१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
जोन मेत्ता
२०७७ श्रावण १६ शुक्रबार ०८:४५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

५० वर्षको कठोर परिश्रमले गरिबलाई केही दिएन

धनी हुन कठोर परिश्रम गर्दा पुग्थ्यो भने हामी सबै राजाको जस्तो जीवन बाँचिरहेका हुन्थ्यौँ 

Read Time : > 2 मिनेट
जोन मेत्ता
२०७७ श्रावण १६ शुक्रबार ०८:४५:००

म सानो छँदा मैले एउटा पाँच डलरको नोट हराएको थिएँ । मेरो परिवारसँग त्यो हप्ता खानका लागि केही भएन । पारिवारिक बिजनेसका रूपमा रहेका त्यतिवेलाका किराना पसल अहिलेजस्ता नवीन थिएनन् । तर, ती बिस्तारै सहरमा नसाजस्तै फैलिँदै गएका थिए । जहाँ म हुर्किएँ, त्यसको दुई घर पर एउटा किराना दोकान थियो । मलाई पाँच डलर दिएर त्यहाँ पाउरोटी, मासु, गाजर, प्याज र स्याउ किन्न पठाइएको थियो, जुन मैले हराएँ र हामीले निकै कठिन सप्ताह बिताउनुपरेको थियो । तर, हामी स्कुलबाट आइतबारका दिन पाउडर दूध, चिज र बटर सित्तैंमा पाउँथ्यौँ, जसका लागि निकै लामो लाइनमा उभिनुपथ्र्याे । मैले त्यसबारे कहिल्यै कुरा गरिनँ । तर, त्यसपछि सधैँ नै सबै मानिस राजसी ठाँटमा रहेको काल्पनिक संसार (युटोपिया)को कल्पना गर्न थालेँ । मैले कल्पना गरेको संसार अहिले हामी बाँचेको संसारजस्तै थियो, यसमा एउटा कुरा मात्रै फरक छ– यो संसारमा हामीलाई अरू मानिसबारे कुनै वास्ता हुँदैन ।

हाम्रो समाज कठोर परिश्रम गर्ने जोकोही धनी हुन सक्छ भन्ने तथाकथित मेरिटोक्रेसीको झुटको पूजा गर्छ । मलाई थाहा छ, गरिबका परिवार कति धेरै कठोर परिश्रम गर्छन् । मेरी आमा दुईवटा काम गर्नुहुन्थ्यो र स्कुल पनि जानुहुन्थ्यो । तर, जति नै कठोर परिश्रम गरे पनि उनीहरू बाँचेका छन् कि मरे, समाजलाई कुनै वास्ता हुँदैन । यो कटु यथार्थ कति किशोर–किशोरीलाई थाहा होला ? तिनका नाति–नातिनासमेत अझै उस्तै गरिबीमा बाँच्नेछन् भन्ने उनीहरूलाई थाहा छ ?

अर्थशास्त्री र राजनीतिज्ञ कुल गार्हस्थ उत्पादन (जिडिपी)लाई हाम्रो सफलताको रूपमा प्रस्तुत गर्छन् । विश्व बैंकको तथ्यांकअनुसार सन् १९६४ मा ६ खर्ब ८६ अर्ब रहेको अमेरिकाको जिडिपी (अहिलेको डलरमा संयोजित) सन् २०१८ मा बढेर २०५ खर्ब डलर पुगेको छ । ३० गुणा बढेको हाम्रो अर्थतन्त्रले एउटा सुन्दर तस्बिर प्रस्तुत गर्छ । यसैगरी, यसले सन् १९६४ मा रहेको प्रतिघन्टा साढे २ डलर रहेको औसत पारिश्रमिक सन् २०१८ मा बढेर साढे २२ डलर माथि पुगेको सुन्दर तस्बिर पनि जिडिपीको तथ्यांकले प्रस्तुत गर्छ ।

५० वर्षको आर्थिक वृद्धिले कठोर परिश्रम गर्ने गरिबलाई केही दिएन, अझै पनि हामी मेरिटोक्रेसीलाई भगवान जत्तिकै स्तुति गर्दै छौँ र गरिबलाई नै गरिब हुनुमा दोषी ठहर गर्दै छौँ ।

तर, पिउ रिसर्च सेन्टरको आलेखले भने सन् १९६४मा साढे दुई डलरको जति पर्चेचिङ पावर (क्रयशक्ति) थियो, अहिलेको २०.२७ डलरको पनि उत्तिकै छ । प्रतिघन्टाको वास्तविक ज्याला जति बढेको छ, मुद्रास्फीति पनि उत्तिकै बढेको छ, जसबाट वस्तु तथा सेवाको मूल्य पनि बढेको छ । यसरी, स्फीतिले ती मूल्यवान् उपलब्धिलाई खाइदिएको छ । यसर्थ, औसत अमेरिकी कामदारको वास्तविक क्रयशक्ति ५० वर्षसम्म पनि लगभग उही छ, अमेरिकी आर्थिक वृद्धिको केही पनि लाभ अमेरिकी कामदारको हातमा पुगेन।

आर्थिक वृद्धिबाट बढेको सम्पत्ति कठोर परिश्रमका बाबजुद झन्–झन् धनीहरूमा केन्द्रीकृत हुँदै गएको छ । सन् १९७० यता म सानो छँदा जाने गरेको जस्तो किराना स्टोरलाई अहिले ठूला कर्पाेरेट चेनहरूले प्रतिस्थापन गरेका छन् । ती स्टोर क्रयशक्तिलाई सन् १९६७ कै जतिको बनाइराख्ने स्थान बनेका छन् । जब कि अर्बपतिहरू ती स्टोरलाई संसारभरको सम्पत्ति आफूमा थुपार्न प्रयोग गर्दै छन् ।

धनी हुन कठोर परिश्रमक गरेर पुग्थ्यो भने हामी सबै राजाको जस्तो जीवन बाँचिरहेका हुन्थ्यौँ । कठोर परिश्रमी जतासुकै छन्, उत्तरपूर्वका परियोजनादेखि एप्पलासियाको कोइलाखानी र दक्षिणी क्यालिफोर्नियासम्म, पेरिसका काँठदेखि ब्राजिलका झुग्गी (स्लम) र चीनका फ्याक्ट्रीसम्म । तर, ५० वर्षको आर्थिक वृद्धिले कठोर परिश्रम गर्ने गरिबलाई केही दिएन । अझै पनि हामी मेरिटोक्रेसीलाई भगवान्जत्तिकै स्तुति गर्दै छौँ, र गरिबलाई नै गरिब हुनुमा दोषी ठहर गर्दै छौँ ।

मेरो काल्पनिक संसार राजसी छाँटको होइन, करुणाको तस्बिर हो । मेरो युटोपियामा हामी अहिलेजत्तिकै काम गर्छाैं, तर त्यहाँ हाम्रो आर्थिक सफलता यो कुराबाट मापन गरिनेछैन कि धनी कति धनी छन् । बरु, हाम्रो सफलता हामी हाम्रा गरिबलाई कत्तिको ख्याल गर्छाैं, त्यसमा मापन हुनेछ । हामी गरिबलाई गरिब हुनुको दोष दिँदैनौँ, बरु त्यो प्रणालीलाई ठीक बनाउँछौँ, जसले उनीहरूलाई गरिबीमा धकेल्यो । त्यहाँ एउटा सानो बालकले पाँच डलर हराउँदा उसको परिवार खानबाट वञ्चित हुनेछैन ।

तर, हामीले यो संसार यसरी बनाएका छैनौँ । हामीले हामीमाझका कमजोरको देखभाल सुनिश्चित गर्ने समाज बनाएनौँ । दुर्भाग्यवश मेरो युटोपिया अन्य अधिकांश महान् सपनाजत्तिकै अप्रापनीय लाग्दै छ । किनकि त्यसका लागि लालचलाई करुणाले जित्नुपर्छ । तर, हाम्रा धनी र हाम्रा राजनीतिकर्मीका लागि त्यो अति नै दुष्कर हुनेछ । 

(मेत्ता अमेरिकी लेखक हुन् ।)
अलजजिराबाट