Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ श्रावण १९ सोमबार ११:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाजरकोट पहिरो : प्रभावित क्षेत्रमा झन्डै एक महिनापछि खाद्यान्न पुग्यो, विस्थापितसँग खरिद गर्ने पैसा छैन

Read Time : > 1 मिनेट
२०७७ श्रावण १९ सोमबार ११:५०:००

२५ असारमा आएको पहिरोमा परी १४ जनाको मृत्यु भएको घटनापछि ठूलो संख्यामा स्थानीय विस्थापित भए । 

एक हजार दुई सयभन्दा बढी विस्थापित भएको बारेकोट गाउँपालिकामा बल्ल खाद्यान्न आपूर्ति गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बारेकोटको घाट र काउली डिपोमा खाद्यान्न आपूर्ति गरेको हो । 

तीन सय क्विन्टल चामल पहिरो चरणमा ढुवानी गरिएको र अन्य खाद्यान्न ढुवानी गर्ने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । 

पहिरो प्रभावितलाई खाद्यान्न अभाव भएको गुनासो आएपछि संघीय सरकारको सक्रियतामा त्यहाँ खाद्यान्न पुऱ्याएको प्रजिअ पन्तले बताए । 

बारेकोटमा ५५ घर पूर्ण रूपमा भत्किएका छन् भने एक हजार दुई सय स्थानीयवासी विस्थापित भई विद्यालय, खुला चौरमा त्रिपाल टाँगेर बसेका छन् ।

६ महिना मात्र आफ्नै उत्पादनले खान पुग्ने बारेकोट गाउँपालिकामा बाँकी समय आयातीत खाद्यान्नमा भर पर्नुपर्ने अवस्था छ । 

पटक–पटक प्राकृतिक विपत्तिको मारमा परेको बारेकोट गाउँपालिकामा पीर, वेदना थामिनसक्नु भएको स्थानीय तीर्थराज बोहराले बताए । 

अघिल्लो वर्ष असिनाले गहुँको बिउसम्म बाँकी नरहेको बारेकोटमा यसपटक पहिरोले अधिकांश ठाउँमा छियाछिया परेको उनले बताए । 

भूगर्भविदमार्फत अहिले बस्ती रहेका ठाउँमा बस्न योग्य छ कि छैन भनेर जाँच गर्ने र ठीक ठहरिएमा मात्र त्यहाँ बस्ती बसाउने कार्य हुने प्रजिअ पन्तले बताए । 

विस्थापित परिवार र भत्किएका घरको विवरण संकलन लगभग पूरा भएको उल्लेख गर्दै प्रजिअ पन्तले ती नाम गृह मन्त्रालयमा सिफारिस गरेर नयाँ घर निर्माणको काम सुरु हुने बताए । 

खाद्यान्न पुगेपछि खरिद गर्ने पैसा छैन
बाढीपहिरोबाट विस्थापितले पैसा नभएका कारण खाद्यान्न खरिद गर्न नसकिएको बताएका छन् । 

बारेकोट गाउँपालिका– ४ सार्कीटोलका सबै आफन्त गुमाएका तुले सार्की अहिले पालमा छन् । 

उनलाई राहतका नाममा दिइएको दुई किलो चामल उहिले नै सकियाे । उनी अहिले छिमेकीसँग पैँचो मागेर जीवन धानिरहेका छन् । 

उनीजस्तै अर्का रामबहादुर सार्कीको १३ जनाको परिवारलाई प्रतिव्यक्ति दुई किलो चामल, प्रतिपरिवार चार प्याकेट बिस्कुट, एउटा कम्बल र त्रिपाल उपलब्ध गराएको थियो । 

सो खाद्यान्न हप्ता दिन नपुग्दै सकिएको रामले बताए । 

लकडाउनका कारण बाहिर काम गर्न जान नपाएका स्थानीयहरू पैसा नहुँदा खाद्यान्न पुगे पनि खरिद गर्न सक्ने अवस्थामा छैनन् । 

स्थानीय भीम सार्कीले चामल आइपुगेको भए पनि आफूहरूसँग पैसा नभएका कारण किन्न नसकेको बताए । 

उनले आम्दानीको स्रोत नभएकाले आधा पेट मात्र खाएर प्राण धानिरहेको बताए । 

पहिरोबाट विस्थापित भएका अधिकांशको हालत यस्तै छ । 

चामल बिक्रीका लागि आएको भए पनि खरिद गर्ने पैसा नभएकाले राहतस्वरूप चामल दिनुपर्ने पहिरोपीडितहरूले माग गरेका छन् ।