मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २० मंगलबार ०८:३०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकामा प्रतिरोधी क्षमता बढाउन  स्वस्थ खानपान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २० मंगलबार ०८:३०:००

रोगबाट बचाउन शरीरमा हुने प्रतिरोधी क्षमताको महत्वपूर्ण भूमिका हुन्छ । प्रतिरक्षा प्रणालीले शरीरमा रहेका घातक कोषहरूलाई हटाउनुका साथै खाना, श्वासप्रश्वास वा अन्य माध्यमबाट शरीरमा प्रवेश गरेका जीवाणु र भाइरसको जोखिम कम गर्छ । कुनै पनि ब्याक्टेरिया, भाइरस वा जीवाणुले पुर्‍याउने हानि व्यक्तिको प्रतिरोधी क्षमतामा भर पर्छ । चिकित्सकहरूले कोभिड संक्रमणबाट बच्न बारम्बार हात धुन र प्रतिरोधी क्षमता बढाउन सल्लाह दिँदै आएका छन् । सामान्यतः दीर्घरोग र अन्य स्वास्थ्य अवस्थाका कारण प्रतिरोधी क्षमता कम भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ । त्यसमा पनि बालबालिकामा रोगसँग लड्ने क्षमता तुलनात्मक रूपमा कम हुन्छ । त्यसैले अभिभावकले उनीहरूको दैनिक खानपानमा ध्यान दिन आवश्यक छ । यहाँ केही प्रतिरोधी क्षमता बढाउने खानेकुराबारे चर्चा गरिएको छ: ः

अन्डा : अन्डामा भिटामिन र प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले खाजामा बच्चाहरूका लागि अन्डा उपयुक्त खाद्यपदार्थ हो । बच्चाको वृद्धि विकासका लागि आवश्यक भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट पाइने हुँदा प्रतिरोधी क्षमता बढाउन मद्दत गर्दछ । बिहानको नास्तामा नियमित रूपमा उसिनेको अन्डा बच्चालाई खुवाउन सकिन्छ । 

लसुन : लसुनमा पाइने एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुणले रगतमा सेता रक्तकोषको संख्या बढाउन मद्दत गरिरहेको हुन्छ । बच्चामा प्रतिरोधी क्षमतामा सुधार ल्याउन लसुन प्रभावकारी जडीबुटी मानिन्छ । खानामा नियमित लसुन प्रयोग गर्न सकिन्छ । तर, साना बच्चामा धेरै लसुन खुवाउँदा सजिलै पचाउन सक्ने सम्भावना कम हुने भएकाले मात्रा मिलाएर खुवाउन आवश्यक हुन्छ । 

बेसार : प्रतिरोधी क्षमता बलियो बनाइराख्न भान्सामा पाइने हर्बलहरूले पनि महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । बेसारमा एन्टिइन्फ्लेमेन्टरी, एन्टिसेप्टिक, एन्टिफंगल र जीवाणुविरोधी गुण पाइन्छन् । बेसारले शरीरमा एन्टिअक्सिडेन्ट बनाउन मद्दत गर्छ । बालबालिकालाई भाइरल इन्फेक्सनबाट बचाउन सुत्नुभन्दा अगाडि दूधमा बेसार राखेर खान दिनुपर्छ । 

मेथीको साग : मेथीको साग फोलिक एसिड र जिंकको राम्रो स्रोत मानिन्छ । यो साग बच्चाहरूको स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्टको मात्रा पाइने हुँदा प्रतिरोधी क्षमता विकासका लागि प्रभावकारी हुन्छ । संक्रमणबाट बचाउन खानामा मेथीको साग समावेश गर्नुपर्छ । 

दही : दहीले बच्चाको खानानलीलाई स्वस्थ राख्न मद्दत गर्छ । जसले गर्दा ग्यास्ट्रोइन्टेस्टाइनल संक्रमण कम हुन्छ । दहीमा पाइने प्रोबायोटिक्स वा स्वास्थ्यअनुकूल ब्याक्टेरियाहरूले संक्रामक रोगसँग लड्ने क्षमता विकास गर्न सघाउ पुर्‍याइरहेका हुन्छन् । वर्षायाममा हुने विभिन्न भाइरल संक्रमणबाट बच्न नियमित दही खुवाउनु उपयुक्त हुन्छ । 

नट्स : नट्स (बदाम, हाडे बदाम, पिस्ता, काजु, ओखर, छोकडा)लाई पोषक तत्वको भण्डार मानिन्छ । शरीर स्वस्थ र सुदृढ बनाउन नट्स उपयुक्त खाद्यपदार्थ हुन् । बच्चालाई नियमित मुठीभर नट्स वा सुक्खा फलफूल खुवाइराख्दा प्रतिरोधी क्षमता विकासमा मद्दत पुग्छ । तर, पाँच वर्षभन्दा मुनिका बच्चालाई धेरै नट्स एकैचोटि खान दिनु भने हुँदैन ।