१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण १९ सोमबार ०४:००:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमा पहिलोपटक ‘प्लाज्मा थेरापी’मार्फत कोरोना संक्रमितको उपचार

Read Time : > 3 मिनेट
२०७७ श्रावण १९ सोमबार ०४:००:००

२६ वर्षका पुरुषले आफ्नो प्लाज्मा दिएर बचाए वरिष्ठ चिकित्सकलाई, प्लाज्मा थेरापी पाएका डा. कार्की भन्छन्, ‘समय निकै खराब हुँदै गएको छ, परीक्षण बढाऔँ’

विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरसको अहिलेसम्म औषधि पत्ता लागेको छैन । औषधिको विकल्पमा विश्वका कतिपय देशमा कोरोनाबाट निको भएका व्यक्तिहरूबाट प्लाज्मा निकालेर अर्को संक्रमित व्यक्तिमा राखेर पनि उपचार भइरहेको छ । नेपालमा पनि यो विधिको सुरुवात भएको छ । 

अमेरिका, बेलायत, भारतलगायतका देशमा कोरोनाको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोग गरिन थालेको छ । देशमा कोरोना संक्रमित बिरामीमा प्लाज्मा थेरापी विधिले सकारात्मक नतिजा दिएको पाइएको छ । त्यसैलाई ध्यानमा राखेर नेपालमा पनि पहिलोपटक एक कोभिड संक्रमित चिकित्सकको ‘कन्भालेसेन्ट प्लाज्मा थेरापी’मार्फत उपचार गरिएको हो । 

विराट मेडिकल कलेजका सञ्चालक तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्कीको कन्भालेसेन्ट प्लाज्मा थेरापीमार्फत उपचार गरिएको चिकित्सकहरूले बताएका छन् । उनी नेपालका पहिलोपटक ल्याप्रोस्कोपिक प्रविधिमार्फत शल्यक्रिया गर्ने चिकित्सक हुन् । उनले नै नेपालका चिकित्सक र अस्पतालहरूमा तालिम दिएर हाल अधिकांश शल्यक्रिया ल्याप्रोस्कोपिक प्रविधिमार्फत हुन थालेको छ । 

७ साउनमा कोरोना पोजेटिभ देखिएका डा. कार्कीलाई निमोनिया बढेपछि ९ साउनमा हेलिकोप्टरमार्फत विराटनगरबाट काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । दैनिक स्वास्थ्य बिग्रँदै गएपछि उनलाई १५ साउनमा निको भइसकेका एक ककनीका २६ वर्षीय युवकले प्लाज्मा दिएका थिए । कन्भालेसेन्ट प्लाज्मा थेरापीमा कोरोनाबाट निको भएको व्यक्तिको प्लाज्मा संक्रमित व्यक्तिमा दिइन्छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका श्वासप्रश्वास रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार कन्भालेसेन्ट प्लाज्मा थेरापीपछि डा. कार्कीको स्वास्थ्यमा चामत्कारिक सुधार आएको छ । उनलाई आइतबार आइसियूबाट निकालिएको छ । श्वास–प्रश्वासमा समस्या देखिएपछि ६० वर्षीय डा. कार्कीलाई ७० प्रतिशत अक्सिजनको आवश्यकता परेको थियो । रातारात प्लाज्मा थेपारी गरेपछि अक्सिजनको मात्रा घटाएर अहिले २४ प्रतिशतमा झारिएको डा. दासले बताए । 

रगतमा रेड ब्लुड सेल (आरबिसी), प्लेटलेट्स र प्लाज्मा (लिक्विड) हुन्छ । दाताबाट रगत लिएर आरबिसी छुट्याइन्छ । त्यसपछि बाँकी रगतबाट प्लेटलेट्स पनि छुट्याइन्छ । बाँकी रहेको रगतको भागलाई प्लाज्मा भनिन्छ । त्यही प्लाज्मा संक्रमितको शरीरमा चढाइन्छ । कोरोना संक्रमित भएका डा. कार्कीको शरीरमा दुई सय एमएल प्लाज्मा चढाइएको हो । यसले कोरोनासँग लड्ने क्षमता विकास गर्ने चिकित्सकहरू बताउँछन् । 

डा. कार्कीलाई प्लाज्मा उपलब्ध गराउन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहल गरेको थियो । परिषद्का अनुसन्धानविज्ञ डा. मेघराज धिमालका अनुसार हाल कोरोना निको भएका करिब १२ जनाले आवश्यक परे प्लाज्मा दिने वचन दिएका छन् । उनले यसरी प्लाज्मा दिँदा दुवैको रक्त समूह मिल्नुपर्छ । 

के हो कन्भालेसेन्ट प्लाज्मा थेरापी ? 

कन्भालेसेन्ट प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’का आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफैँ त्यससँग लड्न थाल्छ र त्यसलाई समाप्त पार्न ‘एन्टिबडी’ बनाउँछ । ‘जब एन्टिबडीले भाइरसलाई समाप्त गर्न सफल हुन्छ, बिरामी पूर्ण रूपले निको हुन्छ,’ चिकित्सक भन्छन् । 

प्लाज्मा थेरापी पाएका डा. कार्की भन्छन्–पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ 

यो समय निकै खराब छ । स्थानीय तहमा भएका क्वारेन्टाइनलाई व्यवस्थित गर्नुपर्छ । कसैले पनि सामान्य ठानेर मास्क, स्यानिटाइजरको प्रयोग गर्न छाड्नु उचित हुँदैन । आत्तिएर मात्रै यसको समस्या समाधान हुँदैन । कोरोना पत्ता लगाउने आरटी–पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ । सरकारले विज्ञ चिकित्सकलाई भेला गराएर नियमित सुझाब लिने र सोहीअनुसार आफ्ना काम अगाडि बढाउनुपर्छ । म पनि निको भएर बाहिर आएपछि पूर्ण रूपमा सहयोग गर्छु । 

उपत्यका भित्रिन पूर्ण रूपमा प्रतिबन्ध लगाउनु अनिवार्य भएको छ । कोभिड देखियो भन्दैमा स्वास्थ्य संस्था, कार्यालय बन्द गर्नुहुँदैन । यसरी केस देखिँदैमा बन्द गर्दै जाने हो भने अबका केही दिनमा देशभरका सबै स्वास्थ्य संस्था बन्द हुन्छन् । त्यो समय कुनै नेपालीले सेवा पाउन सक्नेछैनन् ।

थपिए दुई सय ४६ संक्रमित

आइतबार मुलुकभर दुई सय ४६ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको जम्मा संख्या २० हजार तीन सय ३२ पुगेको छ । त्यस्तै, आइतबार एकजनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबारसम्म १४ हजार ६ सय तीनजना निको भएका छन् । अहिले देशभर पाँच हजार ६ सय ७२ संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझ पर्साकी वृद्धाको कोरोनाबाट मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका नगवाकी ६८ वर्षीया वृद्धालाई ज्वरो र निमोनिया भएपछि उपचारका लागि गत बुधबार अस्पताल भर्ना गरिएको थियो । 

निजी प्रयोगशालमा सरकारले तोकेभन्दा सस्तोमा परीक्षण

एक निजी प्रयोगशालाले सरकारले तोकेभन्दा एक हजार पाँच सय रुपैयाँ सस्तोमा पिसिआर परीक्षण गर्ने निर्णय लिएको छ । कुपन्डोलमा रहेको विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबले कोरोना परीक्षण शुल्क चार हजार तोकेको हो । यसअघि चार हजार पाँच सयमा परीक्षण गर्दै आएको थियो । सरकारले भने निजी स्वास्थ्य संस्थालाई पाँच हजार पाँच सय रुपैयाँ लिन अनुमति दिएको छ । 

सोमबारदेखि नै परीक्षण शुल्क घटाइएको प्रयोगशालाका प्रमुख बिके भण्डारीले बताए । ‘विपत्को समयमा सस्तो मूल्यमा नै परीक्षण गरौँ भन्ने सोचका साथ काम गरेका हौँ,’ प्रयोगशाला प्रमुख भण्डारीले भने । यो प्रयोगशालामा पाँचवटा पिसिआर मेसिन र पाँचवटा अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन जडान गरिएको छ ।