मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रमेश सापकाेटा काठमाडाैं
२०७७ श्रावण १७ शनिबार ०९:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाले नौ भ्रातृ संस्थाको म्याद थपेपछि पौडेलको आपत्ति

Read Time : > 1 मिनेट
रमेश सापकाेटा, काठमाडाैं
२०७७ श्रावण १७ शनिबार ०९:५२:००

कांग्रेस सभापति शेरबहादुर देउवाले नौ भ्रातृ संस्थाको समयावधि थपेपछि नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । देउवाले शुक्रबार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद ६ महिना थप गरेका छन् । 

तर, देउवाको यस्तो कदमप्रति पौडेलले अधिवेशन स्थगित गराएर अहिले म्याद थप्नु निर्लज्ज कार्य भएको आरोप लगाएका छन् ।

‘निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउँदै ल्याएर सारा भ्रातृ संस्थाहरूको अस्थिपन्जर मात्र बाँकी राख्ने, त्यसमाथि अब अहिले म्याद थप्न पार्टीको बैठकसम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौवटा भ्रातृ संस्थाको म्याद थप्ने विज्ञप्ति जारी गराउनेजस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइँदै छ । लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिँडेका साथीहरू ! गम्भीर हुनुहोस्,’ पौडेलले फेसबुकमा लेखेका छन् ।  

पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका आइसकेकाले सभापतिले त्यसलाई प्रभावित गर्ने गरी विभागमा सदस्य थप्ने, क्रियाशील सदस्यता र समायोजनमा सभापतिले मनोमानी गरेको भन्दै पौडेल पक्षले आपत्ति जनाउँदै आएको छ । तर, पौडेल पक्षले लिखित ध्यानाकर्षण गराएकै दिन देउवाले दुई दिनअघि ज्येष्ठ राजनीतिज्ञ सभा गठन गरेका थिए । लगत्तै भ्रातृ संस्थाको समयावधि पनि थप गरेका थिए । 

देउवाले आगामी केन्द्रीय समितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिले ६ महिनाका लागि म्याद थपिएको जनाएका छन् । तर, तरुण दल चार वर्षसम्म चारजनाले मात्र चल्यो, नेविसंघ एक वर्षभन्दा लामो समय रिक्त भएपछि तदर्थ समिति गठन गरिएको थियो ।  किसान संघमा १५ वर्षदेखि महाधिवेशन भएको छैन । प्रजातन्त्र सेनानी संघमा १३ वर्षदेखि महाधिवेशन भएको छैन । दलित संघमा चार वर्ष, जनजाति संघमा १४ वर्ष, अपांग संघमा ०६६ मा गठन भएयता महाधिवेशन भएको छैन । तामाङ संघमा ११ वर्षदेखि र ठाकुर समाजको १० वर्षदेखि महाधिवेशन भएको छैन ।