मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १५ बिहीबार १४:३३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीको पीडा : बाढी प्रभावितकाे हुलाकी सडकमा वास, खाना र पानीको अभाव

Read Time : > 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार १४:३३:००

कैलालीको भजनी नगरपालिका– ८ को पूरै बस्ती बाढीले विस्थापित भएको छ ।

कान्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा वडाको एक हजार एक सय ५० परिवार विस्थापित भएको वडाध्यक्ष पंकज चौधरीले बताए । 

विस्थापित भएकाहरू अधिकांश हुलाकी सडकमा आश्रयस्थल बनाएर बसिरहेका छन् भने केही कृष्णध्वज चन्द माध्यमिक विद्यालयमा बसेका छन् । 

बाढीको पानीको सतह बढेकाले घरसम्म जान नसकेर बुधबार बिहानदेखि हुलाकी सडकमा बस्नु परेकाे सोनाफाँटाका सुकै डगौरा थारूले बताए । 

घरमा जान नसक्ने भएकाले भोकभोकै दुई दिनसम्म घरलाई नियाल्दै हुलाकी सडकमा बसिरहेको उनले बताए । 

हुलाकी सडकमा अहिले करिब पाँच सय परिवार आश्रय लिइरहेका छन् । हुलाकी सडकको  कृष्णनगरदेखि सोनाफाँटासम्मको अग्लाे ठाउँमा बाढीबाट विस्थापित भएका परिवारहरू बसिरहेको खेम पाण्डेले बताए । 

हुलाकी सडक नै सुरक्षित स्थान भएकाले सबैजसो हुलाकी सडकमा आएर बस्ने गरेको उनले बताए । 

हुलाकी सडकको वास भएको तथा पिउने पानी र खानाको  समस्या भएको आस्मा चौधरीले बताइन् । 

घरमा आठ फिटसम्म पानी जमेको र अन्नपात सबै डुमाएको उनले बताइन् । 

अहिले दैनिक गुजारा चल्नका लागि नै समस्या परेको र कहिीकतैबाट सहयोग नआएको उनीहरुकाे गुनासाे छ । 

सबै क्षेत्र जलमग्न भएकोले खानेपानीका लागि करिब दुई किलोमिटर परबाट बोकेर ल्याएर काम चलाइरहेको उनले बताइन् । 

बाढी घट्ने क्रममा रहेको भए पनि तत्कालका लागि भजनी नगरपालिकाले केही राहत वितरण गरिरहेको वडाध्यक्ष पंकज चौधरीले बताए । पहिलो चरणमा बुधबार साँझ हुलाकी सडकमा बसिरहेकालाई चाउचाउ, भुजा र पानी वितरण गरेको उनले बताए । 

को कहाँ आश्रय लिएर बसेका छन् अहिलेसम्म यकिन थाहा नभएकाले तत्काल अति आवश्यक ठाउँमा पुगेर राहत वितरण गरिरहेको र अन्य निकायसँग समन्वय गरी राहत तथा स्वास्थ्यको कार्यलाई अगाडि बढाउने तयारी भइरहेको उनले बताए । 

भजनी नगरपालिकाको वडा नं. २, ३, ५ र ७ मा गरी दुई हजार घर डुबानमा परेको नगरपालिकाले जनाएको छ ।