इनफ इज इनफ अभियन्ताको अनशनप्रति जनता समाजवादी पार्टी नेपालले ऐक्यबद्धता जनाएको छ । इनफ इज इनफ अभियन्ताहरूले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका १४ बुँदे माग राखी अनशन बस्दा पनि सरकारले बेवास्ता गरेको आरोप जसपाले लगाएको छ ।
जसपाले अनशनरत अभियन्ताहरूको स्वास्थ्यमा गम्भीर प्रकारका समास्याहरू देखिन थालेको भन्दै गम्भीर बन्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । जसपा कार्यकारिणी समितिको तर्फबाट प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा अस्पतालमा भर्ना भएका अभियन्ताहरूको निःशुल्क उपचार र अनशनरत अन्य अभियन्ताहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक उपचारको व्यवस्था गर्न माग गरिएको छ ।