ट्रकमा बन्धक बनाई बलात्कार गरेको आरोपमा चालकसहित तीनजना पक्राउ
बाटोमा अलपत्र परेकी युवतीलाई घर पुऱ्याइदिन्छु भनेर फकाई ट्रकमा बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहटबाट ना.२ख६७४६ का ट्रकचालकसहित तीनजनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा ट्रकभित्रै युवतीलाई बलात्कार गर्दैगर्दा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
चितवनबाट भुस लिन फतुवा विजयपुर नगरपालिका बरगिनिया चोक आएको ट्रकमा युवती बलात्कृत भएको स्थानीयको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका– १ का ट्रकचालक २९ वर्षीय विष्णुप्रसाद रानाभाट, सोही ठाउँका सहचालकहरू १८ वर्षीय विनोद रानाभाट र १९ वर्षीय केशर मगर रहेको साहले जानकारी दिए । गत बिहीबार बाराको पथलैयामा बाटोमा अलपत्र परेकी ती युवतीलाई घर पुऱ्याइदिन्छु भनी उनीहरूले ट्रकमा ल्याएका थिए । बरगिनिया चोक पुगेपछि युवतीलाई बन्धक बनाएर उनीहरूले ट्रकभित्रै बलात्कार गरेका थिए । पीडितले रोइकराई गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पीडित युवतीको शुक्रबार साँझ स्वास्थ जाँच गरिएको छ ।
आरोपी तीनैजनालाई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्याद दिइएको प्रहरीको भनाइ छ । पीडित युवतीको अभिभावक सम्पर्कमा आइनसकेकाले उनलाई महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको प्रहरीले जनाएको छ ।