चाडवाड, रीतिरिवाज र धर्म–संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न समुदायका चाडवाड, रीतिरिवाज र धर्म–संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाएको बताएका छन् ।
शनिबार प्रेस विज्ञप्तिमार्फत मुस्लिम समुदायको महान् चाड बकर इदको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।’
कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रणका प्रयास जारी रहँदा आएको बकर इद इस्लाम धर्मावलम्बीहरूलाई घरमै बसेर बनाउन पनि आग्रह गरेका छन् ।
लकडाउन खुलेसँगै देशमा फैलिएको कोरोना भाइरसको संक्रमण पुनः फैलिन थालेको भन्दै एकजुट भएर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने पुनले बताए ।
कोरोना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न सिंगो नेपाली एकताबद्ध हुन र धैर्य गर्न आवश्यक रहेको उनको भनाइ छ ।