१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण १८ आइतबार १७:३५:००
Read Time : > 2 मिनेट
अर्थ

कैलालीमा रासायनिक मलको चरम अभाव, धान उत्पादन घट्ने चिन्तामा किसान

Read Time : > 2 मिनेट
२०७७ श्रावण १८ आइतबार १७:३५:००

कैलारी गाउँपालिका–५ गोबरैलाका छविलाल चौधरीले रोपाइँ सकेको डेढ महिना पुग्न लाग्दा पनि खेतमा रासायनिक मल हाल्न पाएका छैनन् । २५ बिघा खेतमा धान रोपेका चौधरी मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्तामा छन् । यतिबवेलासम्म दुईपटक युरिया हाल्नुपर्ने भए पनि एकपटकसमेत मल हाल्न नपाएको उनको गुनासो छ । ‘रोपाइँ सकेको ८–१० दिनभित्रै युरिया हालिसक्नुपर्थ्याे । बोटले गाभा हाल्ने भएकाले अहिले ‘टप ट्रेसिङ’का लागि दोस्रोपटक मल हाल्नुपर्ने वेला हो,’ चौधरीले भने, ‘तर, आवश्यकभन्दा आधा मल पनि हाल्न पाइएन, धान नफल्ला भन्ने चिन्ता छ ।’ चौधरीले स्थानीय सहकारीमा मलै पाएनन् ।

नेपालमा मल नपाएपछि सीमानाकासम्म भारतीय व्यापारीले ल्याइदिएको मल किनेर केही खेतमा हालेको उनको भनाइ छ । नेपालमा नपाएपछि भारतीय व्यापारीसँग अवैध रूपमा मल किनेको र त्यो पनि पर्याप्त नपाएको उनले बताए । चौधरीको १२ जनाको परिवार खेतीपातीमै निर्भर छ । 

धानको पकेट क्षेत्रमै मल अभाव
प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत धानको पकेट क्षेत्र तोकिएको कैलारीमा पकेट क्षेत्रमै आबद्ध छविलालजस्तै अन्य किसानले मल पाएका छैनन् ।
भजनी नगरपालिका–५ कर्मदेवका कृषक खोजराम चौधरीले पनि रोपाइँ गरेपछि खेतमा मल हाल्न सकेका छैनन् । रोपाइँ गरिसकेपछि धानको बिरुवा हुर्कन युरिया मल आवश्यक पर्ने भए पनि गाउँका कुनै किसानले पनि मल नपाएको उनले बताए । ‘मलै नहाले के धान फल्ला र ?’ दुई बिघामा धान रोपेका चौधरीले भने, ‘खेतीपातीकै भर हो, त्यो पनि उत्पादन भएन भने गुजारा चलाउन मुस्किल पर्छ ।’ मल नपाउँदा रोपेको बोट राम्ररी हुर्कन नपाएको चौधरीले बताए ।

धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको कैलालीका अधिकांश किसानले रोपाइँपछि युरिया मल हाल्न पाएका छैनन् । रोपाइँपछि सबैभन्दा पहिला युरिया मल आवश्यक पर्छ, तर सुदूरपश्चिममा सरकारी अनुदानको मल बिक्री गर्दै आएको धनगढीस्थित कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले जेठयता युरिया मल बिक्री गरेका छैनन् । युरिया मल नहुँदा कृषि सामग्रीको गोदाम जेठदेखि र साल्ट ट्रेडिङको गोदाम वैशाखदेखि रित्तो छ ।

अवैध आयात रोकिएपछि झन् समस्या
नेपालमा मल नपाउँदा यसअघि कैलारी, भजनीलगायत सीमावर्ती क्षेत्रका किसान सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा मल ल्याएर प्रयोग गर्थे । तर, यस वर्ष कोरोनाका कारण नाका सिल हुँदा भारतबाट समेत आयात बन्द भएपछि कैलालीमा युरिया मल चरम अभाव भएको हो । डिएपीको भने अभाव नरहेको कृषकहरूको भनाइ छ ।

विगतमा प्रतिबिघा ४५–५५ क्विन्टल धान उत्पादन गर्दै आएका कैलारी–७ भुइयाफाँटाका किसान बलराम चौधरी यस वर्ष उत्पादन आधा घट्ने बताउँछन् । मल अभावले बोट हुर्कन नपाएको उनले बताए । ‘प्रांगारिक मल हाल्न सकिएन, रासायनिक मल पनि भएन धान राम्रो फल्दैन ?’ चौधरीले भने, ‘किसान मल नपाएर मारमा छन्, तर सरकार हाम्रा समस्या सुन्दैन ।’

केन्द्रबाटै आएको छैन : बोगटी 
कृषि सामग्री कम्पनी धनगढीका प्रमुख नवल बोगटीले रोपाइँका वेला बढी आवश्यक पर्ने युरिया मल जेठयता वितरण गर्न नसकिएको बताए । प्रदेशभर वर्षामा धानका लागि करिब ६ हजार मेट्रिक टन मल आवश्यक पर्नेमा कृषि सामग्रीले चैतदेखि जेठसम्म दुई हजार ८६ मेट्रिकटन मल मात्र बिक्री गरिएको उनले बताए । त्यसमध्ये पनि धेरैजसो मल किसानले मकै बाली र बिउमा प्रयोग गरेका थिए । ‘मलका लागि किसानको फोन आइरहन्छ, तर केन्द्रबाटै नआएकाले यहाँको गोदाम रित्तो छ,’ बोगटीले भने ।

करिब ३० प्रतिशत मलको आपूर्ति गर्ने अर्को निकाय साल्ट ट्रेडिङ धनगढीले चैत र वैशाखमा करिब एक हजार ६ सय मेट्रिक टन मल बिक्री गरेको छ । युरियाकै काम गर्ने एमोमिया सल्फेट नौ सय ६२ मेट्रिकटन बिक्री गरिएको प्रमुख केशवराज पाण्डेयले जानकारी दिए । चैत–वैशाखमा बिक्री गरिएकोमध्ये अधिकांश मल किसानले मकै र बेर्नामा प्रयोग गरेका छन् ।