१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १९ सोमबार १८:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवि पदाधिकारीका कार्यकक्षका लगाएकाे ताला प्रहरीले फोड्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १९ सोमबार १८:१०:००

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा लागेका तीन–तीनवटा ताला प्रहरीले फोडेको छ । नेविसंघको विश्वविद्यालय क्याम्पस इकाइ, प्रजातन्त्रवादी प्राध्यापक संघ र लोकतान्त्रिक समाजवादी प्राध्यापक संघले लगाएको ताला सोमबार प्रहरीले फोडेर कार्यकक्षा खुलाएको हो । 

त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसालले उच्च अदालत पाटनको आदेशअनुसार प्रशासनले ताला खोलेको बताए । सेवाग्राहीले अदालतमा मुद्दा हालेको र ताला खोल्न आदेश आएपछि जिल्ला प्रशासनले प्रहरी लगाएर ताला फोरेको उनले बताए । त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकक्षमा नेविसंघले १५ दिनअघि, प्रजातन्त्रवादी प्राध्यापक संघले दुई हप्ताअघि र समाजवादी प्राध्यापक संघले एक हप्ताअघि ताला लगाएका थिए । 

रेक्टर भुसालले तालाबन्दी गर्नेहरूलाई भागबन्डाको कुनै आश्वासन नदिइएको बताए । उनले भने, ‘हिजोजस्तो भागबन्डा हुँदैन, राम्रो व्यक्तिलाई नियुक्ति दिन्छौँ ।’

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले त्रिविका उपकुलपतिलाई बुझाएको ३३ बुँदे मागको बेवास्ता गरेको भन्दै उपकुलपति, रेक्टर, रजिष्ट्रार र सेवा आयोगको कार्यकक्षमा ताला लगाएको थियो । त्रिविका पदाधिकारीहरू जायज माग राख्दा पनि वार्ता नगरी पन्छिन खोजेको प्राध्यापकहरूको आरोप छ । उनीहरूले अनिश्चितकालका लागि तालाबन्दी गरेका थिए । 

आन्दोलनका नयाँ कार्यक्रम ल्याउँछौँ : अध्यक्ष तिमिल्सिना
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका अध्यक्ष जगत सिमिल्सिनाले आफूहरूले भागबन्डाको माग नराखी समग्र विश्वविद्यालयको पुनर्संरचनाका लागि आन्दोलन गरेकाले निरन्तर संघर्ष गर्ने बताए । उनले भने, ‘हाम्रो आन्दोलन प्राज्ञिक सुशासनका लागि हो, विश्वविद्यालयमा परिवर्तनका लागि हाम्रो संघर्ष जारी छ । ताला फोडे पनि अब बैठक बसेर नयाँ कार्यक्रम ल्याउँछौँ ।’ 

वरिष्ठता र ज्येष्ठताका आधारमा पारदर्शी ढंगले योग्य व्यक्ति नियुक्ति गर्ने मापदण्ड बनाउने र सक्षम व्यक्तिको नेतृत्वमा प्रशासनिक र प्राज्ञिक काम हुँदा विश्वविद्यालयले गति लिन सक्ने भएकाले आफूहरूले आन्दोलन गरेको उनले बताए । वैचारिक आधारमा नियुक्त भएका व्यक्ति संस्थाप्रतिभन्दा नियुक्त गर्नेप्रति जिम्मेवार हुँदा विश्वविद्यालयको विकास हुन नसकेको उनको भनाइ छ ।