मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १९ सोमबार २०:०१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

माइक्रोफाइनान्सको ज्यादती : बचत रकम फिर्ता माग्दा प्रहरी लगाएर पक्राउने धम्की

Read Time : > 1 मिनेट
२०७७ श्रावण १९ सोमबार २०:०१:००

दिक्तेल बजारमा सञ्चालित माइक्रोफाइनान्सका प्रबन्धकले बचत रकम फिर्ता माग्न गएका महिला समूहलाई उल्टै धम्क्याएर फर्काएको पाइएको छ । दिक्तेलस्थित पुरानो बेसक्याम्पमा रहेको एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शाखा प्रबन्धक भूपाल खड्काले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ स्थित लालुपाते महिला समूहमा आबद्ध सेवाग्राहीलाई उनीहरूले गरेको बचत रकम फिर्ता माग्दा प्रहरी लगाएर पक्राउने धम्की दिएको खुलेको छ । 

समूहमा आबद्ध सेवाग्राहीले १५ माघ ०७४ देखि १६ फागुन ०७६ सम्म नियमित बचत गर्दै आएका थिए । पछिल्लो समय लकडाउनका कारण बचत गर्न नसक्ने अवस्था भएपछि उनीहरू बचत रकम फिर्ता माग्न गएका थिए । सोही वेला शाखा प्रबन्धक खड्काले अभद्र व्यवहार गरेको समूहकी अध्यक्ष सुशीला विश्वकर्माले बताइन् । ‘हामीले जम्मा गरेको रकम फिर्ता मागेका हौँ,’ उनले भनिन्, ‘हाकिम सा’बले अहिले कुनै पनि हालतमा पाउँदैनौँ भन्नुभयो । आफ्नो पैसा किन पाउँदैनौँ भन्दा प्रहरी लगाएर पक्राउने धम्की दिनुभयो ।’ संस्थाका प्रबन्धक खड्काले गरेको अभद्र व्यवहारबारे नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई समेत जानकारी गराइएको समूहले जनाएको छ । मौखिक जानकारी गराएका उनीहरूलाई नगरप्रमुख र प्रहरी प्रशासनले छलफल गराएर समस्याको समाधान गर्ने आश्वसन दिएका छन् ।  

महिला समूहले सुरुमा मासिक दुई सय र पछिल्लो समयमा मासिक तीन सय रुपैयाँका दरले सो संस्थामा बचत गर्दै आएका थिए । समूहमा नौजना छन् । समूहका सदस्यहरूको प्रतिव्यक्ति दश हजारदेखि ३५ हजारसम्म सो संस्थामा बचत रहेको समूहका अध्यक्ष विश्वकर्माले जानकारी दिइन् । लकडाउनका कारण नियमित बचत गर्न नसकेपछि १६ साउनमा बैठक बसेर बचत रकम फिर्ता माग्ने निर्णय गरेको समूहका सदस्य शर्मिला विश्वकर्माले बताइन् । उनका अनुसार संस्थाले बचत गरेको रकमको आठ प्रतिशत मात्रै ब्याज दिन्छ, तर संस्थाबाट ऋण लिँदा १८ प्रतिशत ब्याज तिर्नुपर्छ । 

बचत फिर्ता नदिएको होइन, ऋणका विषयमा विवाद भएको हो : शाखा प्रबन्धक
शाखा प्रबन्धक खड्काले भने महिला समूहसँग बचत फिर्ताका विषयमा नभई ऋण मागेको विषयमा सामान्य विवाद भएको बताएका छन् । ‘बचत फिर्ता गर्न प्रक्रिया पूरा गरेर आउनुपर्छ,’ उनले भने, ‘उनीहरूले प्रक्रिया पूरा नगरी आएकाले सामान्य भनाभन भएको हो । उनीहरूले समूह नै खारेजीको माग गरेका छन् । उनीहरूकै मागअनुसार प्रक्रियासमेत थालिसकेका छौँ ।’

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पनि एनएमबी माइक्रोफाइनान्स र लालुपाते महिला समूहबीचमा देखिएको विवादबारे दुवै पक्षलाई बोलाएर छलफल गराउन डिएसपीलाई भनिसकेको बताए । ‘उनीहरूबीचमा के–कस्तो सम्झौता छ, डकुमेन्टेसन कस्तो छ,  त्यो अध्ययन गर्न बाँकी छ,’ उनले भने, ‘हामीले राखेको पैसा हामीलाई राख्न मन लागेन, झिक्नुपऱ्याे भनेपछि झिक्न पाउनुपर्ने हो ।’

लघुवित्तको विषयमा महिला समूहको तर्फबाट गुनासो आएकाले छलफल गर्ने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘जिल्लामा सञ्चालित वित्तीय संस्थाबारे धेरै गुनासा आएका छन्,’ उनले भने, ‘दीर्घकालीन समस्या समाधान गर्ने गरी नगरपालिकाको तर्फबाट नियमन गरिनेछ ।’  
दश स्थानीय तह रहेको खोटाङमा ११ वटा माइक्रोफाइनान्स सञ्चालनमा छन् । गाउँगाउँ पुगेर समूह गठन गर्दै लगानी गर्ने वित्तीय संस्थाले स्थानीय बासिन्दाबाट चर्को ब्याज असुल्ने गरेको गुनासो आएको छ ।