मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार १०:११:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १६ शुक्रबार १०:११:००

लेखक सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक भएको छ । पब्लिकेसन्स नेपालयले उपन्यास प्रकाशित गरेको हो । यो उनको पहिलो साहित्यिक कृति हो ।

आफ्नो औपन्यासिक कृतिबारे गौतम भन्छिन्, ‘महिलाको पहिचानलाई घरेलुपनले सधैँ बन्धनमा पारेको हुन्छ । तर, अब हामी इतिहासको मध्यमोडमा उभिएका छौँ, जहाँ पुरुष र महिला लिंगका आधारमा मात्र परिभाषित हुने वेला छैन । अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तव्य तय गर्न सक्दैन ।

हाम्रा चुनौती अमूर्त छन्, संघर्ष नौला छन् । यस्तै चुनौती र संघर्षमा जेलिएको एक आमपात्रको कथा हो, डुमेरो ।’ गौतमले पत्रकारिताबाट आफ्नो लेखकीय जीवन आरम्भ गरेकी हुन् । वर्षौंदेखि उनले आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारको रूपमा स्थापित गरेकी छन् । 

प्रकाशक संस्था नेपालयकी भूषिता वशिष्ठ लेखिका गौतमले वकालत गर्ने भाषाको अराजनीतीकरणको धारणा उनको पुस्तकमा पनि देखिएको बताउँछिन् । ‘गौतम पात्रहरूका सशक्तीकरण, पहिचान र बदलिँदा सम्बन्धका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा उधिन्छिन्,’ वशिष्ठ भन्छिन्, ‘उनको शैली निडर, बेलगाम र समसामयिक छ । यो पुस्तकले नेपालयको आख्यान प्रकाशनमा विविधता अँगाल्ने प्रतिबद्धतालाई पनि उजागर गरेको छ ।’

शीर्षक ‘डुमेरो’ आफैँमा नौलो शब्द रहेको र कुनै गन्तव्यविहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ बोक्ने उनको भनाइ छ । नेपाली बजारका लागि ‘डुमेरो’को मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको छ ।