मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २० मंगलबार २०:४३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुरमा अन्तर्राष्ट्रियस्तरको अंकुरम एकेडेमी सञ्चालन 

Read Time : > 2 मिनेट
२०७७ श्रावण २० मंगलबार २०:४३:००

चितवनको भरतपुर महानगरपालिका– ७ तेह्रसाल चोकमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न अंकुरम एकेडेमी सञ्चालनमा आएको छ । विश्वस्तरीय शिक्षा, अत्याधुनिक कक्षाकोठा, स्विमिङ पुल, एयर कन्डिसनसहित १२ कक्षासम्म पठनपाठन गर्ने गरी विद्यालय सञ्चालनमा ल्याइएको हो ।

विद्यालयका अध्यक्ष आनन्दबहादुर चन्दका अनुसार ‘शैक्षिक हब’ मानिएको चितवनको शैक्षिक स्तरलाई विश्वस्तरमा चिनाउन, बालबालिकालाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिन विद्यालय सञ्चालनमा ल्याइएको हो । 

कसरी पढाइन्छ ?


अंकुरम एकेडेमीले कक्षागत रूपमा तीन भागमा वर्गीकरण गरेको छ । १ देखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीका लागि हरेक कक्षामा एक शिक्षकसहित अनिवार्य रूपमा सहायक शिक्षक र विद्यार्थीको हेरचाहका लागि एक सिस्टर हुनेछन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार १ देखि ५ कक्षासम्म २४ जना विद्यार्थी रहनेछन् । विद्यार्थीलाई गह्रौँ झोला बोक्न नपरोस् भन्ने उद्देश्यले कक्षाकोठामा प्रत्येक विद्यार्थीको लकर हुनेछ । उनीहरूलाई गृहकार्यबाहेक अन्य पाठ्यपुस्तक घर लैजान नपर्ने गरी व्यवस्था मिलाइएको छ । शुद्ध पिउने पानीसहित बिहानको नास्ता, खाना र खाजा पनि विद्यालयले नै उपलब्ध गराउनेछ । एकेडेमीको चमेनागृहमा थ्री स्टार होटेलका कुकहरू छन् । कक्षा सुरु हुनुभन्दा अघि विद्यार्थीलाई योग अभ्यास गराइनेछ । 

विद्यार्थीको अंग्रेजी भाषा राम्रो होस् भनेर नेपालसहित भारतका दक्ष शिक्षकको व्यवस्था गरेको अध्यक्ष चन्दले बताए । ‘सिंगापुरका विज्ञहरूबाट समेत शिक्षक–विद्यार्थीलाई प्रशिक्षण दिने व्यवस्था मिलाएका छौँ,’ उनले भने । ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई विज्ञान, गणित, सामाजिक, भाषा विषय पढाउन विद्यालयले सम्बन्धित विषयको लागि छुटै प्रयोगशालासहितको कक्षाकोठा व्यवस्था गरेको उनले बताए । दैनिक दुईवटा कक्षा अतिरिक्त विषयका हुनेछन् । जहाँ विद्यार्थीलाई पढाइबाहेक खेलकुद, साहित्य, नृत्यलगायतका गतिविधिमा सहभागी गराइनेछ ।  

११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीका लागि विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषय पढाउने योजना एकेडेमीको छ । विद्यार्थीलाई स्थलगत रूपमा नै सम्बन्धित ठाउँमा पुऱ्याएर वा सम्बन्धित विषयका विज्ञसँगको अन्तरक्रियाबाट पठनपाठन अघि बढाउने लक्ष्य रहेको अध्यक्ष चन्दले बताए । 

प्रविधिको उच्चतम प्रयोग 
विद्यार्थी विद्यालयसम्म ल्याउन र लैजान विद्यालयले एयरकन्डिसनसहितको बस सञ्चालन गरेको छ । जहाँ जिपिएस सिस्टम जडान गरिएको छ । अभिभावकले बस कहाँ आइपुगेको छ भन्ने कुरा मोबाइलबाटै हेर्न सक्ने अध्यक्ष चन्दको भनाइ छ । यस्तै विद्यार्थीको विद्युतीय हाजिरी हुनेछ जसको जानकारी सबै अभिभावकले मोबाइलबाटै पाउनेछन् । विद्यालयले भर्चुअल शिक्षालाई पनि प्राथमिकतामा राखेको छ । विशेषतः ११ कक्षाका विद्यार्थीका लागि विद्यालयले विदेशमा रहेका नेपालीसँग पनि छलफल गरेर अध्ययन–अध्यापन अघि बढाएको छ । 

अन्तर्राष्ट्रियस्तरका पूर्वाधार 

करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा रहेको विद्यालयमा एक लाख स्क्वायर फिटको सुविधासम्पन्न भवन छ । जहाँ ३९ वटा कक्षाकोठा छन् । यसबाहेक अतिरिक्त क्रियाकलापको लागि ६ वटा, विज्ञानसँग सम्बिन्धित विषयका लागि तीनवटा, कम्प्युटर ल्याबका लागि दुईवटा कोठा छन् । सबै कोठा वातानुकूलित रहेको विद्यालयको दाबी छ । विद्यालयले ओलम्पिक स्ट्यान्डरको स्विमिङ पुल, फुटसल तथा बास्केटबल कोर्ट र दुई सयजना अट्ने थिएटर हलसमेत बनाएको छ । 

विद्यार्थीको रुचिअनुसार पठनपाठन 
विद्यार्थी भर्ना भएलगत्तै उसको रुचिअनुसार शिक्षकले पढाउने व्यवस्था विद्यालयले मिलाएको छ । विशेषतः ११ कक्षा सुरु भएपछि र १२ कक्षा सकिएपछि विद्यार्थीको इच्छाअनुसार पढ्ने विषयमा विद्यालयले सहजीकरण गर्ने अध्यक्ष चन्द बताउँछन् । उनका अनुसार ११ कक्षा पढिसकेपछि मेडिकल पढ्ने चाहना भएकालाई सहजताका लागि मेडिकल अध्यापन गराउने परामर्श केन्द्र, इन्जिनियरिङ अध्ययनमा रुचि भएकालाई  इन्जिनियरिङ क्षेत्रकै परामर्श केन्द्र, व्यवस्थापन पढ्नेलाई बैंक र वित्तीय संस्थासँग, होटेल म्यानेजमेन्ट पढ्न रुचि भएकालाई  ठूला होटेलहरूसँग विद्यालयले सम्झौता गरेको उनले बताए । विद्यालयले रातोबंगला फाउन्डेसन, नेसनल एकेडेमी फर मेडिकल एजुकेसन (नेम), कारखाना, पिइए एसोसिएसन प्रालिलगायत संस्थासँग सम्बधनसमेत लिएको छ । 

शैक्षिक सत्रदेखिको मात्र शुल्क लिने 
सरकारले १ भदौदेखि शैक्षिक संस्था सुरु गर्न निर्देशन दिएको छ । सोहीअनुसार अंकुरम एकेडेमीले पनि भदौदेखि नै पठनपाठन सुरु गर्ने जनाएको छ । विद्यालयले शैक्षिक सत्र सुरु भएको दिनदेखिको मात्र शुल्क लिने निर्णय गरेको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए । हाल यस विद्यालयमा तीन सय २० जना विद्यार्थी छन् । ११ कक्षाको भर्नासमेत विद्यालयले सुरु गरेको छ ।