मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १९ सोमबार ११:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरो क्षेत्रमा जोखिम मोलेरै बस्दै छन् मध्यनेपालका पहिरोपीडित

Read Time : > 1 मिनेट
२०७७ श्रावण १९ सोमबार ११:०२:००

लमजुङको मध्यनेपाल नगरपालिकाका पहिरोपीडित जोखिम  क्षेत्रमा बस्दै आएका छन् । बाढी र पहिरोको उच्च जोखिममा परेको मध्यनेपाल नगरपालिकाको रानीपानी, भदौरे, गुम्बाबेसी, लामासोती, रातामाटे, सूर्यपाल, पराजुलीटार, खवासगाउँ  र  चर्दीका एक सय नाै घरका स्थानीय अहिले पनि उक्त जोखिम क्षेत्रमा नै बस्दै आएका छन् ।

अन्यत्र सर्ने जग्गा जमिन नभएपछि बाढीपहिरो क्षेत्रमा नै उनीहरू बस्न बाध्य भएका हुन् ।  मध्यनेपाल ६ रानीपानीकी प्रमिला परियारले भनिन्, ‘अन्यत्र कतै जाने ठाउँ छैन, यहीँ नबसेर के गर्नु,’ उनी भन्छिन्, ‘डराई–डराई भए पनि पहिरोले भत्किएको घरमा बसेकी छु ।’

यस्तै, रानीपानीकै ७८ वर्षीया विष्णु परियार पनि पहिरोमा परी घाइते भएकी छिन् । उनी सामान्य उपचारपछि अहिले आफन्तकोमा बस्दै आएकी छिन् । उनी भन्छिन्, ‘सुरक्षित ठाउँमा बस्नलाई सानो टहरा बनाइदिए पनि गाँसको व्यवस्था  त अरूको काम गरेर भए पनि निर्वाह गर्ने थिएँ ।’ 

उनी मात्र होइन, विस्थापित परिवार यतिवेला पहिरोले भत्किएको घरमा र आफन्तकोमा बस्दै आएका छन् ।  पहिरोले रानीपानीका ३१ घरमा क्षति पुऱ्याएको थियो ।  मध्यनेपाल ६ लामासोतीका मेखबहादुर कुँवरले अन्यत्र कतै जग्गा नभएपछि पहिरोले भत्किएको घरमै बस्नुपरेको गुनासो गरे ।

मध्यनेपाल नगरपालिकाका रानीपानी, भदौरे, गुम्बाबेसी, लामासोती, रातामाटे, सूर्यपाल,  पराजुलीटार, खवासगाउँ  र  चर्दीका स्थानीय पहिरोमुनि नै बस्नुपरेको चर्दीका रामकुमार श्रेष्ठ बताउँछन् ।

लमजुङको मध्यनेपाल नगरपालिकामा असार २८ गते आएको बाढीले एक सय नौ घर विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले पहिरोले मध्यनेपाल– ६ रानीपानीमा ३१ घर, लामासोतीमा २७, मध्यनेपाल– ९ रातामाटेमा २१ घर, मध्यनेपाल– ६ भदौरेको ११ घर, गुम्बाबेसीमा नौ घर, मध्यनेपाल– ३ सूर्यपालमा पाँच घर, मध्यनेपाल– २ पराजुलीटारमा तीन घर, मध्यनेपाल– १ खवासगाउँ र मध्यनेपाल– ४ चर्दीमा एक–एक घर गरी एक सय नौ घर विस्थापित भएको बताए । 

असार २८ गते आएको बाढीले गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको नगरप्रमुख रमेशकुमार पाण्डले बताए । उनले भने, ‘पहिरोपीडितका लागि गण्डकी प्रदेश सरकारसँग समन्वय गरेर घर बनाउनेछौँ, यसका लागि जग्गा खोजी गरिरहेको छु ।’