१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १५ बिहीबार १४:४५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बाग्लुङमा एक स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि

Read Time : > 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार १४:४५:००

बाग्लुङमा एक स्वास्थ्यकर्मीसहित थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्लाको जैमिनी नगरपालिकाका ५२ वर्षीय एक पुरुष स्वास्थ्यकर्मीसहित ६ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । 

जिल्लामा स्वास्थ्यकर्मीमा नै कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो । स्वास्थ्यकर्मीमा नै कोराना पुष्टि भएपछि थप सजगतासहित कन्ट्याक ट्रेसिङ थालिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले बताए । 

‘कोरोनाको संकट हुँदाहुँदै पनि देशमा लकडाउन हटेको छ, तर कोरोना हटेको छैन, अहिले भिडभाड बढ्न थालेको छ,’ कार्यालय प्रमुख गुरौले भने, ‘अहिलेको अवस्थामा त विदेशबाट आएर क्वारेन्टाइनमा बसेकामा मात्र संक्रमण देखिएको थियो ।’ उनले स्वास्थ्यकर्मीमा पहिलोपटक देखिएको र यो कसरी संक्रमण भयो भन्नेबारे विस्तृत अध्यनन भइरहेको बताए । 

संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीलाई उपचारका लागि धौलागिरि अस्पतालको आइसोलेसनमा ल्याइसकिएको छ । उनलाई बाग्लुङ–कुश्मिसेरा सडकखण्ड अवरुद्ध भएपछि संक्रमित पुरुषलाई पर्वतको कुश्मासम्म पैदल यात्रा गर्न लगाई बाग्लुङबाट स्वास्थ्यकर्मीहरु गएर अस्पतालमा ल्याइएको अस्पतालका क्षयकुष्ट अधिकृत देवप्रकाश घिमिरेले बताए । 

संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको व्यक्तिहरूको परीक्षणका लागि स्वाब संकलन कामलाई तीव्रता दिइएको जैमिनी नगरपालिकाका स्वास्थ्य सहसंयोजक तीर्थ पौडेलले जानकारी दिए 

त्यसैगरी जिल्लामा अन्य संक्रमित भने भारत र अन्य तेस्रो मुलकबाट आएका छन् । उनीहरूमध्ये बाग्लुङ नगरपालिका– १ बांगेचौरको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३० वर्षीय एक पुरुष, भीमसेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका काठेखोला गाउँपालिकाका २५ र २४ वर्षीय दुईजना पुरुष र त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका बडिगाड गाउँपालिकाका २६ र ३४ वर्षीय दुईजना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

बिहीबार संक्रमण पुष्टि भएकामध्ये बागलुङ नगरपालिकाका एकजना बहराइनबाट आएका हुन् भने अन्य छिमेकी देश भारतबाट आएका हुन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशमा गरिएको बन्दाबन्दी (लकडाउन) खुले पनि कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन । 

बिहीबार मात्र गण्डकी प्रदेशमा एकैदिन ३८ जना संक्रमित थपिएका छन् । जसमध्ये बाग्लुङका ६ जनासहित कास्कीका १४, स्याङ्जाका ११, लमजुङका तीन, तनहुँका एक र नवलपरासीका एकजना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार चार सय ७९ पुगेको छ । यसमा कोरोनाको संक्रमणबाट निको भएर घर फर्कनेको संख्या एक हजार दुई  सय ३० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।