मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १८ आइतबार ११:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मास्क नलगाई हिँड्ने १५ जना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण १८ आइतबार ११:४६:००

लकडाउनको अन्त्य भए पनि काेरोनाको जोखिम झनै बढ्दै गएको हुँदा सरकारले सर्वसाधारणलाई घरबाट बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनका लागि आग्रह गरेको छ । 

तर, सर्वसाधारण भने मास्क नै नलगाई खुलेआम हिँड्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाग्लुङको आदेशमा बाग्लुङमा कडाइ गर्न थालिएकाे छ । 

प्रहरीले शनिबार बाग्लुङ नगरपालिका– १ बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका १ पाङको अदुवाबारी जोड्ने नेपालकै लामो झोलुंगेपुलमा मास्क नलगाई घुम्न गएकालाई पक्राउ गरेको छ । 

पुलमा मास्क नलगाई पुगेका १५ जनालाई प्रहरीले पक्राउ गरी प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । 

पक्राउ पर्नेमा १० जना पुरुष र पाँचजना महिला रहेका छन् । 

पक्राउ परेकालाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको आदेशअनुसार आउँदा दिनमा  घरबाट बाहिर निस्कँदा अनिवार्य मास्क लगाउने सर्तमा जरिवाना गरी छाडिएको जिल्ला प्रशासन कार्यालय बाग्लुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तले जानकारी दिए । 

उनीहरूलाई संक्रमण रोग ऐन, २०२० को दफा (२) बमोजिमको कसूर गरेबापत सोही ऐनको दफा ३ (१) अनुसार जनही एक सय रुपैयाँ जरिवाना तिराएर मास्क दिएर छाडिएको पन्तले जानकारी दिए । 

पुलमा भिड बढेको र कोरोना महामारीमा सरकारले मास्क अनिवार्य लगाउन अनुरोध गरे पनि अटेर गरी मास्क नलगाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाग्लुङको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । 

सदरमुकाम क्षेत्रमा आइतबारदेखि कडा रूपमा चेकजाँच गरिने र घरबाहिर हिँड्दा मास्क नलगाई हिँड्नेलाई संक्रमण निवारण ऐनअनुसार कारबाही गर्ने निर्णय गरिएको सूचना अधिकारी पन्तले बताए ।