१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १८ आइतबार १६:०५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विश्वकप फुटबल छनाेट तयारीका लागि एन्फाले खेलाडीलाई काठमाडौं बोलायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १८ आइतबार १६:०५:००

कतार विश्वकप छनाेटको खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्पूर्ण खेलाडीलाई काठमाडौं बोलाएको छ । 

भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड– १९) का कारण गत चैत ४ गतेबाट एन्फाले सचिवालयसहित सम्पूर्ण फुटबल गतिविधि बन्द गरेको थियो । 

त्यसयता फुटबल गतिविधि स्थगित भएका थिए । तर ५ जुनमा एसियाली फुटबल महासंघ (एएफसी)ले कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट खेलका लागि नयाँ मिति तय गरेपछि एन्फालाई राष्ट्रिय टिमको प्रशिक्षण थाल्न दबाब परेको थियो । छनोट खेलअन्तर्गत नेपालले घरेलु मैदानमा हुने खेलका लागि राष्ट्रिय टोलीका सबै खेलाडी सम्पर्कमा आइसकेको टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिए । 

एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले ८ अक्टोबरमा चाइनिज ताइपेई र १३ अक्टोबरमा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै १२ नोभेम्बरमा नेपालले जोर्डनविरुद्ध खेल्नेछ । छनोट खेलका लागि भदौ पहिलो साताभित्र खेलाडीको पिसिआर परीक्षण गरेर सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई अभ्यास गराउने तयारी भइरहेको उपाध्यायले बताए । बन्द प्रशिक्षणमा खेलाडीले विभिन्न समूहमा रहेर अभ्यास गर्ने व्यवस्थापक उपाध्यायले जानकारी दिए । 

एन्फाले घरेलु छनोट खेल दर्शकविना खेलाउने तयारीका साथ मैदान मर्मतलाई तीव्रता दिएको छ । छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ । नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौँ स्थानमा छ ।