मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १७ शनिबार ०९:२०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय मापदण्डअनुरूप खेल सुचारु हुने

Read Time : > 2 मिनेट
२०७७ श्रावण १७ शनिबार ०९:२०:००

लकडाउन चलिरहँदा नै ब्याडमिन्टनका खेलाडी राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा अभ्यासमा फर्किए । त्यससँगै क्रिकेटर व्यक्तिगत प्रयासमै त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सेल्फ अभ्यासमा जुटे । लकडाउनको अवधिमै ब्याडमिन्टन र क्रिकेटर अभ्यासमा रहँदा अन्य खेलका खेलाडी घरमै प्रशिक्षणरत देखिए । ब्याडमिन्टनका खेलाडी त अन्तर्राष्ट्रिय ब्याडमिन्टन संघ तथा विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसारै प्रशिक्षण गरेका थिए । 

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले भने आफैँले सेल्फ डिस्टेन्स राखी अभ्यास गरे । लकडाउन समाप्तिसँगै खेलकुद पनि अन्य क्षेत्रझैँ चलायमान हुने क्रममा छ । सरकारले १ भदौदेखि खेलकुद सुचारु गर्ने भनेको छ । फुटबल, क्रिकेट, टेनिस, ब्याडमिन्टन र मार्सल आट्र्सका अन्तर्राष्ट्रिय खेल निकायले मापदण्ड बनाएका छन् । फुटबल र क्रिकेट त्यही मापदण्डअनुसार नै चलिरहेका छन् । कोभिड–१९ को समयमै इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको टेस्ट सिरिज आइसिसीको गाइडलाइनअनुरूप नै भइरहेको छ । युरोपका प्रिमियर लिग पनि फिफा र डब्लुएचओले बनाएका नियमअनुसारै सम्पन्न भए । अन्तर्राष्ट्रिय खेल क्षेत्र मापदण्डमा चल्दा नेपालको खेलकुद सक्रिय बनाउन सम्बन्धित खेलका संघले कस्तो किसिमको मापदण्ड बनाएका छन् त ? 

चार महिनासम्म लकडाउनका कारण घरमै खुम्चिएका खेलाडी १ भदौदेखि प्रशिक्षणमा आउँदा पहिलो काम नै सुरक्षा मापदण्ड अपनाउने हुनेछ । सामूहिक र व्यक्ति खेलका निमय फरक हुन सक्छन् । यस्ता खेल सञ्चालन गर्न सरकारले कुनै मापदण्ड तोकेको छैन । तर, सम्बन्धित खेल संघ भने अन्तर्राष्ट्रिय नियमअनुसारै सुचारु गर्ने प्रयासमा छन् । फुटबलले फिफा र डब्लुएचओका अनुसारै शुक्रबारदेखि नै प्रशिक्षणमा राष्ट्रिय टोलीका खेलाडीलाई बोलाएको छ । 

सातदोबाटोको एन्फा कम्प्लेक्समा शुक्रबार २० जना खेलाडी उपलब्ध भएका छन् । काठमाडौं जिल्लाबाहिरका १४ जना खेलाडी शनिबार आइसक्नेछन् । ‘हामीले फिफा र डब्लुएचओको मापदण्डअनुसारै खेलाडीलाई प्रशिक्षणमा राखेका छौँ,’ नेपाली टोलीका म्यानेजर मधुसुदन उपाध्यायले नयाँ पत्रिकालाई बताए । उनका अनुसार बाहिरबाट आएका खेलाडी सुरुमा एन्फाको होस्टेल भवनमै क्वारेन्टाइनमा बस्नेछन् । काठमाडौंमा भएका खेलाडीको २२ साउनसम्म पिसिआर परीक्षण गर्ने उनले बताए । 

सबै प्रक्रिया समाप्तिपछि मात्र १ भदौदेखि खेलाडीहरू प्रशिक्षणमा लाग्नेछन् । राष्ट्रिय टोली क्लोज क्याम्पमा रहँदा एन्फा कम्प्लेक्स नै सिल गरिनेछ । सम्बन्धित व्यक्तिबाहेक यहाँ अन्यलाई प्रवेश निधेष गरिने उपाध्यायले बताए । खेलाडी, चिकित्सक, प्रशिक्षक र सहयोगीलगायत सबै डेढ महिना होस्टेलमै बस्नेछन् । अभ्यासका क्रममा पनि एन्फाले दिनमा तीनपटक मात्र खेलाडीलाई प्रशिक्षण गराउनेछ । पहिलो सिफ्टमा ११ वा १२ जना खेलाडी हुनेछन् । नेपालले आउँदो ८ अक्टोबरमा कतार विश्वकपअन्तर्गत एसियन छनोटका लागि चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दै छ । 

टेबलटेनिसका एकल तथा टिम गेमका खेलाडीले शुक्रबारै लैनचौरमा रहेको राष्ट्रिय प्रशिक्षण केन्द्रमा अभ्यास थालेका छन् । खेलाडीले सामाजिक दूरी कायम गरी प्रशिक्षण सुरु गरेको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले बताए । संघहरूले अन्तर्राष्ट्रिय नियमअनुसार प्रशिक्षण सुरु गर्दा सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्ले केही मापदण्ड तोकेको छैन । खेलाडीलाई सोसियल डिस्टेन्स बनाएर अभ्यास गर्न मात्र भनिएको छ । 

‘अहिलेसम्म केही मापदण्ड बनाएका छैनौँ, सामाजिक दूरी कायम गरी अभ्यास गर्न भनेका छौँ,’ परिषद्का नवनियुक्त सदस्यसचिव रमेश सिलवाल भन्छन्, ‘ब्याडमिन्टन, टिटी र आर्चरी सामाजिक दूरी कायम गरी सुरु भएका छन् ।’ परिषद्ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई पदक दिलाएका खेलाडीलाई प्रारम्भिक चरण प्रशिक्षणमा बोलाउनेछ । ‘हामी अन्तर्राष्ट्रिय मेडलिस्टबाट अभ्यास सुरु गर्छौं,’ उनले भने, ‘सतर्कता अपनाएर अगाडि बढ्छौँ ।’ 

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक प्रदर्शन गरेको तेक्वान्दोका खेलाडी पनि अभ्यासमा फर्कने प्रयासमा छन् । तर, तेक्वान्दो संघले केही पनि मापदण्ड सार्वजनिक गरेको छैन । तेक्वान्दोका धेरैजसो खेलाडी आर्मी, एपिएफ र पुलिसका छन् । उनीहरूले विभागमै प्रशिक्षण गरिरहेको नेपाल तेक्वान्दो संघमा अध्यक्ष प्रकाशशमशेर राणाले बताए । ‘काठमाडौंमा उपलब्ध खेलाडी विभागीय नै छन्,’ राणाले भने, ‘काठमाडौंबाहिरका खेलाडी आउँदा क्वारेन्टाइनमा राखिनेछ ।’ जिल्लाबाहिरका खेलाडीको पिसिआर परीक्षणपछि मात्र प्रशिक्षणमा समावेश गरिने उनले बताए । हाल कम्तीमा ६ जना खेलाडी राखी तेक्वान्दोको प्रशिक्षण सुरु गर्ने योजना रहेको उनले बताए ।