मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १६ शुक्रबार १६:०६:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विराटनगरमा लकडाउन : शनिबारदेखि महानगरपालिकाभित्र दुई हप्ता पूर्ण लकडाउन

Read Time : > 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार १६:०६:००

कोरोना भाइरस संक्रमण समुदायस्तरमा गएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा शनिवाबारदेखि दुई हप्ता पूर्ण लकडाउन गरिने भएको छ । 

पछिल्ला दिनहरूमा समुदायस्तरबाट कोरोना संक्रमितहरूको संख्या अत्यधिक बढ्न थालेपछि शुक्रबार बसेको महानगरस्तरीय कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को बैठकले विराटनगर महानगरपालिका शनिबारदेखि आगामी १४ दिनका लागि पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । 

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार शनिबार बिहान १ बजेदेखि लागू हुने लकडाउन पहिलेको जस्तो खुकुलो भने हुनेछैन । अर्थात् यस लकडाउन अत्यन्त कडाइका साथ पालना गराइने उनले बताए । 
लकडाउनलाई प्रहरी, प्रशासन, महानगरपालिका, नागरिक समाज र उद्योगी व्यवसायीहरूको सहयोगबाट पूर्ण रूपमा कार्यान्वयन गराइनेछ । 

लकडाउन अवधिमा नेपाल–भारत सीमानाका पूर्ण रूपमा बन्द गरिनेछ । 

यसैगरी हरेक व्यक्तिलाई मास्क अनिवार्य गरिनेछ । अटेर गर्नेहरूलाई तत्काल त्यहीँ जरिवाना गरिने कार्कीले बताए । 

बाेर्डर सिल भए पनि लुकिछिपी आउनेहरूले गर्दा महानगरमा कोरोना संक्रमण बढेर समुदायस्तरमा गएको निष्कर्ष महानगरपालिकाको छ ।

यसैले नागरिकहरूलाई नै जिम्मेवार बनाएर लकडाउन पालना गराउँदै पिसिआर परीक्षणको दायरा बढाउने योजना महानगरपालिकाको छ ।

विराटनगरमा चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरीलगायतमा कोरोना संक्रमण देखापरिसकेको छ । 

पछिल्लोपटक फेलापरेका संक्रमितहरू खुलेआम हिँडडुल गर्ने गरेका व्यक्ति र पसलेहरूसमेत पाइएका छन् । 

महानगरपालिका जनस्वाथ्य महाशाखाका अनुसार शुक्रबारसम्म कोरोना संक्रमितहरूको संख्या एक सय सातजना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ३० जना मात्रै निको भएर उपचार केन्द्रबाट डिस्चार्ज भएका छन् । 

विराटनगर महानगरपालिकामा  अझै ४४ जना क्वारेन्टाइनमा छन् । 

दुई लाख ५० हजार जनसंख्या भएको विराटनगरमा हालसम्म २६ सयजनाको मात्र पिसिआर परीक्षण भएको छ । 

बाझिएको थियो महानगरपालिका र प्रदेश सरकारको मत   
विराटनगर महानगरपालिकाले समुदायस्तरमा संक्रमण सुरु भयो भन्दै एक हप्ताअगाडि नै लकडाउन गर्ने तयारी गरेको थियो । 

तर, लकडाउन समाधान हाेइन भन्दै प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले लकडाउन गर्न दिएको थिएन । 

१२ साउनमा बसेको विराटनगर महानगरस्तरीय कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को बैठकले संक्रमण समुदायस्तरमा फैलिसकेकाले कुनै पनि वेला लकडाउन घोषणा गर्न पाउने निर्णय गरेको थियो ।   

तर, प्रदेश सरकारले अनुमति नदिएपछि महागरपालिका र मातहतका सबै कार्यालयहरूबाट अत्यावश्यक सेवा मात्र प्रदान गराउन थालेको थियो ।  

उता १३ साउनमा आयोजना भएको सर्वपक्षीय बैठकमा प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले पछिल्लो समय कोरोना संक्रमणको दर वृद्धि भएको, तर समुदायस्तरमा संक्रमण गइनसकेको बताएका थिए । 

उनले लकडाउनले मात्र संक्रमण नियन्त्रण नहुने बरु व्यक्ति आफैँ सतर्क हुनुपर्नेमा जोड दिएका थिए ।  

तर, १६ साउन अर्थात् शुक्रबार बसेको बैठकबाट प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्था विश्लेषण गरी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्न पाउने अधिकार स्थानीय तहलाई दिने निर्णय गरेका थियो ।