१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
छिउ कुओहोङ्
२०७७ श्रावण १९ सोमबार १०:३१:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीन-नेपाल रेलमार्गको सपना साकार हुँदै छ

छिङ्हाई-तिब्बत रेलमार्ग काठमाडौंबाट झन्-झन् नजिक पुग्दै छ, चीन-नेपाल रेलमार्गको मेरो सपना साकार हुँदै छ, अब त्यो सपना, सपना मात्र रहनेछैन 

Read Time : > 5 मिनेट
छिउ कुओहोङ्
२०७७ श्रावण १९ सोमबार १०:३१:००

मैले कूटनीतिक क्षेत्रमा करिब ४० वर्ष काम गरेँ । विभिन्न देशमा अवस्थित चिनियाँ राजदूतावासमा बसेर मैले काम गरेको अवधि पनि २३ वर्षभन्दा बढी छ । त्यसमध्ये नेपालमा चीनको असाधारण तथा शक्तिसम्पन्न राजदूतका रूपमा सन् २००८ नोभेम्बरदेखि २०१० अप्रिलसम्म करिब दुई वर्ष काम गरेको थिएँ, यो मेरो विदेश बसाइमध्ये सबैभन्दा छोटो कार्यावधि भए पनि यसले मेरो सम्पूर्ण कूटनीतिक सेवामा मलाई सबैभन्दा गहिरो छाप छोडेको छ । र, मेरा लागि सबैभन्दा अविस्मरणीय अनुभव बनेर रहेको छ ।

धेरैजना साथीहरू मलाई सोध्ने गर्छन्, ‘नेपाल विश्वको सबैभन्दा कम विकसित देशमध्ये एक हो, त्यहाँ लामो समयदेखि राजनीतिक अस्थिरता छ, तैपनि तपाईंलाई नेपाल किन त्यस्तो मन पर्छ ?’ अनि म यसरी जवाफ फर्काउने गर्थें, ‘नेपालबारे सोच्दा अहिलेको अवस्थाबारे मात्र सोच्नु हुन्न । ऐतिहासिक र भविष्यमा हुने विकासका दृष्टिकोणबाट पनि सोचिनुपर्छ । ऐतिहासिक पक्षबाट सोच्ने हो भने नेपाल हामी सबैले सम्मान गर्नुपर्ने एउटा देश हो । नेपालको लिखित इतिहास १७०० वर्षभन्दा लामो छ र इतिहासमा यो धेरैपटक गौरवशाली र बलियो देशका रूपमा रहेको थियो । नेपालले धेरैपटक विदेशी आक्रमणको सामना गर्नुपरे पनि कहिल्यै परास्त भएन । भविष्यमा हुने विकासका दृष्टिकोणबाट विचार गर्ने हो भने नेपालमा विकासका सम्भावना प्रशस्त छन् ।

नेपाल विश्वकै एक मात्र ‘विश्वको छाना’ र उष्ण हावापानी दुवै भएको देश हो । यसको चौडाइ २०० किलोमिटरभन्दा कम छ, तर यहाँ पर्यटन विकासका स्रोतसाधन अति धेरै छन् । यो विश्वकै सबैभन्दा आकर्षक पर्यटकीय स्थल हो । नेपाल, चीनको मूलभूमि र दक्षिण एसियाको उपमहाद्वीप जोडिने ठाउँमा छ । यदि चीनको रेलमार्ग र भारतको रेलमार्ग भविष्यमा जोड्न सकियो भने नेपाल, चीनलाई दक्षिण एसियाली उपमहाद्वीपसँग जोड्ने महत्वपूर्ण ट्रान्जिट बिन्दु बन्न सक्छ । लगानीकर्ताहरू अवश्य प्रतिस्पर्धा गर्दै आउनेछन् र नेपालको उच्च गुणस्तरको द्रुतगतिको विकासलाई सम्भव बनाउनेछन् । नेपालजस्तो परिश्रमी जनता भएको, ऐतिहासिक सांस्कृतिक सम्पदा भएको देशको अहिलेको अविकसित अवस्था क्षणिक मात्र हो भन्ने मेरो निष्कर्ष छ । त्यहाँ राजनीतिक अस्थिरता अन्त्य भई स्थिरता आयो भने अवश्य पनि छिटै समृद्धि आउनेछ ।

विभिन्न निकायमा पुगी परिस्थितिबारे जानकारी लिने र परियोजनालाई अगाडि बढाउन प्रयास गर्न खोज्ने क्रममा मलाई लाग्थ्यो, चीन–नेपाल रेलमार्गको सपना साकार बनाउन धेरै कठिन छ । त्यसका लागि कम्तीमा चारवटा ठूला कठिनाइ किनारा लगाउन सक्नुपर्छ ।

मैले नेपालमा काम गर्दाताकाका धेरै अविस्मरणीय घटना छन् । तीमध्ये सबैभन्दा गहिरो छाप पारेको विषय नेपाली जनताको चीन–नेपाल जोड्ने रेलमार्गको सपना थियो । मैले भेटघाट गर्ने सौभाग्य पाएका नेपाली राष्ट्रपति रामवरण यादव, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल तीनजना प्रधानमन्त्री तथा अन्य सरकारी पदाधिकारी र राजनीतिक पार्टीका नेताहरू सबैले मसँग चीन–नेपाल रेलमार्ग निर्माण गर्ने सम्भावनाबारे वार्तालाप गर्नुभएको थियो । एकपटक म नेपालको दुर्गम क्षेत्रमा रहेको एउटा ग्रामीण विद्यालयलाई शैक्षिक सामग्री वितरण गर्न गएको थिएँ, त्यसवेला स्थानीय ग्रामीण जनताका प्रतिनिधिले पनि भाषण गर्दा चीन–नेपाल रेलमार्गको प्रसंग झिक्नुभयो । त्यो कुराले मेरो मनमा गहिरो छाप परेको थियो । नेपाली जनताको चीन–नेपाल रेलमार्ग निर्माणप्रतिको लगावले मलाई गहिरो प्रभाव पार्‍यो र मैले चीन–नेपाल रेलमार्गको सपना देख्न थालेँ । त्यसले मलाई यसबारे गहन अनुसन्धान गरी ठोस रूपमा अगाडि बढ्न प्रेरित गर्‍यो ।

चीन र नेपाल दुई देशलाई रेलमार्गद्वारा जोड्ने परिकल्पना पहिलोपटक प्रस्तुत गर्ने व्यक्ति चिनियाँ जनताका महान् नेता अध्यक्ष माओत्सेतुङ हुनुहुन्थ्यो । सन् १९७३ डिसेम्बरमा नेपालका राजा वीरेन्द्रले चीनको भ्रमण गर्नुहुँदा अध्यक्ष माओत्सेतुङले भेटवार्ताका क्रममा छिङ्हाई तिब्बत रेलमार्गबारे कुरा गर्नुभएको थियो । र, कुनै न कुनै दिन छिङ्हाई–तिब्बत रेलमार्ग ल्हासाबाट काठमाडौं पुग्नेछ भन्नुभएको थियो । वास्तवमा त्यसवेला छिङ्हाई–तिब्बत रेलमार्ग निर्माणको प्रथम चरणको कार्य सिनिङ्देखि गोल्मुद खण्ड प्रारम्भ भएको १५ वर्ष भइसकेको थियो । तर, प्रगति भने धेरै ढिला भइरहेको थियो । दोस्रो चरणको कार्य गोल्मुददेखि ल्हासा खण्डको निर्माणबारे योजना बन्दै थियो, कार्य प्रारम्भ गर्ने कुनै समयतालिका बनिसकेको थिएन ।

त्यस्तो अवस्थामा पनि अध्यक्ष माओले छिङ्हाई–तिब्बत रेलमार्गलाई ल्हासाबाट काठमाडौं पुर्‍याउने त्यस्तो महान् परिकल्पना प्रस्तुत गर्नुभयो । यसबाट महान् नेताले चीन–नेपाल सम्बन्धलाई दिनुभएको उच्च महत्व र त्यसका आधारमा प्रस्तुत गर्नुभएको दूरदर्शी रणनीतिक महत्व स्पष्ट हुन्छ । राजा वीरेन्द्रले चीन भ्रमण गर्नुहुँदा चीनको राष्ट्रिय शक्ति सीमित थियो । छिङ्हाई–तिब्बत रेलमार्गको निर्माण आफैँ पनि एउटा दीर्घकालीन योजना थियो । कुन वेला निर्माण सम्पन्न हुन्छ भन्नेसम्मको पनि समयतालिका बनिसकेको थिएन । रेलमार्गलाई काठमाडौंसम्म पुर्‍याउने भन्ने त झन् धेरै परको एउटा सपना थियो ।

चीनमा सुधार तथा खुलापनको नीति अवलम्बन गरिएपछि आर्थिक सामाजिक क्षेत्रमा अति ठूलो विकास भयो । छिङ्हाई–तिब्बत रेलमार्ग निर्माणले तीव्रता पाउन थाल्यो । पहिलो चरणको परियोजना सिनिङदेखि गोल्मुद खण्ड १९८४ मे महिनामा पूरा भई त्यसमा रेल चल्न प्रारम्भ भयो । दोस्रो चरणको परियोजना गोल्मुददेखि ल्हासा खण्डको कार्य सन् २००१ जुन महिनामा प्रारम्भ भयो र सन् २००६ जुलाईमा पूरा खण्डको रेलमार्ग निर्माण सम्पन्न भई त्यसमा रेलगाडी चल्न थाल्यो । छिङ्हाई–तिब्बत रेलमार्गको पूरा खण्डको निर्माण भइसकेपछि अध्यक्ष माओले त्यसवेला भन्नुभएको चीन–नेपाल रेलमार्गको परिकल्पना अब कार्यतालिकामा देखा पर्न सम्भव भएको छ ।

छिङ्हाई–तिब्बत रेलमार्ग सञ्चालन भएको दुई वर्षपछि म नेपालमा नयाँ कार्यभार सम्हाल्न आइपुगेको थिएँ । त्यतिवेला नै चीन सरकारको सम्बन्धित निकायले आन्तरिक रूपमा चीन–नेपाल रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन प्रारम्भ गरिसकेको थियो । त्यसैले मैले आन्तरिक रूपमा यस कार्यलाई अगाडि बढाउन मिल्ने अवस्था आइसकेको थियो । आफ्नो कार्यकालमा म हरेकपटक स्वदेश फर्की कार्यप्रगति विवरण प्रस्तुत गरिसकेपछि चीनको राष्ट्रिय विकास तथा सुधार कमिटी, वाणिज्य मन्त्रालय, रेलमार्ग केन्द्रीय कार्यालय आदि निकायमा पुगी परिस्थितिबारे जानकारी लिने र चीन–नेपाल रेलमार्ग निर्माण परियोजनालाई अगाडि बढाउन सक्रिय प्रयास गर्ने गर्थें । त्यसरी विभिन्न निकायमा पुगी परिस्थितिबारे जानकारी लिने र परियोजनालाई अगाडि बढाउन प्रयास गर्न खोज्ने क्रममा मलाई लाग्थ्यो, चीन–नेपाल रेलमार्गको सपना साकार बनाउन धेरै कठिन छ । त्यसका लागि कम्तीमा चारवटा ठूला कठिनाइ किनारा लगाउन सक्नुपर्छ ।

अहिले कैयौँ कारणले गर्दा चीन–नेपाल रेलमार्ग निर्माणप्रति भारत अति संवेदनशील र केही सशंकितसमेत छ । भारतलाई यसबाट सबैको आपसी हित हुनेछ भन्ने बोध गराई समर्थन लिने कुरा चीन र नेपाल दुवै देशले सामना गर्नुपर्ने साझा जिम्मेवारी हो । 

पहिलो, यति ठूलो निर्माण परियोजनाका लागि दुई देशका सरकारबीच दीर्घकालीन राजनीतिक विश्वास र समर्थन हुनु अनिवार्य छ । मेरो कार्यकालमा यो प्रश्नलाई कार्यतालिकामा पु¥याउने अवसर नै आएन । तर, अहिले यो प्रश्नको समाधान भइसकेको छ । सन् २०१९ अक्टोबरमा राष्ट्रपति सी जिङपिङले नेपालको राजकीय भ्रमण र सन् २०१६ मार्च र सन् २०१८ जुनमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक चीनको औपचारिक भ्रमण गर्नुहुँदा दुवै पक्षले प्रकाशित गरेको संयुक्त विज्ञप्तिमा चीन–नेपाल रेलमार्गको निर्माण कार्यमा सहकार्य गर्नेबारे उल्लेख छ । दुवै देशका सम्बन्धित सरकारी निकायले सन् २०१८ जुन महिनामा रेलमार्ग सहकार्य समझदारी पत्रमा हस्ताक्षर पनि गरे ।

दोस्रो, निर्माण कार्यमा केही प्राविधिक समस्या विद्यमान थिए । नेपालको भौगर्भिक अवस्था अत्यन्त जटिल छ र त्यहाँ भौगर्भिक विपत् आइरहन्छन् । रेलमार्ग हिमालय पर्वत शृंखलालाई नाघेर आउनुपर्ने हुँदा त्यसमा उचाइको अति ठूलो अन्तर हुने समस्या पनि छ । यसबारे मेरो कार्यकालमा दुई देशका सम्बन्धित सरकारी निकायले केही अध्ययन र प्रारम्भिक स्थलगत सर्वेक्षण पनि गरेका थिए । तर, कुनै निष्कर्षमा पुग्न भने सकेका थिएनन् । अहिले दुई देशका सम्बन्धित निकायको धेरैपटक संयुक्त बैठक र संयुक्त सर्वेक्षणद्वारा प्रारम्भिक रूपमा सर्वोत्कृष्ट मार्ग रेखा पनि निर्धारण गरिसकिएको छ । अब प्राविधिक रूपमा कठिनाइ छैन । 

तेस्रो, निर्माणका लागि आवश्यक पर्ने रकम कसरी जुटाउने भन्ने प्रश्न थियो । चीनको सिमानाभित्रको निर्माणका लागि आवश्यक रकम चिनियाँ पक्षले व्यहोर्न सक्छ, तर नेपाली भूभागमा रहेको खण्डको निर्माण रकम पूर्ण रूपमा नेपालले व्यहोर्ने कुरा अवश्य पनि व्यावहारिक हुँदैन । अहिले दुवै पक्ष यसबारे छलफल गर्ने अवस्थामा पुगिसकेका छैनन् । मैले आफ्नो कार्यकालमा चीनका सम्बन्धित निकायलाई दीर्घकालीन ऋणको माध्यमद्वारा यो समस्या समाधान गर्ना सिफारिस गरेको थिएँ ।

चौथो, भूराजनीतिक समस्या । चीन–नेपाल रेलमार्गले चीन र नेपाल दुई देशलाई मात्र लाभ पु¥याउने भए त्यसलाई अपर्याप्त मान्नुपर्छ । सबैभन्दा राम्रो त्यो रेलमार्ग भारतीय रेलमार्गको सञ्जालसँग जोडिन जाने होस् । यसरी नेपाल, चीनको मूलभूमि र भारतीय उपमहाद्वीपबीचको ट्रान्जिट–बिन्दु बन्न जान्छ । र, यसबाट चीन र भारतबीचको मालसामान ढुवानीको दूरी धेरै कम हुन जान्छ । यस्तो भएमा नेपाललाई मात्र लाभ हुनेछैन कि यसबाट भारत पनि ठूलो मात्रामा लाभान्वित हुन जानेछ । तर, अहिले कैयौँ कारणले गर्दा चीन–नेपाल रेलमार्ग निर्माणप्रति भारत अति संवेदनशील र केही सशंकितसमेत छ । भारतलाई यसबाट सबैको आपसी हित हुनेछ भन्ने बोध गराई समर्थन लिने कुरा चीन र नेपाल दुवै देशले सामना गर्नुपर्ने साझा जिम्मेवारी हो ।

यो वर्ष चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वर्ष पूरा भएको छ । नेपालको कार्यकाल पूरा गरी म फर्केको पनि करिब १० वर्ष बितिसकेको छ । नेपाली जनताको चीन–नेपाल रेलमार्गको चाहनाप्रति म गम्भीर रूपले प्रभावित भएको छु । त्यसैले मैले पनि चीन–नेपाल रेलमार्ग निर्माणको सपना साकार बनाउन आफूले गर्नुपर्ने मिहिनेत गरिरहेको छु । त्यसकारण नेपालबाट फर्किसकेपछि मेरो सबैभन्दा ठूलो आकांक्षा भनेको म जीवित रहँदै यो रेलमार्ग निर्माण भएको देख्न पाऊँ र बेइजिङबाट रेलगाडी चढेर एकपटक काठमाडौं जान पाऊँ भन्ने हो ।

अहिले विचार गरी हेर्दा मेरो कार्यकालमा अनुमान गरेका चीन–नेपाल रेलमार्ग निर्माणमा आउन सक्ने समस्या या कठिनाइ अहिले धेरैजसो समाधान भइसके अथवा हुँदै छन् । छिङ्हाई–तिब्बत रेलमार्ग सन् २०१४ अगस्टमा ल्हासाबाट अगाडि बढेर सिगात्सेसम्म पुगिसक्यो । सिगात्सेबाट अगाडि बढाएर केरुङसम्म पुर्‍याउनेबारे चिनियाँ पक्षमा सम्भाव्यता अध्ययन भइरहेको छ । निर्माणकार्य प्रारम्भ हुने निकट भविष्यको कुरा भइसक्यो । केरुङबाट काठमाडौं खण्डको सम्भाव्यता अध्ययन चीन–नेपाल दुवै पक्षले संयुक्त रूपमा प्रारम्भ गरिसकेका छन् । त्यसैले भन्न सकिन्छ, छिङ्हाई–तिब्बत रेलमार्ग काठमाडौंबाट झन् झन् नजिक पुग्दै छ, मेरो चीन–नेपाल रेलमार्गको सपना साकार हुँदै छ, अब त्यो सपना, सपना मात्र रहनेछैन ।

(लेखक नेपालका लागि चिनियाँ पूर्वराजदूत हुन्)