मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल सुर्खेत
२०७७ श्रावण १६ शुक्रबार १५:१४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कालिकोटमा पहिरो : एक साताभित्र पहिरोमा परी १९ को मृत्यु, ६ बेपत्ता, मृतकका परिवारलाई चार लाख राहत दिइने

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ श्रावण १६ शुक्रबार १५:१४:००

कालिकोटमा पहिरोमा परेर एक सातामा १९ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । 

जिल्लाको विभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर मृत्यु र बेपत्ता भएका हुन् । 

कालिकोटमा एक साताको अवधिमा जिल्लाका विभिन्न ठाउँमा बाढी तथा पहिरोमा परेर १९ जनाको मृत्यु र ६ जना बेपत्ता भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । 

‘बिहीबारसम्म १७ जनाको मृत्यु भएको थियो,’ उनले भने, ‘आज बिहान थप दुईजनाको पहिरोमा परी मृत्यु भएको छ ।’

बाढी–पहिरोमा परेर कालिकोटको नरहरिनाथ गाउँपालिकामा नाैजनाको मृत्यु र एकको बेपत्ता, रास्कोट नगरपालिकामा तीनको मृत्यु, पाँच बेपत्ता, खाँडाचक्र नगरपालिकामा एकजनाको मृत्यु, महावै गाउँपालिकामा दुईजनाको मृत्यु र पलाँता गाउँपालिकामा एकजनाको मृत्यु, सान्नी त्रिवेणी गाउँपालिकामा दुईजना र पचालझरना गाउँपालिकामा एकजनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए । 

बाढीपहिरोको क्षतिका विषयमा अहिले पनि सूचना संकलन गरिरहेको अन्य क्षतिका विषयमा विस्तृत विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए । 

‘घर भत्किएको घरबारविहीन भएको विषयमा अहिलेसम्म पूरै विवरण आएको छैन,’ उनले भने, ‘प्रहरीमार्फत सूचना संकलन गरिरहेका छौँ ।’

बेपत्ता तथा मृतकका परिवारलाई राहत दिने
पहिरोमा परी मृत्यु भएका तथा बेपत्ता भएका परिवारलाई दुई लाखका दरले संघीय सरकारमार्फत राहत दिने प्रमुख जिल्ला अधिकारी गैरेले बताए । 

‘विगतमा बाढीपहिरोलगायतका विपतमा परी मृत्यु भएकालाई एक लाख राहत दिने संघीय सरकारको निर्णय भएको थियो,’ उनले भने, ‘केही दिनअघि दुई लाख राहत उपलब्ध गराउने संघीय सरकारको निर्देशन रहेको छ ।’ 

बाढीपहिरोको क्षतिको अवलोकन भ्रमणमा गएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा बाढीपहिरोमा परेर घरबारविहीन भएकालाई आवासका लागि प्रदेश सरकारले घर बनाइदिने बताए । 

‘पहिरोमा परेर घरबारविहीन भएकालाई प्रदेश सरकारले घर बनाउनेछ,’ उनले भने, ‘पहिरोमा परेर अन्य क्षति भएकालाई राहतको व्यवस्था गरिनेछ ।’

मुख्यमन्त्री शाहीले पहिरोमा परेका मृतकका परिवारलाई संघीय सरकारबाट दुई लाखका दरले र प्रदेश सरकारको विपत् बिमाबापत् दुई लाख गरेर चार लाख राहत उपलब्ध गराइने बताए ।