Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १५ बिहीबार १८:०२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सीमा क्षेत्रका व्यवसायी तत्काल होटेल नखोल्ने मानसिकतामा 

Read Time : > 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार १८:०२:००

सरकारले १५ साउनदेखि होटेलसहित पर्यटन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरे पनि सीमा क्षेत्रका व्यवसायीमा भने कुनै उत्साह छैन । सीमानाका सिल भएको अवस्थामा सरकारले होटेल खोल भन्दैमा केही नहुने भैरहवास्थित होटेल मौर्यका सञ्चालक रामबहादुर कोइरी बताउँछन् । 

यस क्षेत्रका होटेलका ग्राहक भारतीय र तेस्रो मुलुकका हुन् । पर्यटक सहज रूपमा आउने अवस्था नभएसम्म होटेल खोलेर खर्च मात्रै बढ्ने कोइरीको भनाइ छ । ‘कोरोनाका कारण सबै त्रसित छन्, आन्तरिक पर्यटक पनि हिँडडुल गर्ने अवस्था नरहेको अवस्थामा होटेल कस्का लागि खुला गर्ने ?’ उनले भने । अहिलेकै अवस्थामा रुपन्देहीका होटेल व्यवसायीहरू होटेल सञ्चालन गर्ने नसकिने बताउँछन् ।

अन्तर्राष्ट्रिय सीमानाका बेलहिया बन्द छ । यो नाका खुले पनि भारतमा कोरोना संक्रमणको अवस्था बढ्दो छ । ‘यसकारण अहिले नै यस क्षेत्रका होटेल सञ्चालन त हुँदैन ।’ सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष तथा होटेल एसोसिएसन अफ नेपाल (हान) का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले भने । होटेल सञ्चालन गरे पनि सञ्चालन खर्चसमेत नउठ्ने श्रेष्ठले बताए । बेलहिया नाका नखुलेसम्म रुपन्देहीका होटेल सञ्चालन सहज तरिकाले नहुने उनको भनाइ छ । ‘रुपन्देहीमा पर्यटक आउने प्रमुख आधार भनेकै लुम्बिनी हो । लुम्बिनीभित्रका मठमन्दिर खुलेका छैनन् । जसका कारण पर्यटक आउँदैनन् । पर्यटक नआए होटेल सञ्चालन कसरी गर्ने ?’ होटेल एसोसिएसन अफ लुम्बिनीका उपाध्यक्ष गोविन्द ज्ञवालीले भने । बेलहिया नाका, विमानस्थललगायत नखुलेसम्म होटेल सञ्चालन गर्न असहज हुने ज्ञवालीको भनाइ छ ।
  
रुपन्देहीका होटेलमा २० हजार पर्यटक अट्छन् 
रुपन्देही पछिल्लो समय होटेल व्यवसायमा अर्बभन्दा बढी लगानी थपिएका छन् । पाँच तारेदेखि सामान्य पर्यटकीय सुविधासहितका होटेलहरू सञ्चालनमा छन् । आर्थिक गतिविधिले तीव्रता लिएसँगै उद्योग व्यवसायसँगै रुपन्देहीमा होटेल व्यवसायमा पनि लगानी बढेको छ । लुम्बिनी तथा यस आसपासका क्षेत्रमा प्रत्येक वर्ष तारे होटेलहरु थपिने क्रम बढ्दो छ । रुपन्देहीका होटेलले एकैपटक २० हजारभन्दा बढी पर्यटक थेग्न सक्छन् । यहाँको मुख्य गन्तव्य भनेकै शान्तिका अग्रदूत भगवान् गौतमबुद्ध जन्मस्थल लुम्बिनी हो । हाल लुम्बिनी प्रवेशमा रोक लगाइएको छ । 

लुम्बिनीमा पर्यटक आउन पहिले लुम्बिनी खोल्नुपर्ने लुम्बिनी होटेल व्यवसायी संघ नेपालका अध्यक्ष मिथुन श्रेष्ठको भनाइ छ । लुम्बिनीमा साना–ठूला गरी एक सयभन्दा बढी पर्यटक स्तरीय होटेल छन् । लुम्बिनीमा बर्सेनि १५ लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक लुम्बिनी आइपुग्छन् । लकडाउनसँगै लुम्बिनीमा होटेल बन्द छन् ।