मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी लन्डन
२०७७ श्रावण १७ शनिबार ०६:२९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इंग्लिस प्रिमियर लिगलाई फर्केर हेर्दा 

Read Time : > 2 मिनेट
एजेन्सी लन्डन
२०७७ श्रावण १७ शनिबार ०६:२९:००

तीन दशकपछि लिभरपुल च्याम्पियन हुनु, नर्विच सिटी, वर्नेमाउथ तथा वाटफोर्ड रेलिगेसनमा पर्नु नै सम्पन्न इंग्लिस प्रिमियरसिप फुटबल प्रतियोगिता (इपिएल)कै महत्वपूर्ण घटनाका रूपमा रहे । कोरोना भाइरस महामारीले प्रभावित इपिएल ११ महिनासम्म चल्दा म्यानचेस्टर युनाइटेड र चेल्सीले अन्तिम खेलबाट युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरे । युनाइटेडसँग पराजित हुँदा लेस्टर च्याम्पियन्स लिगमा छनोट हुन सकेन । बिबिसीले तयार पारेको इपिएलमा भएका प्रमुख घटना यस्ता छन् :

सिटी हारेपछि लिभरपुल च्याम्पियन
२५ जुनमा म्यानचेस्टर सिटी र चेल्सीबीचको प्रतिस्पर्धा भयो । लिभरपुलको नजरमा यो खेल महत्वपूर्ण थियो । चेल्सी विजयी हुँदा लिभरपुल ३० वर्षपछि प्रिमियर लिग विजेता बन्ने थियो । प्रशिक्षक जर्गेन क्लोपको प्रशिक्षणमा रहेको लिभरपुलले २५ जुनमा चेल्सीको जित कामना गरेका थिए । उनीहरूको कामना पूरा भयो । खेलमा सिटी पराजित हुँदा लिभरपुलको लामो समयको उपाधि उचाल्ने सपना पूरा भयो । समर्थकले एन्डफिल्डअगाडि नै खुसीयाली मनाए । कोभिड–१९ पछि सुचारु भएको इपिएलमा चेल्सी र सिटीबीचको खेल सर्वाधिक प्रतीक्षा गरिएको खेलका रूपमा रह्यो । 

कोरोना भाइरसले स्थगित इपिएल
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले युरोपमा नराम्रोसँग प्रभाव पार्‍यो । फ्रान्स, जर्मनी, इटाली र बेलायतजस्तो राष्ट्रमा कोरोना अनियन्त्रित रूपमा फैलिए । तर, स्थानीय लिग खाली रंगशालामै चलिरहेको थियो । यसबीच, आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना लागेको समाचार आयो । १२ मार्चमा क्लबले प्रशिक्षक मिकेल कोरोनाबाट संक्रमित भएको विज्ञप्ति जारी नै गर्‍यो । बिस्तारै अन्य क्लबका खेलाडी तथा स्टाफ संक्रमित भए । त्यसपछि फुटबल एसोसिएसनले लिग नै तत्काल स्थगित गर्‍यो । 

साउथह्याम्टनको पोस्टमा लेस्टरको नौ गोल
सन् २०१९/०२० को सिजनमा त्यति धैरै फराकिलो गोलअन्तर जित निस्किएन । तर, लेस्टरले अक्टोबर महिनामा एउटा सानदार जित दर्ता गर्‍यो । साउथह्याम्टनमाथि जेमिए भार्डी र अयोजे पेरेजले ह्याट्रिक लगाउँदा लेस्टर ९–० ले विजयी भयो । प्रतिस्पर्धामा भार्डीले तीनै गोल मध्यान्तरपछि गरेका थिए । यस जितसँगै लेस्टरले शीर्ष चारमा दाबी गर्‍यो । तर, लेस्टर सिजनको अन्त्यमा पाँचौँ स्थानमा सीमित भयो । 

नर्विचसँग म्यानचेस्टर सिटी स्तब्ध
रेलिगेसनमा परेको नर्विच सिटीले पूरै सिजनमा पाँच जित मात्र निकाल्यो । त्यसमध्ये एउटा जित निकै सनसनीपूर्ण रह्यो । गत सेप्टेम्बरमा नर्विचले म्यानचेस्टर सिटीको सामना गर्‍यो । प्रिमियर लिगकै साबिक विजेता उच्च फर्ममा थियो । नर्विच रेलिगेसन जोनमै थियो । खेलको अन्तिम नतिजा सिटीको पक्षमा रहेन । नर्विचले सिटीमाथि ३–२ को स्तब्ध नतिजा निकाल्यो । सन् २०१९ को जनवरीपछि सिटी पराजित भएको यही नै थियो । 

वाटफोर्डद्वारा लिभरपुलको यात्रा समाप्त
लिगको चरणमा केही यस्ता नतिजा आए, जसको कल्पना नै गरिएको थिएन । च्याम्पियन लिभरपुलसमक्ष तालिकामा सय अंक पार गर्ने अवसर थियो । च्याम्पियन भएको अर्को खेलमै लिभरपुलले वाटफोर्डको सामना गर्‍यो । सम्भवतः पाँच खेलअघि नै च्याम्पियन भएको घमण्ड र रेलिगेसनमा रहेको टोलीलाई हल्का लिँदा लिभरपुलले सिजनकै खराब खेल प्रदर्शन गर्‍यो । यस खेलमा वाटफोर्डले लिभरपुललाई ३–० ले हरायो । यस नतिजासँगै लिभरपुलको जितको कीर्तिमान रोकियो ।

टोटनह्यामद्वारा प्रशिक्षक बर्खास्त
प्रशिक्षक मारिसियो पोचेटिन्होले टोटनह्यामलाई युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुर्‍याए । यद्यपि, टोटनह्याम लिभरपुलसँग पराजित भयो । तर, टोटनह्याम फाइनल पुग्नु नै ठूलो सफलता मानियो । यसमा प्रशिक्षक पोचेटिन्होको भूमिका अधिक रह्यो । तर, च्याम्पियन्स लिगको फाइनल खेलेको एक सय ७१ दिनपछि टोटनह्यामले प्रशिक्षक पोचेटिन्होलाई बर्खास्त गर्‍यो । यससँगै टोटनह्याममा पोचेटिन्होको साढे पाँच वर्षको यात्रामा पूर्णविराम लाग्यो । टोटनह्यामले उनको स्थानमा जोसे माउरिन्होलाई ल्यायो । 

इपिएलमा भार्डीको सय गोल
तत्काल जेमिए भार्डी लेस्टर छाड्ने कल्पना गर्न सक्दैनन् । लेस्टरमा भार्डी जमिसकेका छन् । उनी यस क्लबको गोल मेसिन नै हुन् । आठ वर्षअघिसम्म पनि लोकल क्लबका खेलाडी भार्डी अहिले इपिएलकै एक राम्रा स्ट्राइकरमा गनिन्छन् । उनले यसै सिजनमा इपिएलमा व्यक्तिगत सय गोल पूरा गरेका छन् । इपिएलमा सय गोल पूरा गर्ने उनी समग्रमै २९औँ खेलाडी बनेका छन् ।