मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १६ शुक्रबार १८:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

घरेलु हिंसाका घटना प्रहरीमा आउन थाले

Read Time : > 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार १८:३५:००

जिल्ला प्रहरी कार्यालय लमजुङको महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रमा हिंसाका घटनाका उजुरीहरू बढ्न थालेका छन् । प्रहरी कार्यालय महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख नन्दु अधिकारीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटनाहरू बाहिर आउन थालेको बताइन् । 

‘उजुरी दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटनाहरू बढ्दै गएको देखिएको छ । तर, त्यसो भन्दैमा पहिला घरेलु हिंसा हुँदै नभएका र अहिले धेरै भएका भने होइनन्,’ अधिकारीले भनिन्, ‘पहिले झनै धेरै घटना हुन्थे, बाहिर आउन नसकेर मात्रै हो । अहिले यस्ता घटनाहरू खुलेर आउन थालेका छन् । महिला दिदीबहिनीहरूमा हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाको विकास भएको छ ।’
 
जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रमा आएको उजुरीमा धेरैजसो घरेलु हिंसाका घटना रहेको अधिकारीले बताइन् । महिला तथा घरेलु हिंसाका घटना शिक्षित तथा अशिक्षित दुवै परिवारमा हुने बेसीसहर नगरपालिकाकी उपप्रमुख लक्ष्मी अधिकारी बताउँछिन् । उनी भन्छिन्, ‘शिक्षित परिवार छ भन्दैमा हिंसाका घटना हुँदै नहुने र अशिक्षित परिवार छ भन्दैमा बढी हुने होइन ।’ समाजमा हुने यस्ता खालका घटना न्यूनीकरणका लागि सुरुवात आफैँबाट हुनुपर्ने उनको भनाइ छ । 

महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि चौतर्फी पहल भए पनि लमजुङमा हिंसामा परेर न्यायको माग गर्दै प्रहरीसमक्ष पर्ने उजुरीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । आर्थिक वर्ष ०७६/७७ मा ७९ वटा हिंसाको उजुरी परेको छ । जसमध्ये घरेलु हिंसाको ६१ र ठाडो उजुरी १८ वटा प्रहरी कार्यालयमा आइपुगेको छ । आ.व ०७५/७६ मा एक सय ३८ वटा हिंसाको निवेदन परेकोमा घरेलु हिंसाको १२ र ठाडो उजुरीको एक सय २६  रहेको छ । आर्थिक वर्ष ०७४/७५ मा एक सय १७ वटा हिंसाको उजुरी परेको छ । जसमध्ये घरेलु हिंसाको ७९ र ठाडो उजुरी ३८ वटा प्रहरी कार्यालयमा आइपुगेको अधिकारीले बताइन् । 

महिला तथा बालबालिका सेवा केन्द्रमा परेका उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायसी झैझगडा, बहुविवाहलगायतको घटना रहेका छन् ।

पछिल्लो समय घरेलु हिंसाको घटना बढ्दै जानुमा वैदेशिक रोजगारी मुख्य समस्याको रूपमा देखापरेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा बताउँछन् । वैदेशिक रोजगारमा जाने पुरुष तथा महिलाको सङ्ख्या बढेसँगै घरेलु हिंसाको घटना पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक थापा बताउँछन् । श्रीमान् घर नभएकाले महिलाहरू परपुरुषको सम्पर्कमा रहनाले हिंसामा पर्ने तथा पारिवारिक स्थितिमा कटुता आउने कारणले पनि घरेलु हिंसाको घटना बढ्न थालेको उनको भनाइ छ ।