Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडौं
२०७७ श्रावण १७ शनिबार ०४:०५:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१५ केजी सुनचाँदी प्रकरण : अनुसन्धान युनुस अन्सारीतिर मोडियो, प्रहरीबाटै पनि भयो गल्ती 

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ श्रावण १७ शनिबार ०४:०५:००

अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका दुई भनाइ

घटना गम्भीर छ, गम्भीर ढंगले अनुसन्धान हुनु स्वाभाविक हो । यस्ता घटनामा विगतका दिनमा अपराधमा संलग्न अनुसन्धानको घेरामा पर्नु स्वाभाविक हो । सत्य–तथ्य अनुसन्धानपछि खुल्ने विषय हुन् ।

घटनालगत्तै अनुसन्धान भयो । रिपोर्टिङ भएजस्तो घटना देखिएन । बुझ्दै जाँदा तस्करसँग प्रहरी जवान मिलेको देखियो । उनीहरूले डिएसपीलाई गलत रिपोर्टिङ गरे । तर, डिएसपीले त्यसलाई बुझ्न सकेनन् । सुन पक्राउपछि आउने वैध कमिसन पाउने लोभमा पनि उनी कहीँ–कतै परेजस्तो देखिन्छ । 

                                    ... ...

सुन्धाराबाट बरामद साढे १४ किलो चाँदी र आधा किलो सुन तस्करीको घटनामा प्रहरीले नक्कली भारतीय रुपैयाँ कारोबारमा जेलमा रहेका युनुस अन्सारीको ‘कनेक्सन’ खोज्न थालेको छ । तस्करीमा संलग्न मुख्य अभियुक्त युनुसकै पूर्वसाझेदार भएको पाइएपछि प्रहरीले अनुसन्धानमा उनको ‘कनेक्सन’ खोज्न थालेको हो । यद्यपि, घटनामा कमिसन पाउने चक्करमा प्रहरी अधिकारीबाटै समेत त्रुटि भएको पाइएको छ । 

तस्करीमा संलग्न मुख्य अभियुक्त पर्साका इल्ताफ हुसेन अन्सारी युनुसकै पूर्वसाझेदार भएको पाइएपछि प्रहरीले अनुसन्धानको एउटा पाटो युनुसतिर मोडेको छ । इल्ताफ नक्कली भारतीय रुपैयाँ तस्करीमा यसअघि जेल सजाय भुक्तान गरेका व्यक्ति हुन् । प्रहरीका अनुसार युनुस र इल्ताफले संयुक्त रूपमा नक्कली भरतीय रुपैयाँको कारोबार गर्थे । युनुसकै छत्रछायामा इल्ताफ नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको प्रहरीको दाबी छ । 

यसैलाई आधार मानेर प्रहरीले १४ किलो चाँदी र आधा किलो सुन तस्करीमा युनुसको संलग्नता खोज्न थालेको हो । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘अनुसन्धान विभिन्न कोणबाट हुन्छ र एउटा कोण युनुसतर्फ केन्द्रित भएको साँचो हो । तथ्य के आउला पछिको कुरा हो । इल्ताफ र युनुस नक्कली भारतीय रुपैयाँको कारोबारमा विगतमा सँगै संलग्न भएको घटना स्थापित नै छ । त्यसो हुँदा अहिले पनि यी दुईबीच सम्बन्ध हुन सक्ने हाम्रो अनुमान छ । त्यसैले अनुसन्धान गरिनु स्वाभाविक हो ।’

नक्कली भारतीय रुपैयाँ कारोबारमा पटक–पटक पक्राउ परेका युनुस अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । मंगलबार सुन्धाराबाट एकाएक गायब भएको स्कार्पियो अन्सारीकै निवासस्थल नख्खिपोट क्षेत्रमा भेटिएका कारण पनि घटनामा दुईबीच सम्बन्ध हुन सक्ने प्रहरीको अनुमान छ । 

अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि अनुसन्धान युनुससँग केन्द्रित रहेको संकेत गरे । उनले भने, ‘घटना गम्भीर छ । गम्भीर ढंगले अनुसन्धान हुनु स्वाभाविक हो । यस्ता घटनामा विगतका दिनमा अपराधमा संलग्न अनुसन्धानको घेरामा पर्नु स्वाभाविक हो । सत्य–तथ्य अनुसन्धानपछि खुल्ने विषय हुन् ।’

५७ लाख खर्चेर चाँदीमा जलप

प्रहरीले बरामद गरेको साढे १४ किलो चाँदीमा ५७ लाख रुपैयाँ खर्चेर सुनको जलप लगाइएको खुलेको छ । जलप लगाउने कार्यमा संलग्न मनीष मल्लिक पक्राउ परेलगत्तै यो तथ्य खुलेको हो । उनी बिहीबार पक्राउ परेका थिए । पक्राउलगत्तै लिइएको बयानमा उनले बरामद चाँदीमा ५७ लाख रुपैयाँ मूल्यबराबरको सुनको जलप लगाइदिएको स्वीकार गरेका छन् । उनी सुनचाँदीको गरगहना बनाउने कालिगढ हुन् ।

न्युरोडको सुनपसलमा कार्यरत उनको कौशल पटेलसँग चिनजान थियो । पटेलकै निर्देशनपछि उनले चाँदीमा सुनको जलप लगाइदिएका थिए । कौशलको लाजिम्पाटमा जेम एन्ड ज्वेलरी नामको सुनपसल छ । लामो समयदेखि लाजिम्पाट क्षेत्रमा कार्यरत प्रहरी जवान बहादुरसिंह कठायतसँग उनको त्यहीँ चिनजान भएको थियो । 

घाटा उठाउन सुराकी, कमिसनका चक्करमा डिएसपी पनि 

अनुसन्धानमा कमिसन पाउने चक्करमा प्रहरी अधिकारीबाट केही त्रुटि भएको पाइएको छ । घटनाको अनुसन्धानमा संलग्न काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवालीले भने, ‘घटनालगत्तै अनुसन्धान भयो । रिपोर्टिङ भएजस्तो घटना अनुसन्धानपछि देखिएन । बुझ्दै जाँदा तस्करसँग प्रहरी जवान मिलेको देखियो । उनीहरूले डिएसपीलाई गलत रिपोर्टिङ गरे । तर, डिएसपीले त्यसलाई बुझ्न सकेनन् । सुन पक्राउपछि आउने वैध कमिसन पाउने लोभमा पनि उनी कहीँ–कतै परेजस्तो देखिन्छ । अर्को जस पाउने चाहनाबाट पनि प्रेरित भएको देखिन्छ । त्यसैले उनले माथि रिपोर्टिङ ढिलो गरे । त्यसो हुँदा घटना रहस्यमय बन्न पुग्यो ।’

सुनको कारोबारमा संलग्न कौशल पटेल व्यवसाय उकास्न चाहन्थे । सुन तस्करमा संलग्न पर्साका इल्ताफ हुसेन अन्सारीसँग उनको कारोबारकै क्रममा चिनजान थियो । यही क्रममा उनले हुसेनबाट साढे १४ केजी चाँदीमा सुनको जलप लगाउने जिम्मा पाए । उनले चाँदीमा जलप लगाउन भने न्युरोडको सुनपसलमा कार्यरत मनीषलाई दिए । चाँदीमा सुनको जलप लगाउन मात्रै ५७ लाख रुपैयाँ खर्च भएको उनलाई थाहा थियो ।

अनुसन्धानमा सहभागी एक अधिकारीले सुनाए, ‘जलप लगाइएको साढे १४ केजी चाँदीमा आधा किलो सुनको टुक्रा मिसाई तस्कर गर्ने योजना इल्ताफको थियो । योजनामा उनी पनि सामेल थिए । सोही क्रममा स्थानीय प्रहरीलाई मिलाउने जिम्मा उनले पाएका थिए । यसबापत उनले कमिसन पाउने पक्का थियो । तर, काम सजिलो थिएन । उनले तस्कर गर्न लागिएको सुन, सुनको जलप र चाँदीको मूल्य हिसाब गरेर जोडे । हिसाब एक करोड रुपैयाँभन्दा धेरै निस्कियो । अब घटनाको सुराक प्रहरीलाई दिँदा वैध रूपमा आउने सुराक भत्ताको उनले हिसाब गरे । फाइदा रामै्र हुने देखे ।’

ती अधिकारीका अनुसार अब उनको दिमागमा दुईवटा योजना फु¥यो । पहिलो योजना सफल भए इल्ताफबाट कमिसन लिने, विफल भए वैध रूपमा पाउने सुराक भत्ता लिने । तीर जुन चल्दा पनि सिकार मार्ने मनसायबाट प्रेरित उनले आफ्नो योजना नियमित सम्पर्कमा रहेका प्रहरी जवान बहादुरसिंह कठायतलाई भने । कठायतले योजना अर्का प्रहरी जवान प्रसन्न श्रेष्ठलाई भने । फाइदा हुने भएपछि कौशलको योजनामा दुवै सहजै सामेल भए । घटनमा भाइ देवान पटेललाई पनि सहभागी गराए । अनि उनी तस्करका मुख्य योजनाकार इल्ताफ र प्रहरी जवान कठायत दुवैसँग दोहोरो सम्पर्कमा बसे ।

ती अधिकारी थप्छन्, ‘योजनाअनुसार नै जवान कठायतले प्रहरी ‘मुभमेन्ट’को सबै योजना कौशललाई रिपोर्टिङ गर्थे, कौशलले इल्ताफलाई । यही क्रममा मंगलबार सबेरै सामग्री तस्करीको योजना बन्यो । तर, त्यस दिन प्रहरीको मुभमेन्ट अन्य दिनभन्दा बाक्लो हुने देखियो । तस्करी सफल नहुनेजस्तो लागेपछि उनीहरू अब कानुनी रूपमा प्राप्त हुने वैध कमिसन लिने पक्षमा उभिए ।’ 

योजनाअनुसार सामग्री बा.६च ५५१९ नम्बरको स्कार्पियोमा राखियो । स्कार्पियो इल्ताफ आफैँले हाँके । भित्र बसेर उनलाई सघाइरहेका थिए अन्य दुई भाइले । कौशलले स्कार्पियो सेराटन होटेलबाट कमलपोखरी हुँदै कमलादीबाट जाने योजना बताए । उक्त योजना प्रहरी जवान कठायतले अर्का प्रहरी जवान श्रेष्ठलाई भने । श्रेष्ठमार्फत योजना महानगरीय प्रहरी वृत्त दरबामार्गका डिएसपी रञ्जन दाहालसमक्ष पुग्यो । रञ्जनलाई प्रहरी जवान श्रेष्ठले तस्कर गर्न लागिएको सबै सामग्री सुन भनेर रिपोर्टिङ गरेका थिए । 

तस्करीको रुट महानगरीय प्रहरी वृत्त कमलपोखरीको क्षेत्रभित्र पथ्र्यो । घटनाको जानकारी कमलपोखरी वृत्तमा दिँदा पक्राउ पर्ने सुनको कमिसन त्यहाँका अधिकारीसँग पनि बाँड्नुपथ्र्यो । सुन पक्राउको जस पनि अरूले नै लिन्थ्यो । त्यसो हुँदा डिएसपी रञ्जनले तस्करलाई आफ्नै क्षेत्रमा ल्याएर पक्राउ गर्ने योजना बनाए । सोहीअनुसार कमलादीमा एम्बुस थापेर बसे । 

अनुसन्धानमा सहभागी अधिकारीले सुनाए, ‘तर, सामग्री बोकेको गाडी त्यो रुटबाट आएन । किनकि त्यहाँ प्रहरीको एम्बुस भएको सूचना कठायतबाट कौशल हुँदै इल्ताफले पाए । त्यसवेलासम्म स्कार्पियो सडकमा निस्किसकेको थियो । आत्तिएका कौशलले इल्ताफलाई रुट बदल्न भने । सोहीअनुसार इल्ताफले रुट बदले । कौशलमार्फत जानकारी पाएका प्रहरी जवान कठायतले गाडीको पिछा गरे । योजना असफल हुने पक्का भएपछि कौशलले तस्करीका लागि तयार सामग्री पिछा गर्दै आएको मोटरसाइकलमा सवार कठायतलाई दिन भने । यसबापत स्कार्पियो पक्राउ नगर्ने वचन कठायतले कौशललाई दिइसकेका थिए ।’ 

सोही योजनाअनुसार स्कार्पियो सुन्धारामा रोकियो । स्कार्पियोबाट एकजना तस्करको सामग्री र दुई थान पेस्तोल पोको पारिएको झोलासहित झरे । कठायतले उनलाई नजिकै रहेको ओभरहेड ब्रिजमा लिएर गए । सामग्री बुझे । अनि स्कार्पियोलाई बिदा गरे । लगत्तै सामग्री बरामद भएको, तर गाडी फुत्किएको रिपोर्टिङ डिएसपी रञ्जनलाई दिए । रञ्जन तुरुन्तै घटनास्थल आइपुगे । तर, घटनाको पृष्ठभूमि उनले बुझ्दै बुझेनन् । सोही कारण उनले घटनाको रिपोर्टिङ माथिल्लो निकायमा निकै पछि गरे । त्यसवेलासम्म स्कार्पियो सानेपा पार गरिसकेको थियो ।

हिरा लुटमा समेत जवान कठायत र श्रेष्ठ संलग्न 

प्रहरीका अनुसार गत चैतमा मकवानपुरको कैलाश गाउँपालिका–५ चौकीटारकी ७० वर्षीया धनलक्ष्मी गुरुङको घरमा हिरा लुट्ने घटनामा समेत प्रहरी बहादुरसिंह कठायत र अर्का जवान प्रसन्न श्रेष्ठ संलग्न थिए । तर, त्यसवेला उनी पक्राउ परेका थिएनन् । प्रदेश ३–०१ –०२२ च ३३ ६२ नम्बरको फोर्ड कम्पनीको गाडीमा हिरा लुट्न जानेमा महानगरीय प्रहरी वृत्त दरबारमार्गकै २६ वर्षीय प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र बसेल, प्रहरी जवानहरू वीरबहादुर बस्नेत र हेमकान्त पुनमगर त्यसै वेला पक्राउ परेका थिए । घटनामा पत्रकार सुजन आचार्यसमेत पक्राउ परेका थिए ।