मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १९ सोमबार ०८:१६:००
Read Time : > 2 मिनेट
सम्पादकीय

महानगरमा भ्रष्टाचारको महामारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १९ सोमबार ०८:१६:००

काठमाडौं कसरी नगरबाट महानगर भयो भन्ने कुनै खास मापदण्ड छैन । जब नगरपालिकाबाट यसको महानगरमा उन्नति भयो, त्यसवेलादेखि यसले महानगर हुनुको गौरव आमनगरवासीलाई दिन सकेको कहिल्यै देखिएन । सार्कजस्ता विदेशीहरू मिसिने सभा–समारोह, ठूला देशका विशिष्ट अतिथिको आगमन र खेलकुदजस्ता पर्वमा काठमाडौं केही दिन चम्किन्छ । बाँकी दिन भने यसले गुनासा र आक्रोशको भारी खेपिरहन्छ । तीन वर्षपहिले महानगरको निर्वाचन हुँदै गर्दा अहिलेका मेयर उमेद्वारका रूपमा नगरवासीलाई ठुल्ठूला सपना बाँड्दै थिए । नेपाललाई रेल सवारीको भूत चढेको समय थियो । उनले पनि काठमाडांैमा मेट्रो र मोनोरेलको सपना बेचे । 

महानगर फजुल खर्च गर्न, प्रतिनिधि र कर्मचारीलाई पोस्न र रमाउनमै भुल्यो । सामान्य आर्थिक अनुशासन मिचेर मनपरी खर्च गर्ने, तर विकास बजेट खर्च गर्न नसक्ने महानगरले भएका सार्वजनिक क्षेत्र कसरी विनाश गर्दै छ भन्ने त टुँडीखेल र पुरानो बसपार्कको हविगतले प्रस्ट पारेकै छ ।

तीन वर्षमा उनका ती सपनाले आत्महत्या गरेको दयालाग्दो दृश्य काठमाडौंका चोकचोकमा प्रदर्शित छन् । उनले आफ्नो महानगरमा उपलब्ध स्रोत–साधनको परिचालन गरी केही महत्वपूर्ण काम गर्न सक्थे, जसले महानगरलाई गतिशील र जीवन्त बनाउन सक्थ्यो । उनले टोलटोल र गल्लीमा सार्वजनिक शौचालय बनाउन सक्थे । साना–साना खुला या सार्वजनिक ठाउँलाई पार्क बनाएर मान्छेलाई सुस्ताउने, खुसी हुने ठाउँ बनाउन सक्थे । यस्ता पार्क भिडभाडभित्र एक्लिँदै गएका नागरिकका लागि महत्वपूर्ण हुन्छन्, साथै बालबालिका र वृद्धवृद्धाका लागि मुक्त रूपमा सास लिने र खेल्ने ठाउँ पनि हुन् । मुख्य ठाउँमा प्रेक्षालय निर्माण गरेर नाटक प्रदर्शनलाई प्रोत्साहन गर्न सक्थे । निकै थोरै लगानीमा साहित्य र कलाका बहस तथा प्रदर्शनीका लागि डबली बनाउन सक्थे । 

टोलटोलमा पुस्तकालय बनाउन त सजिलै थियो, जहाँबाट मानिसहरू ज्ञानको भोक मेट्न सक्थे, आलोचनात्मक चेतनासहितका नागरिक तयार होऊन् भन्नेले पुस्तकालय स्थापना गर्छन्, ताकि पछि आउने नेतृत्वले समेत महानगरलाई निजी ऐसआराम गर्ने सामन्ती चिन्तनबाट मुक्त गर्न सहयोग गथ्र्यो । उनले टोलटोलमा रहेका पुराना धारा, पाटीपौवा र सार्वजनिक संरचनालाई राम्रोसँग संरक्षण गर्न सक्थे । काठमाडौंका परम्परागत बस्ती अर्थात् भित्री सहरमा भएका देव–देवल र चोक–डबलीलाई जीवन्त बनाउन सक्थे । र, महानगरको दीर्घरोगका रूपमा रहेको फोहोर व्यवस्थापनलाई उनले व्यवस्थित गर्न सक्थे । निजी क्षेत्रले फोहोर व्यवस्थापनमा रुचि देखाएको बीसौँ वर्ष हुँदा पनि कमिसनको चक्करमा त्यसले अवसर पाएको छैन । अहिले व्यवस्थापन भइरहेको ल्यान्डफिल साइटको अवधि सकिँदै छ । महानगरले विकल्प खोजेको छैन । फोहोर व्यवस्थापन नगरजीवनको महत्वपूर्ण पाटो हो । यसले सहरको सौन्दर्य र स्वास्थ्य दुवै दृष्टिले अर्थ राख्छ । तर, महानगरले यी काम गरेन । 

केही निकै थोरै काम भएका पनि होलान्, तर तिनले नगरवासीका अपेक्षा सम्बोधन गर्न सकेनन् । तर, महानगर फजुल खर्च गर्न, प्रतिनिधि र कर्मचारीलाई पोस्न र रमाउनमै भुल्यो । सामान्य आर्थिक अनुशासन मिचेर मनपरी खर्च गर्ने, तर विकास बजेट खर्च गर्न नसक्ने महानगरले भएका सार्वजनिक क्षेत्र कसरी विनाश गर्दै छ भन्ने त टुँडीखेल र पुरानो वसपार्कको अहिलेको हविगतले प्रस्ट पारेकै छ । स्रोत जे–जति छ, त्यसले अरू विकासे क्षेत्रमा चाहिँं तोकेका कार्ययोजना पूरा नगर्ने, तर साधारण खर्चतिर मनपरी खर्च बढाउने गजबको संस्कृतिले महानगरलाई बरबाद पारेको छ, बदनाम गराएको छ । आफ्ना मतदाता मात्र होइन, देशभरका काठमाडौंमा आकर्षित नागरिक, विदेशबाट आउने पाहुना सबैका लागि खुसी बाँड्न तयार हुनुपर्ने काठमाडौं महानगरले आफ्नो मात्र होइन, देशको इज्जत पनि फालिरहेको छ । आशा गरौँ, यस्तो बरबादीबाट महानगरवासीले छिटै मुक्ति पाउनेछन् ।