मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ श्रावण १८ आइतबार ०६:१९:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रंग खोज्दै रंगमञ्च

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ श्रावण १८ आइतबार ०६:१९:००

दर्शकले थिएटर पुगेर नाटक नहेरेको निकै भइसक्यो । गत फागुनयता थिएटर पूर्ण रूपमा बन्द छन् । केही कलाकार मात्र थिएटर पुगिरहेका छन् । यसबीचमा सडक नाटकमा पनि केही काम भएका छन् । तर, थिएटरै पुगेर अभिनयको परख गर्न दर्शकले पाएका छैनन् । कलाकारले पनि आफूलाई थिएटरको स्टेजमा उभ्याउन नपाएको निकै समय भइसक्यो । 

अभिनय गर्न नपाउनुको छटपटीको कुनै सीमा नभएको सर्वनाम थिएटरका कलाकार कृष्ण खड्काको अनुभूति छ । भर्खरै काठमाडौं फिरेका उनी फेरि घर सिन्धुली फर्कने योजनामा छन् । ‘गाउँ गएर बाख्रापालन पनि गरौँ कि सोचिरहेको छु,’ भन्छन्, ‘फेरि नाटकलाई पनि कसरी सँगै लिएर जाने भन्ने तनाव अर्को छ ।’

नाम चलेका नाटक हप्तौँ प्रदर्शन हुन थालेका थिए । तर, कोरोना भाइरसले थिएटरलाई थला पारिदिएको छ ।

प्रायः थिएटर कलाकार अहिले योजनाविहीनजस्ता छन् । के गर्ने, कसरी अगाडि बढ्ने, द्विविधामा छन् । थिएटर सुचारु गरिहाल्ने सम्भावना पनि छैन । दर्शकविना सम्भव पनि छैन । दर्शक नहुनु भनेको अभिनय गर्ने जाँगर मरेर जानु हो भन्छिन्, हाल नवलपरासीमा रहेकी कलाकार केनिपा सिंह पहारी । भर्खरै उनले एक म्युजिक भिडियो पनि गरिन्, अभिनेता दयाहाङ राईसँग । सबै सुटिङ मण्डला थिएटरमा गरिएको थियो । ‘म्युजिक भिडियोका लागि मण्डला थिएटर गएपछि नाटक गर्न मन लाग्यो । तर, कसरी गर्ने भन्ने नै अन्योलग्रस्त छ,’ उनी भन्छिन्, ‘थिएटर कत्ति मिस हुन्छ । तर, अब काम सुरु गर्ने योजना बने पनि कसरी गर्ने भन्ने विषय नै जटिल बनेको छ ।’ पहारी र साथीहरू मिलेर सिनामंगलस्थित पुरानो घर थिएटर सञ्चालन गर्ने योजनामा थिए । लकडाउन नभएको भए गत वैशाखमै थिएटर सुचारु हुन्थ्यो । तर, अबचाहिँ जसरी पनि अगाडि बढ्ने योजनामा छिन्, पहारी ।

...

सिनेमाको फाट्टफुट्ट सुटिङ सुरु भइसकेको छ । अन्य क्षेत्र पनि आफ्नो हिसाबले चलायमान हुन थालेका छन् । केही न केही हिसाबमा सबै क्षेत्र सुचारु भइसकेको छ । तर, थिएटरचाहिँ अहिलेसम्म अन्योलमा देखिन्छ । कसरी चलाउने, के गरी चलाउने उचित निर्णय लिन सकिरहेका छैनन्, नाट्यकर्मीहरू । थिएटर भिलेजले लकडाउनको साढे दुई महिना भर्अुअल क्लास ग-यो । अहिले त्यो पनि बन्द छ ।

यही भदौमा नाटक मञ्चन गर्ने योजना पनि थियो । त्यो पनि अब तिहारपछि मात्र मञ्चन हुने थिएटर भिलेजका विमल सुवेदी बताउँछन् । ‘अहिले यही नै गर्ने भनेर योजना बनिसकेको छैन । थिएटर थोरै दर्शकका बीच चलाउने सोच पनि छ,’ सुवेदी भन्छन्, ‘यस्तो अवस्थामा केही न केही त गर्नैपर्छ भन्ने सोच छ । केही गर्नैपर्ने अवस्था पनि आइलागेको छ । नत्र यत्रो महिना भयो, अझै पनि चुपचाप कसरी रहन सकिन्छ र !’ महामारी सुरु हुनुअघि पनि थिएटरको अवस्था खासै राम्रो नभएकाले पनि पहिलादेखि नै चुनौतीहरूको सामना गर्नुपरेको र अहिले झनै खराब अवस्था आएको सुवेदी बताउँछन् ।शनिबार केही नाट्यकर्मी शिल्पी थिएटरमा भेला भए । भेलाको उद्देश्य नै एकै थियो, अब कुन तरिकाले अगाडि जाने । कोरोना भाइरस कसैलाई लागिहाल्यो भने अर्को समस्या निम्तिने हो कि भन्ने चिन्तामा छन्, उनीहरू । तर, यसरी नै जाने भन्ने विषयमा भने निर्णय लिइनसकेको मण्डला थिएटरका नाट्यकर्मी विजय बराल बताउँछन् । मण्डला आफैँ पनि दसैँअघि एउटा नाटक गर्ने सोचमा छ । तर, तत्कालै काठमाडौंमा कोरोना संक्रमण बढिरहेकाले निर्णय लिन सकिरहेका छैनन् । ‘हामी १५–२० दिन हेर्छौं, कस्तो अवस्था बन्छ ।’ बराल भन्छन्, ‘अलि माहोल शान्त बन्यो भने नाटक मञ्चन गर्छौं।’
...

अहिलेको परिस्थितिलाई मध्यनजर गर्दैै सबै थिएटर मिलेर सांगठनिक रूपमा काम गर्ने योजना बनाएको शिल्पी थिएटरका घिमिरे युवराज बताउँछन् । पहिलो चरणमा वर्कसपमा सबै सहभागी हुने उनले बताए । ‘यसमा हामी एकेडेमीलाई पनि जोड्न खोजिरहेका छौँ । एकेडेमीलाई सरिक गराएर जाँदा अझै राम्रो होला कि भन्ने हाम्रो आकलन छ,’ उनी भन्छन्, ‘वर्कसप सकाएपछि आउटडोर पर्फर्मेन्स गर्ने । ग्रुप–ग्रुप मिलेर गर्ने । त्यसपछि थिएटरमै पनि आधा दर्शक राखेर नाटक मञ्चन गर्ने योजना बनाइरहेका छौँ ।’

प्रायः कलाकार अहिले उपत्यकाबाहिर छन् । सबै घर गएका छन् । सवारीसाधन त्यति चलिरहेको छैन । यसबीचमा थिएटरहरू आर्थिक समस्याबाट गुज्रिएका छन् । नाटक र अन्य विविध कार्यक्रमको हलभाडाले चलायमान हुने थिएटरको आर्थिक अवस्था नाजुक छ । आम्दानी ठप्प छ । यो थिएटरका लागि गम्भीर संकट बनिदिएको नाट्यकर्मी युवराज बताउँछन् । 

तत्काल नाटक गर्ने अवस्था न्यून रहेको बताउँछन्, सर्वनाम थिएटरका राज शाह । अहिले नाटक गर्न एकदमै गाह्रो अवस्था रहेको उनको बुझाइ छ । ‘नाटकै गर्दा पनि धेरै कलाकार काठमाडौंबाहिर गएका छन् । उनीहरूलाई आउन गाह्रो छ । त्यो भएर पनि नाटक गरिहाल्ने सम्भावना न्यून देख्छु,’ शाह भन्छन्, ‘तर, केही न केही त गर्नैपर्ने अवस्था छ । नत्र नेपाली रंगमञ्च अझै थला पर्नेछ ।’ 

कला, साहित्यको क्षेत्रमा सबैभन्दा बढी समस्यामा परेको यही क्षेत्र नै हो । अन्य साहित्य, फाइन आर्टस् साहित्यकार, कलाकारको एकल प्रयासमा हुने गर्छ । तर, नाटक त समूहमा काम गर्नुपर्छ । त्यसैले पनि अहिले थिएटर समस्या परेको रंंगकर्मी केदार श्रेष्ठ बताउँछन् । साथै, सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था पनि छ । ‘अहिले हामी एकेडेमीसँग सहकार्य गर्ने प्रयास गरिरहेका छौँ । केही समयअघि ध्यानाकर्षण पत्र पनि बुझाएका थियौँ,’ एकेडेमीले सहकार्य गर्ने विषयमा शंका प्रकट गर्दै श्रेष्ठ भन्छन्, ‘सरकारले ख्याल गरिदिनुपर्छ । नत्र नेपाली रंगमञ्च उठ्न सक्ने सम्भावना कम छ।’ 

लकडाउनअघिसम्म नेपाली रंगमञ्चले गति समातिसकेको थियो । नाटक हेर्न हलमा दर्शकको भीड लाग्न थालिसकेको थियो । नाम चलेका नाटक हप्तौँ प्रदर्शन हुन थालेका थिए । तर, कोरोना भाइरसले थिएटरलाई थला पारिदिएको छ । अझै केही समय यस्तै अवस्था कायम रहे थिएटरका दर्जनौँ कलाकारको पेसा नै संकटमा पर्ने निश्चित छ ।