मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १६:४१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

समुदायमा काेराेना संक्रमण देखिँदै गएकाले स्थिति भयावह बन्न सक्ने चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १७ शनिबार १६:४१:००

चिकित्सकहरूले कोभिड– १९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रूपमा फैलन सक्ने बताएका छन् । 

सरकारले कोभिड– १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण ‘रोग’को रूपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरूले बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले अहिलेसम्म कोभिड– १९ को संक्रमण रोगको रूपमा नदेखिएको, तर समुदायस्तरमा फैलिँदै गए रोगको रूपमा देखापर्न सक्ने बताए । 

कोभिड रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिनभित्रै संक्रमण रोगको रूपमा देखापर्ने निश्चित भएको डा. दीक्षितले बताए । उनले सरकारले पिसिआर परीक्षणलाई बढाउँदै लैजानुपर्नेमा घटाउँदै लगेको र समुदायमा संक्रमण देखिँदै गएकाले स्थिति भयावह बन्न सक्ने चेतावनी दिए । 

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनीले संक्रमण एकठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए । संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाइ गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताए ।  

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले मानिसहरूको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ताभित्रै भयावह हुन सक्ने बताएका छन् ।

उनले जोखिम युक्त ठाउँबाट आएका मानिसहरू क्वारेन्टाइनमा नबस्दा नै समुदायस्तरमा संक्रमण फैलिएको बताए । संक्रमण रोकथामको उपाय लकडाउन मात्रै नभएकाले आवश्यक सावधानी सबैले अपनाउनुपर्नेमा डा. बाँस्तोलाले जोड दिए । ।

सरकारले लकडाउन खोलेपछि मानिसहरूको आवागमन पनि बढेको छ । जसले गर्दा समुदायस्तरमा संक्रमणका केसहरू देखिएका छन् । तर, पिसिआर परीक्षणलाई अझै बढाएको देखिँदैन । जसले गर्दा संक्रमण समुदायस्तरमा भित्रभित्रै फैलिँदै जाने र स्थिति थप जटिल बन्न सक्ने जोखिम बढेको छ ।