मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १५ बिहीबार १३:१५:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वर्षा नरोकिँदा घटेन बाढी, साढे दुई हजार परिवार विस्थापित (फोटोफिचर)

Read Time : > 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार १३:१५:००

दुई दिनदेखिको अविरल वर्षाले कैलालीमा सयौँ घर डुबानमा परेका छन् । बाढीले घर डुबानमा परेपछि साढे दुई हजार परिवार विस्थापित भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वर्षा नरोकिएकाले बिहीबार पनि थप घरहरू डुबानमा परेकाे कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

निरन्तरको वर्षाले बाढीको सतह नघट्दा बुधबार विस्थापित भएका परिवार घर फर्कन सकेका छैनन् ।

हिजो बेलुका बाढीको सतह घटेपछि घर फर्केका कतिपय परिवार बाढी बढ्न थालेपछि बिहीबार पुनः घर छोडेर सुरक्षित ठाउँमा गएको जोशीले बताए । 

बाढीबाट सबैभन्दा बढी प्रभावित भएको भजनी नगरपालिकामा विस्थापित परिवार हुलाकी राजमार्गमा बसिरहेका छन् ।

भजनीका नगर प्रमुख शेरबहादुर चौधरीले वर्षा निरन्तर भइरहेकाले बाढीको सतह नघटेको बताएका छन् ।

‘एक घरबाट अर्को घरमा जानसक्ने अवस्था छैन । कतिपय मान्छेहरू हिजोदेखि घरभित्रै छन्,’ उनले भने, ‘बाढीले हिजो धेरै ठाउँ जानै सकिएन, आज पनि सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ ।’ उद्धार गरेर सुरक्षित ठाउँमा राखिएकालाई खानाको व्यवस्था गरिएको उनले बताए ।

मंगलबार रातिबाट सुरु भएको वर्षा बुधबार बेलुकी रोकिएको थियो । हिजो रातिबाट पुनः निरन्तर वर्षा भएपछि डुबान बढेको हो । भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । 

बाढीको सतह कायमै रहेकाले हिजो विस्थापित भएका परिवार घर फर्कन नसकेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

‘डुबान उस्तै छ । आज पनि उद्धार कार्य भइरहेको छ,’ विष्टले भने, ‘हिजोबाट दर्जनौँ गाउँ डुबानमा परेका छन् ।’

विस्थापितको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ । नेपाली सेनाको एक सय ७० जना र नेपाल प्रहरीको एक सय ५० जनाको टोली खटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाभरि तीन सयभन्दा बढी सशस्त्र प्रहरी उद्धारमा सक्रिय भएका सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कमलप्रसाद तिमल्सिनाले बताए ।