मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १६ शुक्रबार ११:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १६ शुक्रबार ११:११:००

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि शुक्रबारदेखि चौथो चरणको उद्धार उडान सुरु भएको छ ।  कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो ।

नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान–तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान–तालिका बनेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान–तालिकाअनुसार नेपाल एयरलाइन्सले सो अवधिसम्म जम्मा १८ उडान गर्नेछ । युएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ ।
 
हिमालयले पनि साउन २३ सम्म कुल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ । यस्तै नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि चार्टर्ड उडान गर्नेछन् ।

जजिरा एयरले कुवेत, इत्तेहाद एयरले अबुधाबी, एयर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । सोही अवधिमा मालिन्दो  एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय उडान हुँदै छन् । नेपालीलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सले आज कुवेत र दुबईबाट चार्टर्ड उडान गर्दै छ । हिमालय एयरलाइन्सले दोहा र अबुधाबीबाट नेपाली काठमाडौं ल्याउनेछ । एयरलाइन्सले कुवेतबाट दुई उडान गरी नेपाली फर्काउने जनाएको छ ।
    
हिमालयकै जहाज आज बिहान ७ बजे चीनको कुनमिङ र श्री एयरलाइन्सको जहाज बैंकक प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ । मालिन्दो एयरले क्वालालम्पुरबाट आजै नेपाली ल्याउँदै छ ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयअनुरूप चौथो चरणको उडानका लागि ५४ वटा उडान अनुमति दिएको छ ।

अहिलेसम्म ३६ हजारभन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने निर्णय गरिसकेको छ । रासस