँ हुन्छ । गत्लाङ तामाङ समुदायको मात्रै बसोवास भएको गाउँ हो । त्यहाँ तामाङ समुदायको संस्कृति र खानपानको अनुभव गर्न पाइन्छ । तेस्रो दिन गत्लाङबाट सोम्दाङ पुगिन्छ । सोम्दाङ रसुवा र धादिङको सिमाना हो । 
चौथो दिन पाङसाङ पास हुँदै तिप्लिङ पुगिन्छ । 

मौसम सफा भएको समय त्यहाँबाट २७० डिग्रीको भ्यु देखिन्छ । त्यसको अर्काे दिन चालीस गाउँ पुगिन्छ । तिप्लिङबाट सेर्तुङ गाउँ हुँदै चालीस गाउँ आइपुग्न चार घन्टा लाग्छ । चालीस गाउँमा सोरठी, घाटु, मारुनीलगायत गुरुङ समुदायमा प्रचलित नृत्य हेर्न पाइन्छ । अर्काे दिन चालीस गाउँबाट बोराङ, झार्लाङ हुँदै डुन्डुरे खोलासम्म हिँडेर पुगिन्छ । यात्राको सातौँ दिन तीनदेखि चार घन्टाको सवारी यात्रापछि काठमाडौं फर्किन सकिन्छ । 

‘यो कल्चरल ट्रेल हो । यो ट्रेलमा धेरै सांस्कृतिक कुराको अवलोकन गर्न सकिन्छ,’ नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिवसमेत रहेका पर्यटन व्यवसायी कुलबहादुर गुरुङ भन्छन्, ‘यो रुट भर्खरै खुलेका कारण यसलाई भर्जिन टे«ल भनेका छौँ । प्राकृतिक सुन्दरताको अवलोकनसँगै नेपालको सांस्कृतिक विविधताको अनुभव पनि गर्न पाइन्छ ।’

काठमाडौं–नमोबुद्ध– बल्थली–पनौतीं (एक रात, दुई दिन)

यो काठमाडौं उपत्यकाबाट नजिक र छोटो अवधिको अर्काे ‘ट्रेक’ हो । पहिलो दिनको यात्रा काठमाडौंबाट सुरु हुन्छ । काठमाडौंबाट नमोबुद्धसम्म गाडीमा पुग्ने । यो यात्रा लगभग तीन घन्टाको हुनेछ । त्यहाँ बिहानको खाना खाएपछि बल्थलीतर्फको ‘ट्रेक’ सुरु हुन्छ । नमोबुद्धबाट तीन घन्टामा बल्थली पुगिन्छ । पहिलो दिनको वास बल्थलीमै हुनेछ । बल्थलीमा होमस्टेको सुविधा पनि छ । त्यसपछि भोलिपल्टको यात्रा पनौतीतर्फ फर्कनेछ । 

बल्थलीदेखि पनौतीसम्मको दूरी सात किलोमिटरको छ । पनौतीमा नेवारी संस्कृतिको अवलोकनसँगै खानाको पनि मज्जा लिन सकिन्छ । यो रुटमा नमोबुद्ध र बल्थलीबाट विभिन्न हिमाल र हिमशृंखलाको अवलोकन गर्न पाइने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)की महासचिव सरिता लामा बताउँछिन् । ‘नमोबुद्ध बुद्ध धर्म मान्नेहरूका लागि धार्मिक यात्रा पनि हुनेछ । त्यसका साथै नमोबुद्धबाट गौरीशंकरलगायत हिमालको दृश्यावलोकन गर्न पाइन्छ । बल्थलीबाट पनि अरू सुन्दर दृश्यको अवलोकन गर्न पाइन्छ,’ उनी भन्छिन् ।

काठमाडौं–सिक्रे–हैबुङ (दुई रात, तीन दिन)

छोटो समयको सवारीयात्रा र त्यसपछिका बाँकी समय पैदलयात्रामा हुने यो ‘ट्रेक’ दुई रात तीन दिनको हुनेछ । काठमाडौंदेखि बुढानीलकण्ठसम्म निजी वा सार्वजनिक यातायातमार्फत पुग्ने । त्यसपछि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै अगाडि बढ्ने । शिवपुरी डाँडामा महादेवको मन्दिर छ । पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुअघि नुवाकोटको डाँडामा आफ्नो सेना राख्न बनाएको बंकर छ । त्यहाँ ढुंगाले बनेको लामो ‘स्टोन ट्रेल’ छ । नुवाकोटको सिक्रे गाउँमा पर्ने अल्छेडाँडासम्म स्टोन ट्रेल छ । शिवपुरी डाँडाबाट देखिने काठमाडौं उपत्यका र त्यसवरिपरिको सुन्दर दृश्यसँगै यात्रा अघि बढ्नेछ । 

काठमाडौंबाट हिँडेको पहिलो रातको बसाइ सिक्रेमा हुनेछ । सिक्रे गाउँमा स्थानीय खानेकुरासँगै ट्राउट माछा, अलैँची पाइन्छ । दोस्रो दिनको यात्रा सिक्रेबाट सुरु हुन्छ । सिक्रेबाट ६ घन्टाको यात्रापछि नुवाकोट र सिन्धुपाल्चोकको सिमानामा पर्ने पाटीभञ्ज्याङ पुगिन्छ । दोस्रो दिनको बसाइ पाटीभञ्ज्याङमा हुनेछ । 

पाटीभञ्ज्याङमा किवी, ट्राउट माछा, भिरमौरीको मह पाइन्छ । तेस्रो दिन बिहानको खाना खान सिन्धुपाल्चोकको हैबुङ पुगिन्छ । हैबुङमा रहेको चियाबगानको अवलोकन गर्न पाइन्छ । ‘यो रुटमा भिलेज टुर हुन्छ । स्थानीय संस्कृतिको अवलोकन गर्न पाइन्छ,’ हैबुङका पर्यटन व्यवसायी किशनराज गुरुङ भन्छन्, ‘जंगल वाक, टी गार्डेनको अवलोकनदेखि होमस्टेमै बसेर गाउँले जीवनको अनुभव गर्न पनि सकिन्छ ।’

काठमाडौं–बोल्दे–तिमाल (दुई रात, तीन दिन)

काठमाडौंबाट काभ्रेको बोल्देसम्म गाडीमा पुग्न सकिन्छ । काठमाडौंबाट सार्वजनिक यातायातमै चार घन्टामा बोल्दे पुग्न सकिन्छ । बोल्दे पनि तामाङ बस्ती हो । पहिलो दिन बोल्देमै बस्ने । भोलिपल्ट बोल्देबाट हाइकिङ सुरु हुन्छ, तिमालसम्म । बोल्देदेखि उकालो बाटो पाँचदेखि ६ घन्टा हिँडेपछि तिमाल पुगिन्छ । तिमालमा गुरु रिम्पोन्चेको गुफा छ । स्वयम्भू, बौद्ध, नमोबुद्धको छ्योर्तेन छ । तामाङ राजाको दरबार पनि हेर्न पाइन्छ । तिमालबाट नगरकोटबाट देखिने सबै हिमाल देख्न सकिन्छ । 

‘यो रुट नेपालको सांस्कृतिक विविधता अवलोकन गर्ने ठाउँ पनि हो,’ तिमाल काभ्रेका स्थानीय पर्यटन व्यवसायी लप्साङ लामा भन्छन्, ‘यहाँ तपाईंले बौद्ध, स्वयम्भू, नमोबुद्धको छ्योर्तेनदेखि गुरु रिम्पोन्चेको गुफा र सालिक हेर्न पाउनुहुनेछ । तिमाल डाँडाबाट मनास्लु, अन्नपूर्णदेखि धेरै हिमाल र हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न सक्नुहुनेछ ।’