मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुडानमा चलेको गृहयुद्ध र त्यसले निम्त्याएको भोकमरीमाथि संसारको ध्यान तान्न सफल तस्बिर
२०७७ श्रावण १८ आइतबार १०:०२:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘द भल्चर एन्ड द लिटल गर्ल’

Read Time : > 6 मिनेट
२०७७ श्रावण १८ आइतबार १०:०२:००

केभिन कार्टरको यो फोटोले सुडानमा चलिरहेको गृहयुद्ध र त्यसले निम्त्याएको भोकमरीमाथि संसारको ध्यान तान्न सफल भएको थियो 

पत्रकारिता क्षेत्रमा फोटो पत्रकारहरू आफूलाई कम महत्व दिने गरेको आरोप लगाउँछन् । तर, विश्वमा कैयौँ फोटो पत्रकारले हजारौँ शब्दले भन्दा शक्तिशाली प्रभाव छाड्ने फोटो खिचेका छन् । यस्तै एउटा फोटो सन् १९९३ मार्च २६ मा न्युयोर्क टाइम्सको पृष्ठ ३ मा छापिएको थियो ।

‘द भल्चर एन्ड द लिटल गर्ल’ नामक फोटो दक्षिण अफ्रिकी फोटोग्राफर केभिन कार्टरले सुडानमा खिचेका थिए । फोटोले विश्वको नजरबाट ओझेल परिरहेको लामो गृहयुद्ध र त्यसले निम्त्याएको भोकमरीमाथि प्रकाश पारेको थियो । केहीले यो फोटोलाई फोटो पत्रकारिताको इतिहासकै महत्वपूर्ण उदाहरण मान्छन् । यो तस्बिर प्रकाशित हुनुपूर्व नै केभिन चर्चित ब्याङ ब्याङ क्लबका सदस्य बनिसकेका थिए । उनीलगायत दक्षिण अफ्रिकाको जोहानेसवर्गमा कार्यरत चार फोटो पत्रकारको समूह ‘ब्याङ ब्याङ क्लब’ले अत्यन्त जोखिमपूर्ण द्वन्द्वका वेलासमेत फोटो खिच्ने गर्थ्यो। 

न्युयोर्क टाइम्समा छापिएको फोटो भने हालको दक्षिण सुडानमा खिचिएको थियो । यस फोटोमा कुपोषणका कारण ज्यान सुकेकी एक बच्ची (धेरै पछिसम्म बालिका ठानिएकोमा उनलाई पछि उनकै परिवारले बालक भएको बताएको थियो) उजाड मरुभूमिजस्तो ठाउँमा टाउको झुकाएर बसेकी देखिन्छिन् ।

केभिनका अनुसार ती बालक आधा माइल टाढा रहेको संयुक्त राष्ट्र संघको खाद्यान्न केन्द्रतर्फ जाँदै थिए । ती बालक पछाडि एउटा गिद्ध देखिन्छ । फोटो हेर्दा गिद्धको नजर बालकमाथि रहेझैँ लाग्छ । सो फोटो सुडानमा चलिरहेको गृहयुद्ध र त्यसले निम्त्याएको भोकमरीमाथि संसारको ध्यान तान्न सफल भएको थियो ।

केभिन कार्टरले सुडानमा खिचेको फोटो सुडान गृहयुद्धको समयको हो । २०औँ शताब्दीको लामो समय सुडान गृहयुद्धमा फसेको थियो । सन् १९८३ देखि २००५ बीच सुडानमा भीषण गृहयुद्ध चर्कियो । गृहयुद्धको डरमा दसौँ लाख मानिस मूलभूमिबाट विस्थापित भएकाले कृषि उत्पादन अकस्मात घट्न पुग्यो । यसले खाद्यान्न संकट उत्पन्न गरायो । र, पर्याप्त बाह्य सहयोगको अभावमा भोकमरी सुरु भयो । तर पनि त्यस संकटमा विश्वजगत्को ध्यान गएको थिएन । विशेषतः भूराजनीतिक रूपमा त्यति महत्वपूर्ण स्थानमा रहेकै कारणले पनि युद्ध यति लम्बिएको थियो । संयुक्त राष्ट्र संघले सो क्षेत्रको संकटमाथि प्रकाश पार्न त्यस क्षेत्रमा पत्रकार ल्याउने कार्यक्रम ल्यायो । जोआओ सिल्भा र केभिन कार्टर यही कार्यक्रमअन्तर्गत सुडान गएका थिए । र, यही भ्रमणमा कार्टरले पछि पुलिट्जर पुरस्कार जिताउने फोटो खिचेका थिए । 

केभिनले यो फोटोका लागि सन् १९९४ अप्रिलमा पुलिट्जर पुरस्कार जिते । अत्यन्त प्रतिष्ठित पुलिट्जर पुरस्कार पाएको चार महिनापछि केभिनले आत्महत्या गरे । त्यसपछि झनै यो फोटोप्रति मानिसको ध्यान गयो । खासमा ‘द भल्चर एन्ड द लिटल गर्ल’ छापिएपछि केभिनको प्रशंसाभन्दा पनि आलोचना भएको थियो ।

धेरैले फोटोकी बालिकाको अवस्थाबारे प्रश्न उठाएका थिए । विवाद बढ्दै गएपछि पत्रकारिता क्षेत्रमा फोटोग्राफरले आफ्नो फोटोको पात्रलाई अनुराग देखाउन हुने वा नहुने भन्ने बहस छेडिएको थियो । कत्तिले त फोटोग्राफरले चरम असहायता भोगिरहेको पात्रको फोटो खिच्नु नै गलत रहेकोसम्म तर्क गरे । यो फोटो छापिएको वर्ष दिनपछि केभिनले आत्महत्या गरेकाले कतै उनको आत्महत्यामा यही फोटोमाथि उठेको विवाद त जिम्मेवार छैन भन्ने पनि आशंका गरिन्छ । 

दक्षिण अफ्रिकाको नश्लभेदी सरकारले श्वेतहरू बसोवास गर्ने बस्तीमा अश्वेतलाई बस्न बन्देज लगाएको थियो । केभिनले समय–समयमा बस्तीमा प्रहरीले छापा मारेर अश्वेतहरू लगेको देखेका थिए । देशमा व्याप्त नश्लभेदसँगको उनको सुरुवाती साक्षात्कार त्यही नै थियो ।

फोटोग्राफरले मृत्युको मुखमा पुग्नै लागेको एक असहाय बालिकालाई सहयोग गर्नुको साटो फोटो खिचेर निष्ठुरता देखाएको आरोप लागिरहेको समयमा केभिनले फोटो खिचेपछि आफूले चरालाई धपाएको बताएका थिए । उनले पछि एनएचके टिभीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘उनी थोरै पाइला चाल्थिन्, लड्थिन् अनि उनलाई उठ्न नै गाह्रो परेको देखिन्थ्यो । उनी खुट्टा केही फट्याएर घुँडामा हात राखेर एकदम गाह्रोसँग उठ्थिन् ।’ गिद्ध धपाएपछि पनि आफू रूखमुनि बसेर धेरै बेर रोएको केभिनले बताएका छन् । 

फोटो छापिएपछि फोटोप्रति आमपाठकको प्रतिक्रियाबारे न्युयोर्क टाइम्सकी तत्कालीन फोटो सम्पादक न्यान्सी बुअस्की स्मरण गरेकीछन्, ‘फोटो मेरो हातमा पर्दाको क्षण मलाई अझै सम्झना छ । फोटो हेरेपछि म यति प्रभावित भएकी थिएँ कि मेरो हात काम्न थालेको थियो । फोटो छापिएपछि धेरैले फोन गरे । उत्तिकै संख्यामा पत्र प्राप्त भयो । त्यसैले हामीले भोलिपल्ट सम्पादकीय नोट नै प्रकाशित गर्नुपरेको थियो । यस्तो नोट बिरलै छापिने गर्छ ।’ न्युयोर्क टाइम्सको सम्पादकीय नोटमा फोटोग्राफरले गिद्ध भगाएपछि ती बालिका अघि बढेको तर खाना बाँडेको ठाउँमा पुगे–नपुगेकोबारे स्पष्ट नभएको लेखिएको थियो । 

दक्षिण अफ्रिकाको जोहानेसवर्गको श्वेत परिवारमा जन्मिएका केभिन श्वेत समुदायको मात्र बसोवास भएको बस्तीमा हुर्किएका थिए । त्यो समय दक्षिण अफ्रिकाको नश्लभेदी सरकारले श्वेतहरू बसोवास गर्ने बस्तीमा अश्वेतलाई बस्न बन्देज लगाएको थियो । केभिनले समय–समयमा बस्तीमा प्रहरीले छापा मारेर अश्वेतहरू लगेको देखेका थिए । देशमा व्याप्त नश्लभेदसँगको उनको सुरुवाती साक्षात्कार त्यही नै थियो । पछि किशोरकालमा यो कुराले केभिनलाई निकै क्रुद्ध बनायो । ‘द डेथ अफ केभिन कार्टर : क्याजुअल्टी अफ द ब्याङ ब्याङ क्लब’ नामक वृत्तचित्रमा बोल्दै केभिनकी आमा रोमा कार्टरले युवा केभिनको असन्तोषबारे बताएकी छिन् ।

त्यसमा उनले भनेकी छिन्, ‘ऊ आफ्नो कुरा नबुझ्नेहरूसँग एकदम अधीर रहन्थ्यो । हामीले पनि उसका कुरामा प्रश्न गर्दा ऊ आक्रामक हुन्थ्यो ।’ ऊ आफ्नै परिवार तथा अन्य श्वेत समुदायका मानिसले आफूवरिपरिको नश्लभेदलाई विरोध नगरेकामा निकै क्षुब्ध रहेको उनकी आमाले बताएकी छिन् । केभिनले बीचमै हाईस्कुल छाडेर देशको वायुसेनामा काम गर्न थाले । त्यहाँ चार वर्ष काम गर्ने क्रममा भएको एक घटनाले उनी सेना छाड्ने अवस्थामा पुगे । एक अश्वेत वेटरको अपमान हुँदा उनी प्रतिरक्षामा अघि सरेका थिए । यही निहुँमा अन्य सैनिकले उनलाई निर्घात कुटपिट गरे । त्यसपछि सेना छाडेर उनी आमसञ्चार क्षेत्रमा आएका थिए । 

फोटो पत्रकारका रूपमा केभिनले एक दशक काम गरे । यो छोटो अवधिमा पनि उनी प्रभावकारी छाप छाड्न सफल भए । विशेषतः ‘ब्याङ ब्याङ क्लब’मा आबद्ध रहँदा उनले देश–विदेशमा पहिचान बनाएका थिए । सन् १९९० देखि १९९४ बीच सक्रिय रहेको यो समूहले त्यो समय दक्षिण अफ्रिकामा चर्केको राजनीतिक द्वन्द्वलाई तस्बिरमा कैद गथ्र्यो । दक्षिण अफ्रिकाको कठोर नश्लवादी शासनको अन्तिम वर्षमा उनले नश्लवादविरोधी संघर्षको कठोर अवस्थालाई चित्रित गरेका छन् ।

फोटो मेरो हातमा पर्दाको क्षण मलाई अझै सम्झना छ । फोटो हेरेपछि म यति प्रभावित भएकी थिएँ कि मेरो हात काम्न थालेको थियो । फोटो छापिएपछि धेरैले फोन गरे । उत्तिकै संख्यामा पत्र प्राप्त भयो । त्यसैले हामीले भोलिपल्ट सम्पादकीय नोट नै प्रकाशित गर्नुपरेको थियो । यस्तो नोट बिरलै छापिने गर्छ ।
 

विशेषतः नेल्सन मन्डेला जेलबाट रिहा भएदेखि निर्वाचन नभएसम्मको अवधिमा अफ्रिकन नेसनल कंग्रेस (एएनसी) र प्रतिद्वन्द्वी इन्काथा फ्रिडम पार्टीबीच ठाउँ–ठाउँमा झडप हुन्थ्यो । दुवै दलको उद्देश्य दक्षिण अफ्रिकाको नश्लभेदी व्यवस्था हटाउने थियो । तर, इन्काथा पार्टी अल्पसंख्यक श्वेतहरूको सरकारसँग केही नजिक रहेर एएनसीविरुद्ध लाग्थ्यो । 

जोहानेसवर्गमा बसेर काम गरिरहेका चार पत्रकार– केभिन कार्टर, ग्रेग मरिनोभिच, केन उस्टरब्रोअक र जाओआ सिल्भा यस क्लबका सदस्य थिए । ती चारजना धेरैजसो युद्धग्रस्त स्थानमा सँगसँगै हुन्थे । तिनले खिचेका फोटोहरू देश–विदेशका मिडियामा नियमित छापिइरहेका हुन्थे । यसकारण, अरूले हेर्दा ती कुनै औपचारिक समूहमा आबद्धजस्ता देखिन्थे । तर, क्लबका सदस्य भनेर चिनिएका ग्रेग मरिनोभिच र जोआओ सिल्भाले लेखेको पुस्तक ‘द ब्याङ ब्याङ क्लब ः स्नापसट्स फ्रम ए हिडन वार’मा भने चारजनाबीचको कुनै औपचारिक क्लब नभएर सँगै काम गर्दाको मित्रता मात्र रहेको उल्लेख छ । ‘ब्याङ ब्याङ क्लबको नाम पनि अरूले राखिदिएका थिए ।

एक समय यो समूह यति चर्चित बनिसकेको थियो कि अमेरिकालगायत देशका फोटो पत्रकारसमेत क्लबका सदस्यलाई फोन गरेर क्लबमा सहभागी हुने प्रक्रियाबारे सोध्थे । दक्षिण अफ्रिकामा सबै जातिलाई समावेश गरेर सन् १९९४ मा भएको निर्वाचनपछि यो क्लबको उल्लेख हुन छाड्यो ।

यसका एकजना सदस्य केन उस्टरब्रोअकको कामकै सिलसिलामा गोली लागेर मृत्यु भयो । अर्का सदस्य केभिनले आत्महत्या गरे । बाँकी रहेका ग्रेग र सिल्भा अन्तर्राष्ट्रिय विदेशी मिडियामा काम गर्न थाले । सन् २०१० मा उनीहरूको कामबाट प्रभावित भएर हलिउडमा ‘ब्याङ ब्याङ क्लब’ नामक फिल्म पनि बनेको छ । सो फिल्ममा यही समूहले युद्धको समयमा तस्बिर कैद गर्दा गरेको संघर्षलाई देखाइएको छ ।

ब्याङ ब्याङ क्लब जुन समयमा सक्रिय थियो, त्यो समय यसका सदस्यहरू झडप चलिरहेकै समयमा छेउबाट फोटो खिचिरहेका हुन्थे । धेरै झडप हिंसात्मक हुन्थे । मानिसहरू जलाइन्थे, काटिन्थे । र, अझ दक्षिण अफ्रिकामा विरोधीको घाँटीमा टायर बालेर मार्ने खराब संस्कृति फैलिएको थियो । यी सब घटना भइरहँदा फोटो खिच्ने ब्याङ ब्याङ क्लबका सदस्यमा पनि मानसिक आघात देखिन थालेको थियो । यसमा सबैभन्दा बढी प्रभाव संवेदनशील केभिनमाथि परेको थियो ।

केभिनका नजिकका मित्र रिद्वान भ्यालीका अनुसार पछिल्लो समय केभिन पीडा कम गर्न ड्रग्सको प्रयोग गर्न थालेका थिए । ‘हुन त जोहानेसवर्गमा त्यो समय ड्रग्स लिनेको संख्या धेरै थियो । तर, केभिन ड्रग्स नलिई निदाउन नसक्ने स्थितिमा पुगेका थिए । केभिन आफ्नो कामका क्रममा देखेका मनिसको पीडाबाट बढी नै आहत थिए । त्यो पीडा भुलाउन उनले ड्रग्स लिन थालेका थिए ।’

हिंसात्मक दृश्यबाट केभिन प्रभावित भएको कुरा उनका अर्की मित्र जुडथ म्यालोफ पनि बताउँछिन् । केभिनसँगै रिपोर्टिङ गरेकी जुडथ म्याटलोफले त्यो समयको केभिनको मानसिकताबारे एक वृत्तचित्रमा भनेकी छिन्, ‘कारयात्रामा उनी आफूले फोटो खिचेका व्यक्तिलाई बचाउन नसकेको ग्लानिको कुरा बारम्बार गर्थे ।’ 

फोटोबारे ठूलो विवाद उत्पन्न भए पनि त्यही कारणले मात्र केभिनले आत्महत्या गरेका भने थिएनन् । उनी ‘ब्याङ ब्याङ क्लब’मा संलग्न रहँदादेखि नै द्वन्द्व र मृत्युका घटनाबाट विक्षिप्त हुन थालेका थिए । फोटो विवादले उनको विक्षिप्तता झन् बढाएको हुन सक्छ । तर, सहकर्मी केनको मृत्यु अन्तिम प्रहार सावित भयो । केभिनले पुलिट्जर पुरस्कार जितेको ६ दिनपछि उनका अत्यन्त नजिकका मित्र केन उस्टरब्रोअकको निधन भयो ।

दक्षिण अफ्रिकामा पहिलो स्वतन्त्र निर्वाचन नजिकिँदै गर्दा भड्केको द्वन्द्व कभर गर्न जाँदा केनको मृत्यु भएको थियो । केनको मृत्युबाट केभिनमा परेको प्रभाव उनको सुसाइड नोटमा पनि भेटिन्छ : ‘जीवनमा पीडा यति बढेको छ कि खुसीको नामोनिसान भेटिँदैन । डिप्रेसन र ठूलो आर्थिक अभावमाझ मलाई हत्या, लास र आक्रोशले तर्साइरहन्छ... ती बालिका, भोक र घाइतेको छाँयाले पछ्याइरहेको छ... यदि भाग्यमानी रहे केनलाई भेट्न हिँडेको छु ।’

केभिनमाथि आफ्नो चर्चित फोटोको पात्रप्रति बेवास्ता गरेको र त्यसैले उसको मृत्यु भएको हुन सक्ने आरोप लाग्यो । तर, सन् २०११ मा फोटोको बच्चा चिनेर उनका पिता अघि आए । त्यसपछि पहिले बालिका ठानिएको फोटोका पात्र बालक भएको र उनको नाम कोङ न्योङ रहेको खुलासा भयो । तर, दुःखद त्यो भोकमरीबाट बचेका कोङको पछि सन् २००७ मा मलेरियाका कारण मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

यो फोटो एक्लैले एउटा देशमा लामो समयदेखि जारी युद्ध र भयानक अनिकालमाथि विश्वको ध्यान तानेको थियो । यो फोटो आजसम्म पनि समग्र अफ्रिकाको युद्ध, अभाव र मानवीय संकटको प्रतिबिम्बका रूपमा रहेको छ । 

(एजेन्सीहरूको सहयोगमा)

मिडिया बहसमा थप

एउटा समाचार, जसले २० वर्षे भियतनाम युद्ध अन्त्य गरायो

वाटरगेट काण्ड : जब राष्ट्रपति निक्सनले प्रेससँगको युद्ध हारे