मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १५ बिहीबार २१:०१:००
Read Time : > 1 मिनेट
समाचार

चार महिनापछि खुले पोखराका होटेल र रेस्टुरेन्ट

Read Time : > 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार २१:०१:००

सरकारले लकडाउन अन्त्य भएको औपचारिक घोषणा गरेसँगै चार महिनापछि पर्यटकीय सहर पोखराका होटेल र रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । ६ साउनमै विभिन्न क्षेत्र खोल्ने गरी सरकारले लकडाउन अत्य गरे पनि नाै दिनपछि मात्रै होटेल र रेस्टुरेन्टहरू सञ्चालनमा आएका हुन् । 

पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनका अनुसार सरकारले होटेल–रेस्टुरेन्ट खोल्न भने पनि बिहीबार पहिलो दिन पोखरामा जम्मा १० प्रतिशत मात्रै खुलेका छन् । पार्टी र सभा–सम्मेलन हुने अवस्था नआउँदासम्म ठूला होटेल सञ्चालनमा ल्याउनुको अर्थ नभएको र अब आगामी पर्यटकीय सिजनलाई मध्यनजर गर्दै सीमित होटेलमार्फत सेवा प्रदान गर्न थालिएको उनको भनाइ छ । यस्तै आन्तरिक उडानसमेत नखोलिएको, लामो दूरीका सवारीसाधन सञ्चालनमा नल्याइएको र १ भदौपछि मात्र लामो दूरीका सवारीसाधन र  बाह्य हवाई उडान नियमित हुने हुँदा त्यसपछि बिस्तारै ठूला होटेल सञ्चालनमा आउने उनले अपेक्षा गरे । ‘अहिले नै होटेलहरू पूर्ण सञ्चालन गरिहाल्नुको खास अर्थ छैन । आन्तरिक र बाह्य हवाई उडान खुलेपछि र लामो दूरीको सवारीसाधन खुलेपछि मात्र बिस्तारै चहलपहल होला,’ उनले भने, ‘अहिले तत्कालभन्दा पनि आगामी सिजनका लागि अहिले तयारी अगाडि बढाएका छौँ ।’ तत्काल साना होटेलहरू खुले पनि ठूला होटेलहरू असोजसम्ममा खुल्ने अध्यक्ष तुलाचनले बताए ।  उनका अनुसार साना–ठूला गरेर पोखरामा पर्यटकीय स्तरका सात सय होटेल छन् भने ३० हजार बेडक्षमता छ ।

रेवान पोखराअन्तर्गत रहेका सय रेस्टुरेन्टमध्ये २० वटा रेस्टुरेन्ट खुलेको रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले जानकारी दिए । रेस्टुरेन्ट खुले पनि ग्राहक भने निकै कम आएका उनले बताए । अहिले रेस्टुरेन्ट खोलेर चलाउनेभन्दा पनि ‘वामअप’को रूपमा लिएको अध्यक्ष भुजेल बताउँछन् । ‘केही रेस्टुरेन्ट खुलेका छन् । अहिले नै पैसा कमाइएला भन्दा पनि सरसफाइ गर्ने र बानी पार्दै लैजाने हो,’ उनले भने । रेस्टुरेन्ट खोल्नेभन्दा पनि ग्राहक आइहालेमा कसरी सेवाप्रवाह गर्ने, कोरोना संक्रमणबाट जोगिने उपाय अपनाउने विषयमा बढ्ता ध्यान दिइएको उनले बताए । 

टान पश्चिमाञ्चल पोखराका निवर्तमान अध्यक्ष दीपकराज अधिकारीले पर्यटन क्षेत्र खुल्यो भन्ने सन्देश जानु नै तत्कालका लागि राम्रो कुरा रहेको बताए । अब नेपाल सुरक्षित छ भन्ने सन्देश दिने र साँच्चै नै सुरक्षित बनाउनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । पर्यटकले नेपालको पछिल्लो अवस्थाको विषयमा नियालिरहेको उनले बताए ।