१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
चितवनको सौराहमा हात्तीलाई चराउँदै माउतेहरू । पर्यटक नआउँदा हात्ती फुर्सदिला भएका छन् ।
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १६ शुक्रबार ०८:१५:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

साढे चार महिनापछि खुले देशभरका होटेल, लकडाउनमा २२ अर्बको क्षति

कोठामा पाहुनाले छोडेको ७२ घन्टापछि मात्रै अर्काे पाहुना राखिने, रुम स्यानिटाइज गरिने, क्यासिनो, स्विमिङ पुललगायतका सुविधा तत्काल नखुलाइने

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १६ शुक्रबार ०८:१५:००

भरतपुरबाट विवेक पोखरेल, पोखराबाट गोविन्द सुवेदी, भैरहवाबाट दीपेश पछाई र काठमाडौंमा केदार दाहाल

कोभिड–१९ का कारण बन्द गरिएका देशभरका होटेलहरू साढे चार महिनापछि बिहीबारबाट खुलेका छन् । कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनका कारण देशभरका होटेलहरू बन्द भएका थिए । लकडाउन खुलेसँगै बिहीबारबाट काठमाडौंसहित धुलिखेल, नगरकोट, पोखरा, सौराह, धनगढी, विराटनगरलगायत क्षेत्रमा पनि होटेल खुलेका छन् ।  होटेल बन्द हुँदा अहिलेसम्म २२ अर्बको क्षति भइसकेको छ । 

होटेल खोल्न सरकारले स्वीकृति दिए पनि ठूला होटेलहरूले भने क्षमताको १० प्रतिशत मात्रै सञ्चालनमा ल्याउने जनाएका छन् । अन्य होटेलहरू पनि थोरै कर्मचारीहरू बोलाएर खुलाएको होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । ‘खोल्नेबित्तिकै अतिथि आउँछन् भनेर होइन, विश्वभर सकारात्मक सन्देश दिलाउनका लागि होटेल खोलेका हौँ,’ शाहले भने । 

सरकारले चार महिनादेखि बन्द हवाई उडान भदौ १ देखि खोल्ने निर्णय गरेसँगै होटेल पनि खुलेका हुन् । भदौ १ देखि एयरलाइन्स तथा लामो दूरीका सवारीसमेत सरकारले खोल्ने निर्णय गरिसकेको छ । भदौ १ पछि स्वास्थ्य प्रोटोकल लागू गराएर अतिथि भित्र्याउने तयारीस्वरूप होटेल खोलेको शाहले बताए । यता रेस्टुरेन्ट बार एसोसिएसनले भने यसअघि नै खुलाइसकेका छन् । विमानस्थलमै पिसिआर चेक गर्ने वातावरण बनाउन सकिएमा विदेशी पर्यटक आउनेसमेत शाहको भनाइ छ ।
 
स्वास्थ्य प्रोटोकलको निर्देशिका होटेलहरूले तयार पारेर तालिमसमेत लिइसकेको हानको भनाइ छ । होटेलमा पाहुना बसेपछि ७२ घन्टापछि मात्रै अर्काे पाहुना राखिनेछ । त्यस्तै, रुम स्यानिटाइज गरिनेछ भने पाहुनालाई एकल खानाको व्यवस्था गरिनेछ । जसमा बफे सिस्टम केही समयका लागि खारेज गरिनेछ । पाहुनाले पनि मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ । स्विमिङ पुल बन्द गरिनेछ । त्यस्तै, क्यासिनोलगायतका होटेलभित्र हुने अन्य गतिविधि पनि तत्काल खोलिनेछैन ।  

लामो समयदेखि बन्द पर्यटन क्षेत्र खुलाइएकाले विश्वभर सकारात्मक सन्देश जाने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी बताउँछन् । ‘होटेल र रेस्टुरेन्ट पनि खुलेको र भदौ १ देखि आन्तरिक र बाह्य दुवै एयरलाइन्स खुल्ने भएकाले आन्तरिक पर्यटनको मुभमेन्ट सुरु हुनेछ,’ रेग्मीले भने । व्यवसायीहरूले अझै पनि आगामी सिजनका लागि २० प्रतिशत बुकिङ बाँकी रहेको बताएका छन् । 

कोभिड–१९ को असरका कारण होटेल क्षेत्रको लगानी नै जोखिममा पर्ने खतरा बढेर गएको भन्दै खुलाएर सहज बनाउन व्यवसायीहरूले माग गरेका थिए । कोरोनाका कारण सबैभन्दा बढी होटेल क्षेत्रलाई असर पार्ने भएकाले बैंकहरूले गरेको लगानीसमेत प्रभावित हुन सक्ने चेतावनी व्यवसायीले दिएका थिए । 

होटेल क्षेत्रमा अहिले १० खर्ब लगानी रहेको अनुमान गरिएको छ । ‘देशभर लगानी भएका होटेलका विषयमा पुराना र नयाँ सबै लगानीको अहिलेको मार्केट भ्यालुमा १० खर्ब लगानीको तथ्यांक निकालेका थियाैँ,’ शाहले भने । सन् २०२१ सम्म पर्यटक आउनेसम्म नआउने भएपछि होटेल क्षेत्रको मात्रै १ खर्बभन्दा बढी गुम्ने अनुमान गरिएको शाह बताउँछन् । अहिले सरकारले ५० अर्बको कोषलाई तत्काल परिचालन गरेर सहज बनाउनुपर्नेमा समेत शाहले जोड दिए । 

दसैँलाई लक्षित गर्दै चितवनका होटेल

चार महिनासम्म बन्द रहेका चितवनका होटेलहरू दसैँलाई लक्षित गरी सञ्चालनमा आउने भएका छन् । लामो समय बन्द रहेका कारण तत्काल सरसफाइलगायतका कामका लागि होटेल खोलिएका छन् । केही दिन होटेल सरसफाइ र व्यवस्थापनमा नै समय लाग्ने क्षेत्रीय होटेल संघ सौराह, चितवनका अध्यक्ष दीपक भट्टराईले बताए । उनका अनुसार २५ प्रतिशत स्टाफ राखेर होटेलहरू अहिले सञ्चालनमा आउनेछन् ।

लामो दूरीका सवारीसाधन र हवाई सेवा सञ्चालनमा आएपछि व्यवसाय पहिलेकै लयमा फर्कने उनको विश्वास छ । होटेलहरूले नेपाल सरकारको निर्देशनअनुसार पर्यटक आउनेबित्तिकै स्यानिटाइजर लगाउने, ज्वरो मापन गर्ने, एकपटक प्रयोग भएको रुम स्यानिटाइजर गरेर ४८ घन्टापछि मात्र सञ्चालन गर्ने, होटेलमा आएकाहरूको रेकर्ड व्यवस्थित ढंगले राख्न संघका तर्फबाट पनि जिल्लामा निर्देशन दिइएको छ ।

देशकै तेस्रो पर्यटकीयस्थल चितवनको सौराहमा मात्र १ सय १० होटेल छन् । जिल्लाभरि साना–ठूला गरेर २ सय ५० होटेल रहेको संघले जनाएको छ । 

सीमा नखुलेसम्म लुम्बिनीका होटेललाई कठिन  

बिहीबारदेखि सरकारले होटेल सञ्चालन गर्न स्वीकृति दिए पनि लुम्बिनीका होटेल व्यवसायी उत्साही छैनन् । अन्तर्राष्ट्रिय नाका बन्द रहेको तथा आन्तरिक पर्यटकहरू पनि घुम्ने अवस्था नरहेको सरकारको अनुमतिले उत्साह जगाउन नसकेको भैरहवामा रहेको होटेल मौर्यका सञ्चालक रामबहादुर कोइरीले बताए । ‘होटेलमा आउने ग्राहक भनेकै कि भारतीय हुन्, कि तेस्रो मुलुकका हुन् ।

यी क्षेत्रका पर्यटक आउने अवस्था नभएसम्म होटेल खोलेर खर्च चलाउन गाह्रो हुन्छ,’ उनले भने । अन्तर्राष्ट्रिय सीमानाका बेलहिया खुलेको छैन । खुले पनि भारतमा कोरोना संक्रमणको अवस्था बढ्दो रहेको अवस्थामा होटेल सञ्चालन गर्न नसकिने सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष तथा होटेल एसोसिएसन अफ नेपाल (हान)का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले बताए । रुपन्देहीका होटेल सञ्चालन हुने प्रमुख आधार नै बेलहिया नाका भएकाले तत्काल होटेल सञ्चालन सहज तरिकाले नहुने उनको भनाइ छ । 
 
लुम्बिनीमा घुम्न आउने पर्यटक नै रुपन्देहीमा पनि आउने हो । तर, लुम्बिनीभित्रका मन्दिरहरू नै खुलेका छैनन् । त्यसैले पर्यटक आउने सम्भावना नभएको होटेल एसोसिएसन अफ लुम्बिनीका उपाध्यक्ष गोविन्द ज्ञवालीले भने । रुपन्देहीमा पछिल्लो समय अर्बौँ पाँचतारेदेखि सामान्य पर्यटकीय सुविधासहितका होटेलहरू सञ्चालनमा छन् ।   

पोखरामा न्यून खुले होटेल र रेस्टुरेन्ट 

बिहीबारबाट पर्यटकीय सहर पोखरामा सीमित संख्यामा होटेल र रेस्टुरेन्टहरू सञ्चालनमा आएका छन् । सरकारले औपचारिक रूपमा बन्दाबन्दी नरहेको घोषणा गर्दै विभिन्न क्षेत्रलाई सुचारु गराएको ९ दिनपछि होटेल र रेस्टुरेन्टहरू बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।

बिहीबार पोखरामा रहेका होटेल संख्यामध्ये १० प्रतिशत मात्र सञ्चालनमा आएको पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । ‘आन्तरिक र बाह्य हवाई उडान खुलेपछि र लामो दूरीका सवारीसाधन खुलेपछि मात्र बिस्तारै चहलपहल होला,’ उनले भने, ‘अहिले तत्कालभन्दा पनि आगामी सिजनका लागि तयारी अगाडि बढाएका छौँ ।’

तत्काल साना होटेलहरू खुले पनि ठूला होटेलहरू भदौ, असोजसम्ममा मात्र खुल्ने अध्यक्ष तुलाचनले बताए । उनका अनुसार अहिले साना–ठूला गरेर पोखरामा पर्यटकीय स्थलका ७ सय होटेलमा ३० हजार बेड छन् । 

रेबान पोखराअन्तर्गत रहेका सय रेस्टुरेन्टमध्ये २० वटा मात्र खुलेको रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले जानकारी दिए । रेस्टुरेन्ट खुले पनि ग्राहक भने निकै कम रहेको उनले जानकारी दिए । ‘अहिले नै पैसा कमाइएलाभन्दा पनि सरसफाइ गर्ने र बानी पार्दै लैजाने हो,’ उनले भने । टान पश्चिमाञ्चल पोखराका निवर्तमान अध्यक्ष दीपकराज अधिकारीले पर्यटन क्षेत्र खुल्यो भन्ने सन्देश जानु नै तत्कालका लागि राम्रो रहेको बताए ।

अब पदयात्रा र हिमाल आरोहणको प्रवर्द्धन 

लकडाउनका कारण साढे चार महिनामा हानमा आबद्ध होटेलहरूले मात्रै १० अर्ब रुपैयाँ गुमाएको व्यवसायीले बताएका छन् । होटेलहरूले मासिक २ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमाउनुपरेको उपाध्यक्ष हानका उपाध्यक्ष विनायक शाहले बताए । हानमा आबद्ध होटेल मात्रै देशभर ३५ सय रहेका छन् । त्यस्तै, साना तथा मझौला होटेलतर्फ पनि मासिक ३ अर्बभन्दा बढी गुमाएको अनुमान गरेका छन् ।

साढे चार महिनामा १२ अर्बभन्दा बढी साना तथा मझौला होटेलहरूले गुमाएको अनुमान गरिएको छ । विदेशी पर्यटक भित्र्याउनका लागि कोभिड–१९ बाट नेपालमा पर्यटकलाई सुरक्षित राखिने ग्यारेन्टी व्यवसायी र सरकारले मिलेर दिनुपर्ने व्यवसायी बताउँछन् । माल्दिभ्स, अजरबैजानलगायत देशमा युरोपियन र अमेरिकीहरू प्राइभेट जेट लिएर जान थालेको शाह बताउँछन् । नेपाललले पनि सोहीअनुसार प्रवर्द्धन गर्नुपर्ने शाहको तर्क छ ।

महामारीपछि नेपालको पर्यटन प्रवद्र्धनमा पनि ट्रेकिङ तथा हिमाल आरोहणमा कोभिड–१९ ले सुरक्षित रहेको सन्देश विश्भर दिने गरी काम भइरहेको बोर्डका सिइओ रेग्मी बताउँछन् । नेपालले खासगरी कोभिड–१९ पछिको रिकभरका लागि हिमाल आरोहण र पदयात्राका लागि विशेष जोड दिने गरी काम गरिरहेको सिइओ रेग्मीले जानकारी दिए ।