मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २० मंगलबार १४:०२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली भन्छन्– संकटका वेला आफ्नै दलका नेताहरू गैरजिम्मेवार भए, आफ्नो स्वार्थको पछाडि कुदे (भिडियाे)

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २० मंगलबार १४:०२:००

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संकटको वेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । 

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका हुन् । 

उनले आफ्नै पार्टीका नेताहरू मुलुकको संकटप्रति लापरबाही हुँदै जनताप्रति उदासीन हँदै आफ्नो स्वार्थका पछाडि कुदेको टिप्पणी गरे । 

सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका वेला पार्टीभित्रैबाट केन्द्रीय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन् । 

उनले भने, ‘केही मानिस, केही माध्यम र केही संस्थाहरूमा अत्यन्तै गैरजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन, मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेकाे छ । तर, मेरै पार्टीमा चार सय ५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कुरा आयाे, कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोच केही पनि छैन । तर बैठकचाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो त्यसबाहेक केही छैन । यो देश र जनताप्रतिको गम्भीर उदासीनता, लापरबाही, बेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृत्तिहरू निकै व्यापक रूपमा देखिन्छ ।’

उनले संकटको वेलामा केही सञ्चारमाध्यमहरूले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको पनि उनले बताए । 

उनले भने, ‘देश यस्तो संकटमा भएका वेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाए पनि विरोध गर्ने । कहिले क्वारेन्टाइनमा राख्यो भन्ने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन, भन्ने लकडाउन गऱ्याे भने किन गऱ्याे भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ।’ 

विज्ञहरूले समेत सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाइरहेको वेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरे । 

कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढीपहिरोपीडितको उद्धारका काममा अधिकारीहरू खटिरहेका उल्लेख गर्दै उनले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गरे । 

उनले भने, ‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरू सडकमा गएका छन् संक्रमित मान्छेहरूसँग उनीहरू डिल गर्नुपरेको छ । अनेक कामहरूमा उनीहरू छन् । त्यस्ता कामहरूबाट उनीहरू संक्रमितहरू भइराखेका छन् । ड्युटीको क्रममा संक्रमित भइरखेका छन् । रेस्क्यु गर्न जाँदा संक्रमित भएर आएका छन् । अहिलेको मौसम पानी परेको छ, बाढी आएको छ । सरकारले बाढी गएको पहिरो गएको ठाउँमा तत्काल सरकार थाहा पाउनेवित्तिकै जोखिमका साथ रेस्क्यु टिम सरकारको तर्फबाट गएको छ । अरूले पनि सहयोग गरेका छन् । तर, बाैद्धिक जगतको टिप्पणीहरू सुन्छु कहाँ छ सरकार ? काठमाडौंमा बसेर टेलिभिजनको पर्दा अगाडि क्यामरा अगाडि बसेर कहाँ छ सरकार भन्दा कता देखाउने ? त्यो रेस्क्यु गएको ठाउँमा हेर्नुपऱ्याे सरकार छ कि छैन । त्यहाँका जनतालाई सोध्नुपऱ्याे सरकार छ कि छैन । सरकारले जहिले पनि तदारुकताका साथ ज्यान जोखिममा राखेर सरकारी मान्छेहरू त्यहाँ खटेका छन् रेस्क्यु गरेको छ । राहत पुऱ्याएको छ ।’

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुऱ्याउनुपर्ने अहिलेको आवश्यकता भएको पनि बताए । संक्रमित सबै व्यक्तिहरूलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । 

उनले खुला सिमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी दोहोऱ्याए । 

पिसिआर परीक्षण बढाउन कांग्रेस सभापतिकाे आग्रह 

बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई परीक्षणको गति बढाउन आफूले सल्लाह दिएको बताए । 

क्वारेन्टाइनको उचित व्यवस्थापन गर्दै मास्न अनिवार्य गराउन पनि सरकारलाई आफूले भनेको उनले बताए । 

शतप्रतिशत पिसिआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरू अनशनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनशन तोडाउन आग्रह गरिएको बताए ।