‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराइ गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ? सामाजिक सञ्जालमा गर्नेबराबर अभिनय फिल्ममा पनि गरे हुने नि !’
१४ असारमा अभिनेता भुवन केसीले लेखेको फेसबुक स्टाटस हो, यो । यो स्टाटस अभिनेत्री सम्राज्ञीराज्यलक्ष्मी शाहतर्फ इंगित थियो । शाहले इन्स्टाग्राममार्फत एक भिडियो सार्वजनिक गर्दै नेपाली सिने उद्योगमा काम गर्ने व्यावसायिक वातावरणमाथि प्रश्न उठाएकी थिइन् ।
आफूले व्यावसायिक वातावरण नपाएका कारण आफू कुनै पनि ब्यानरमा नदोहोरिएको उनको भनाइ थियो । उनले आफूलाई धेरैपटक दुव्र्यवहार भएको र अपशब्द प्रयोग गरेर गाली गरेको पनि खुलासा गरेकी थिइन् । उनले आफूलाई कसले दुव्र्यवहार गरेको भनेर नाम भने खुलाएकी थिइनन् । तर, भुवन केसी एकैचोटि साम्राज्ञीविरुद्ध उत्रिए ।
नेपाली चलचित्र क्षेत्रमा सिनियर कलाकारले जे बोल्यो, त्यसलाई मान्नुपर्ने अवस्था छ । तर, पहिलोपटक नायिका साम्राज्ञीले सिनियर कलाकारले गरेको दुर्व्यहारविरुद्ध आवाज मुखरित गरेकी छन् । यो एक हिसाबले पुरुष शोषणविरुद्ध विद्रोह नै हो ।
१८ असारमा भुवनले ‘डियर साम्राज्ञी’ भन्दै आफूले चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिएको नबिर्सन अनुरोध गरे । लामो स्टाटसमा आफू ४० वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय रूपमा काम गरेर प्राप्त गरेको प्रतिष्ठामा आँच पुग्ने पोस्ट नगर्न चेतावनी पनि गरे । उनको यो भाषा अनुरोधभन्दा ज्यादा धम्कीपूर्ण थियो । साथमा, केसीले प्रचलित कानुनको प्रयोग गरी मानहानिको मुद्दा लगाउने र यथोचित क्षतिपूर्ति भराउने कुरा पनि लेखे ।
‘कानुनबमोजिम सजायको भागीदार बनाउनका निमित्त आवश्यक कानुनी प्रक्रियाको थालनी गर्ने व्यहोरा तपाईंलाई बडो दुःखका साथ जानकारी गराउँदछु,’ उनले अन्तिममा लेखेका छन् । केसी को यो स्टाटसको अभिप्राय साम्राज्ञीलाई अनुरोध नभएर धम्की थियो । धम्कीपूर्ण भाषामा साम्राज्ञीलाई अनुरोध गर्नुपछाडिको ध्येय उनलाई चुप लगाउनु नै देखिन्छ ।
भुवन केसीले साम्राज्ञीविरुद्ध दश करोडको क्षतिपूर्ति माग गर्दै गत शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता पनि गरिसकेका छन् । भुवनको व्यवहारविरुद्ध साम्राज्ञी परिवार पनि कानुनी उपचारमा जाने भएको छ । ‘कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन व्यवसायीसँग परामर्श भइरहेको छ, एक–दुई दिनभित्र एउटा निर्णयमा पुग्छौँ,’ साम्राज्ञीकी आमा नेहा शाहले भनिन्।
...
चलचित्रकर्मी तथा समीक्षक मनोज पण्डित नेपालको सामाजिक मूल्य मान्यतामा तीन–चारवटा विषय सधैँ दमित रहेको बताउँछन् । ती विषय दलित, महिला, आर्थिक विपन्न र पिछडिएको ठाउँमा रहने उनको भनाइ छ । पीडकले सधैँ पीडितको आवाज दबाउनका लागि गर्ने अनेक तिकडम नौलो नभएको पण्डित बताउँछन् ।
‘पीडितलाई पीडकले धम्कीपूर्ण भाषा प्रयोग गर्छ । यसमा उसले साहित्यिक भाषा प्रयोग गर्छ, उसलाई लेखिदिने लेखक पनि हुन्छन् । यस्तो विषय पीडकका लागि प्रतिष्ठाको कुरा हुन्छ, पीडितका लागि न्यायको । पीडकसँग स्रोतसाधन, मिडिया हुन्छ, पीडितसँग आवाज मात्र,’ उनी भन्छन्, ‘सिनेमाको पटकथाले नै भन्छ, पीडितले संघर्ष गर्नुपर्छ, पीडकले दबाउँछ । पीडितले न्यायका लागि संघर्ष गर्नुपर्छ । तर, पीडकले जति दबाब दिन्छ, धम्की दिन्छ, पीडित उति सही प्रमाणित हुँदै जान्छ ।’
पीडकले जति आफूलाई प्रतिरक्षा गर्दै जान्छ, अवधारणा निर्माण गर्दै जान्छ, पीडितको बोली उत्तिकै सार्थक बन्दै जाने गर्छ । तर, अहिले भुवन केसी र साम्राज्ञीको विषय जसरी बाहिर आइरहेको छ, त्यसले उनको आवाजलाई झनै बलियो बनाएको अनुमान छ, पण्डितको । ‘पीडकको स्वर ठूलो हुनासाथ पीडितको आवाज दबिन्छ भन्ने होइन । तत्काल पीडितहरू बोल्न नसक्लान्, मौन होलान्, तर मौन हुनु भनेको पीडकका लागि मौका भने अवश्य होइन,’ उनले भने ।
...
नेपाली चलचित्र क्षेत्रमा अहिलेसम्म सिनियरहरूकै दबदबा कायम छ । सिनियरहरूले जे भन्यो, नयाँ कलाकारले त्यही मान्नुपर्ने अवस्था छ । त्यसमा पनि पुरुष कलाकारले जे बोल्यो, त्यसलाई मान्नुपर्ने चलन छ । तर, नायिका साम्राज्ञीले पहिलोपटक सिनियर कलाकारले गरेको शोषणविरुद्ध आवाज मुखरित गरेकी छन् । यो एक हिसाबले पुरुष शोषणविरुद्ध विद्रोह नै हो । तर पनि उनको आवाजमा उनका समकालीन महिला कलाकारले बोलेको देखिएको छैन । लगभग सबै मौनजस्ता छन् । कसैको आवाज बाहिर आइरहेको देखिँदैन ।
यो शक्तिशाली मान्छेको विरुद्ध आवाज उठाउन डराउने मनोविज्ञानले अभिप्रेरित हुनुको नतिजा हो भन्छन्, समीक्षक अनुप सुवेदी । यस्तो समस्या सबै क्षेत्रमा रहेको उनको विश्लेषण छ । ‘यसरी मान्छेहरू मौन बसिदिनुमा त्यही शक्तिको असर हो । भुवन केसी आफैँमा उद्योगको शक्तिशाली मान्छे हो।
त्यो मनोविज्ञानले पनि काम गरेको होला,’ सुवेदी भन्छन्, ‘पुरुषहरू नबोल्नुमा आफू पनि आरोपित भइएला कि भन्ने सोचले हुन सक्छ । यदि यस्तो विषयमा बोलिहाले अनेक आरोप आउला भन्ने भयका कारण पनि हुन सक्छ । अब दीपाश्री निरौलाले उठाएको कुरा ठीकै थियो, तर उसैलाई सबैले आक्रमण गरे । यसले मानिसमा ठूलो भय निर्माण गरिरहेको छ ।’
तर, अभिनेत्री बेनिशा हमाल आफूहरू यस्तो विषयमा मौन नबसेको बताउँछिन् । साम्राज्ञीले जुन विषय उठाएकी छन्, त्यो गलत नभएको उनको धारणा छ । यदि कसैले दुव्र्यवहारको प्रमाण खोज्छ भने त्यसको प्रमाण उसको बोली नै हुने दाबी गर्छिन्, बेनिशा । ‘यदि उसले आफ्नो आवाज बाहिर ल्याइरहेकी छ भने त्यो नै ठूलो प्रमाण हो । उसलाई समर्थन गर्नुपर्छ ।
यदि हामीले समर्थन गरेनौँ भने र उसको आवाज दबियो भने भोलिका दिनमा दुव्र्यवहारमा परेकाले बोल्ने हिम्मतै गर्दैनन्,’ उनी भन्छिन्, ‘यदि पीडितको आवाज सही ठाउँमा पुग्दैन भने भोलिका दिनमा दुव्र्यवहारजस्तो विषयलाई सामान्य रूपमा लिन थालिन्छ । त्यो सबैभन्दा ठूलो दुर्घटना बनिदिन्छ । साम्राज्ञीको मात्र कुरा होइन, अहिले जुन आवाज निस्किएको छ, त्यसलाई हामीले खुलेर समर्थन गर्नुपर्छ ।’ तर, अहिले जुन हिसाबले केही मिडियामा समाचार आइरहेको छ, त्यसले पनि त्रास सिर्जना गरेको उनको तर्क छ ।
...
अहिलेको परिवेश हेर्दै गर्दा साम्राज्ञीको आवाजलाई दबाउनै खोजिएको देखिन्छ । साम्राज्ञीको आवाज या धारणा के छ, उसको मनोत्रास कस्तो छ, कुनै ख्याल गरिएको देखिँदैन । तर, यस्तो परिवेशले पीडितलाई झनै सहयोग गर्ने पण्डित बताउँछन् ।
आफूलाई जति जोगाउन प्रयास गरे पनि, जस्तो भाषा प्रयोग गरे पनि, पीडकको स्वर जति नै ठूलो भए पनि पीडितको आवाज दबाउन नसकिने बताउँछन्, पण्डित । ‘अहिले जुन किसिमको घटना घटिरहेको छ, त्यो निन्दनीय छ । कसैलाई काम दिएको बदलामा उसको स्वाभिमानलाई खेलाउने काम एकदमै निकृष्ट कुरा हो ।’
भर्खरै सोफिया थापाको ‘नो व्रत प्लिज’ बोलको गीतलाई लिएर उनलाई अनेक धम्की दिइयो । हिन्दू धर्मसँग सम्बद्ध मान्छेहरूले उनलाई धम्की दिएर मनोवैज्ञानिक त्रासमा राखे । गीत नहटाए भौतिक आक्रमण गर्ने धम्कीसम्म दिइयो । अहिले यो गीत हाइलाइट्स नेपालले ‘प्राइभेट’मा राखेको छ । यस्तो वेलामा साम्राज्ञीको आवाज ‘नो’ नै रहेको पण्डितको बुझाइ छ ।
यदि उनले त्यही समयमा बोलेको भए त्यो आवाज सानो हुने थियो । आजका दिनमा उनको आवाज ठूलो छ । तर, अहिले साम्राज्ञीले ‘नो’ भनिरहँदा र उनले न्याय पाउँदा त्यो आवाज उद्योगमा आउने नयाँ पुस्ताका लागि ठूलो ऊर्जा हुने पण्डित बताउँछन् । ‘साम्राज्ञीको ‘नो’ तमाम महिलाका लागि हो ।
जो उद्योगमा करिअर खोजिरहेका छन् । यो लडाइँ साम्राज्ञीका लागि कठिन हुन्छ । उनको आवाज पेसाको नाममा शक्तिशालीले दबाउन खोज्ने नियतको नतिजा हो,’ उनी भन्छन्, ‘साम्राज्ञीको आवाजमा सबैको सक्रियता आवश्यक छ । उनलाई मौन रहन बाध्य गराइयो भने भोलिका दिनमा कसैले बोल्न सक्नेछैनन् । साम्राज्ञीले हार्नु भनेको सिंगो उद्योगले हार्नु हो ।’