१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २० मंगलबार १४:५४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

ग्राहक पर्खंदै मकवानपुरका पर्यटकीय क्षेत्रका होटेलहरू

Read Time : > 1 मिनेट
२०७७ श्रावण २० मंगलबार १४:५४:००

कोरोना प्रभावबीच १५ साउनदेखि मकवानपुरमा रहेका पर्यटकीय होटेलहरू सुचारु भए पनि ग्राहक न्यून हुँदा पूर्ण सञ्चालन हुन सकेको छैन । 

बजारका होटेलहरू आंशिक सञ्चालनसँगै न्यून कारोबार भइरहेको छ । तर, पर्यटकीय क्षेत्रमा भने ग्राहक नहुँदा होटेल खुले पनि कारोबार हुन नसकेको हो ।

देशकै पर्यटकीय गन्तव्यको रूपमा परिचित मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरका अधिकांश होटेल खुला भए पनि पर्यटकको आवागमन ठप्प हुँदा कारोबार शून्य रहेको व्यवसायीहरूको भनाइ छ । 

सरकारले १५ साउनदेखि होटेल खुला गर्न अनुमति दिए पनि पर्यटकको आवागमन नहुँदा हालसम्म कारोबार अघि बढ्न नसकेको थाहा नगर होटेल एसोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले बताए ।

‘सरकारले लकडाउन खुला गरेसँगै हामीले होटेल सुचारु गऱ्याैँ । तर, पाँच दिन बित्दा पनि ग्राहक आएका छैनन्,’ उनले भने, ‘थाहा नगरको मुख्य पर्यटकीय क्षेत्र दामन, चित्लाङ, मार्खु, बज्रबाराही र सिमभञ्ज्याङमा साना–ठूला गरी करिब एक सय होटेल छन् । चित्लाङमा होमस्टे, रिसोर्ट, गेस्टहाउस दामनमा भ्यूटावर र मार्खुमा इन्द्रसरोवर तालनजिक पर्यटन विकासका लागि ठूला होटेलहरू वर्षौंदेखि सञ्चालनरत छन् । तर, कोरोना महामारीका कारण आन्तरिक र बाह्य पर्यटकको संख्या शून्य हुँदा यहाँका सबै होटेल ग्राहकको प्रतीक्षामा मात्र छन् ।’

उत्तरी क्षेत्र थाहा नगर वर्षभर नै पर्यटकका लागि रोजाइको गन्तव्य हो । अझ गर्मीयाममा भारतदेखिका पर्यटकहरू गर्मी छल्न यहाँ आउने गरेका छन् । 

चिसो र रमणीय क्षेत्र भएका कारण गर्मीयाममा यहाँका होटेलहरूमा पर्यटक खचाखच हुन्थे । यस वर्ष काेरोना महामारीका कारण पर्यटक आवागमन नहुँदा होटेलहरू बन्द हुने अवस्थामा पुगेको व्यवसायीहरू बताउँछन् ।

नोक्सानबारे तथ्यांकगत विवरण नभए पनि यहाँका अधिकांश होटेल बन्द हुने अवस्थामा पुगेको एसोसिएसनका अध्यक्ष खत्रीको दाबी छ । 

उनका अनुसार यहाँ होटेलहरू खुला भए पनि दुई–तीनजना कर्मचारीलाई मात्र काममा फर्काइएको छ । ग्राहक नहुँदा साना होटेलहरूमा परिवारका सदस्यहरूले मात्र काम गरिरहेको खत्रीले बताए । 

बजार क्षेत्रका होटेलहरु खुला हुँदा स्थानीय ग्राहकका कारण कारोबार भइरहे पनि पर्यटकीय क्षेत्रमा पर्यटकको आवागमन ठप्प हुँदा पुनर्संचालनमा निकै कठिनाइ भइरहेको व्यवसायीहरू बताउँछन् ।