मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १९ सोमबार १८:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लमजुङमा तुइन चुँडिँदा  एक बेपत्ता, एक घाइते

Read Time : < 1 मिनेट
२०७७ श्रावण १९ सोमबार १८:५६:००

बजेट आयो, तर पुल बनेन

तुइनबाट दोर्दी खोला तर्न खोज्दा खसेर लमजुङको दोर्दी गाउँपालिकामा एकजना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन् । सोमबार दोर्दी–६ सिमीगाउँकी २५ वर्षीया फूलमाया गुरुङ दोर्दी खोलाको तुइन चुँडिएर खोलामा खसेकी हुन् ।

उनी खोलामा बगेको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर ओमप्रकाश पुनले बताए । फूलमायासँगै तुइनबाट खोलामा खसेका दोर्दी–६ कीर्तिपुरका १७ वर्षीय विकास घले घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरू सोमबार बिहान करिब १० बजे दोर्दी–७ स्थित जलकन्या मन्दिरमा पूजा गर्न जाने क्रममा तुइन चुँडिएको हो । खोलामा बेपत्ता भएकी फूलमायाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

स्थानीय बासिन्दा धर्म गुरुङका अनुसार तुइन भएको ठाउँबाट झोलुंगेपुल एक घन्टा पैदल दूरीमा पर्छ । जसले गर्दा स्थानीय बासिन्दा तुइनबाटै आवतजावत गर्दै आएका छन् । दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेका अनुसार दोर्दी–६ कर्तीबेसी र ७ माझखर्कका बासिन्दाले तीन वर्षअघि दोर्दी खोलामा तुइन राखेका हुन् । ‘एक घन्टा हिँड्नुको साटो दुई मिनेटमै खोला पार गर्न सकिने भएकाले स्थानीयवासी आवतजावत गर्दै आएका छन्,’ उपाध्यक्ष घलेले भने । हिउँदमा भने पानी कम हुने भएकाले खोलाबाटै ओहोरदोहोर हुने गरेको उनले बताए । 

तुइन हटाएर दोर्दी–६ मा झोलुंगेपुल निर्माण गर्न गण्डकी प्रदेश सरकारले गत वर्ष नै ५८ लाख बजेट निकासा गरेको थियो । तर, कोरोना महामारीका कारण पुल निर्माण गर्न नसकिएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए । 

पुल निर्माणका लागि गाउँपालिकाले गत मंसिरमा तुइन हटाएको बताउँदै अध्यक्ष गुरुङले भने, ‘हामीले तुइन हटाएका थियौँ, तर स्थानीय बासिन्दाले नाइलनको डोरीबाट तुइन बनाएका थिए । त्यही चुँडिएर दुर्घटना भयो ।’ अब छिटै पुल निर्माण गरिने उनको भनाइ छ ।