प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सोमबारको वार्ता तिक्ततामा टुंगिएको प्रस्ट संकेत गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेवाङसहित प्रचण्डसँगको कुराकानी टुंगिएलगत्तै निजी निवास बालकोट निरीक्षणमा पुगेका ओलीले छलफल तिक्ततामा टुंगिएको प्रस्ट संकेत गरेका हुन् ।
छलफललगत्तै श्रीमती राधिका शाक्यसहित बालकोट पुगेका ओलीले निजी निवासमा आफ्नै नाममा निर्माणाधीन संग्रहालयस्वरूपको पुस्तकालयको निरीक्षण गरेका थिए । केहीबेरको निरीक्षणपछि उनले निवासमा बस्दै आएका पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा, पूर्वउद्योगमन्त्री तथा भक्तपुरका सांसद महेश बस्नेत, जिल्लास्थित प्रशासन प्रमुख र सुरक्षा अंगका प्रमुखहरूसँग केहीबेर कुराकानीसमेत गरेका थिए ।
आधा घन्टा ठट्यौली पाराले अनौपचारिक कुराकानी गरेका ओलीले बालकोटस्थित निजी निवासमा करिब एक घन्टा बिताए । यसअघि गत माघको श्रीपञ्चमीका दिन पनि निवास निरीक्षणका लागि उनी बालकोट पुगेका थिए । प्रधानमन्त्रीको आकस्मिक आगमनको जानकारीपछि बनेपा रहेका पूर्वमन्त्री बाँस्कोटा र निर्वाचन क्षेत्रको विकास निर्माणसँग जोडिएको काममा व्यस्त रहेका बस्नेत तत्काल बालकोट पुगेका थिए ।
निवासमा पूर्वमन्त्री बाँस्कोटाले अर्का अध्यक्ष प्रचण्डसँगको छलफलबारे जिज्ञाशा राखेलगत्तै ओलीले केहीबेर ठट्यौली पारामा जवाफ फर्काएका थिए । ‘आज छलफल थियो क्यार कस्तो भयो ?’ बाँस्कोटाको पहिलो प्रश्नको ओलीले ठट्यौली पारामै जवाफ दिएका थिए । ‘जेरी खाएर टुंग्याउने भनेर छलफलमा बसेको त हो, जेरीचाहिँ खाइयो, तर गुलियो मुखमा अलि तितो कुरा होलाजस्तो भएपछि गुलियो मुखमा तीतो कुरा नगरौँ भनेर आजलाई छोट्यायौँ, तर भोलि फेरि बस्ने कुरा छ,’ ओलीको यस्तो जवाफपछि बाँस्कोटाले तितेकरेला खाएर बसेपछिचाहिँ कुरा मिल्छ कि भन्दै ठट्टा गरेका थिए ।
बाँस्कोटाको दोस्रो जिज्ञाशा पनि प्रधानमन्त्री ओलीले रमाइलै शैलीमा फर्काए । ‘अँ, भोलिचाहिँ तितेकरेला खानुपर्ला, मुख पनि मिठो हुन्छ, कुरा पनि मिल्ला कि, भोलि (मंगलबार) चाहिँ तितेकरेला बनाऊ है बुझेऊ (श्रीमती राधिकातिर इशारा गर्दै) ।’
सांसद बस्नेतले बाहिर छलफलबारे नकारात्मक प्रचार भए पनि ओलीले अर्का अध्यक्ष प्रचण्डसँगको छलफल सौहार्दपूर्ण रूपमै चलिरहेको जानकारी गराएको बताए । ‘उहाँले पार्टीभित्रको एकता प्रक्रियामा ढिलाइ भएकाले कार्यकर्तापंक्तिमा निराशा छाएको छ, अब छिट्टै टुंग्याउनुपर्छ, समृद्धिको काममा पनि ढिलासुस्ती भएको छ, तीव्रता दिनुपर्छ भन्ने कुरा राख्नुभो,’ बस्नेतले नयाँ पत्रिकासँग भने, ‘बाहिर जुन ढंगले प्रचार भएको छ, त्यस्तो होइन । हामीले सौहार्दपूर्ण वातावरणमा जेरी खाँदै छलफल गरिरहेका छौँ भन्ने जानकारी गराउनुभएको छ ।’
प्रधानमन्त्री ओलीले सांसद बस्नेतसहित सुरक्षा अंगका प्रमुखहरूसँग भक्तपुरको सुरक्षा, हनुमन्ते कोरिडोरको निर्माण प्रक्रियासहित जिल्लाको समग्र विकास निर्माण प्रक्रिया, कोभिड–१९ को जोखिम र रोकथामका लागि जनप्रतिनिधि र प्रशासनले खेलिरहेको भूमिकालगायतका विषयमा केन्द्रित रहेर जिज्ञाशा राखेका थिए ।
‘सिडिओ, एसपीसँग पनि अनौपचारिक शैलीमा फ्रेन्डली कुरा गर्नुभो, दुवैजना महिलाले नेतृत्व गरिरहनुभएको छ, अझ राम्रो काम गर्नुस् भनेर उत्साहित बनाउने प्रयास पनि गर्नुभो,’ बस्नेतले भने ।
प्रधानमन्त्रीपत्नीको नियमित रेखदेखमा पुस्तकालय निर्माण
प्रधानमन्त्री ओलीले आफ्नो नाममा रहेको सम्पत्ति ट्रस्टअन्तर्गत रहने गरी राज्यलाई सुम्पिएका छन् । राज्यलाई सम्पत्ति दिने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओलीको निजी खर्चमा बालकोटस्थित निवास कम्पाउन्डमा रहेको दुई घरमध्ये दक्षिणतिरको अढाईतले दोस्रो घरलाई संग्रहालयको स्वरूप हुने गरी पुस्तकालय बनाउने काम चलिरहेको छ ।
सांसद बस्नेतका अनुसार पुस्तकालय निर्माणसम्बन्धी कामको रेखदेखका लागि प्रधानमन्त्री पत्नी राधिका वेलावेला निजी निवास बालकोट पुग्ने गरेकी छिन् ।
‘लाइब्रेरी निर्माणको रेखदेखका लागि प्रधानमन्त्रीज्यूको म्याडम वेलावेला आउने गर्नुहुन्छ, कहाँ ऱ्याक राख्ने, के गर्ने निर्देशन दिने, निरीक्षण गर्ने गर्नुहुन्छ,’ बस्नेतले भने, ‘पुस्तकालयलाई संग्रहालयकै स्वरूप दिनेगरी विभिन्न सन्दर्भमा प्राप्त उपहार, ऐतिहासिक दस्ताबेज, संकलित पुस्तकहरू, प्रधानमन्त्री आफैँले लेखेका पुस्तकहरू सबै समेटेर मिलाउने काम पनि चलिरहेको छ ।’
प्रधानमन्त्री ओली केहीबेर करेसाबारीतिर पनि टहलिएका थिए । फर्किने क्रममा पूर्वमन्त्री बाँस्कोटाले एउटा जिज्ञाशा राखे– अब कहिले फर्किनुहुन्छ ? प्रधानमन्त्रीको संक्षिप्त जवाफ उद्धृत गर्दै उनी निकट एक नेताले भने– अब अढाई वर्षपछि हुन सक्छ ।